शुक्रबार, असोज २१ २०७९

ओलीले आज एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै



  • नेपालदीप
  • मंगलबार, फाल्गुन १७ २०७८
7.1K
SHARES

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दैछन्। प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट, तीनकुनेमा पत्रकार सम्मेलन गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेको आधिकारिक धारणाहरू सार्वजनिक गर्नेछन्।

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ। १२ बुँदे व्याख्यात्मक घोषणासहितको सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गरेको हो। नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौता द्विपक्षीय हो। तर, सत्ता गठबन्धनले एक पक्षीय रूपमा गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले अनुमोदन नगरे टिप्पणीको कुनै अर्थ नहुने अन्तर्राष्ट्रिय कानुनका जानकारहरू पनि बताउँछन्।

एमसीसीको पक्ष/विपक्षमा मत व्यक्त नगरेको एमालेले कस्तो नीति अपनाउँछ चासोको साथ हेरिएको छ। सरकार र सभामुखले संसद्‍को काम कारबाहि प्रक्रियामा भाग लिएर पक्ष/विपक्षमा मतदान गर्ने वातावरण नबनाएको एमालेका नेताहरुले बताउँदै आएका छन्। एमाले अध्यक्ष ओली एमसीसी अनुमोदनमा रणनीतिक खेलाडीका रूपमा देखिएका छन्। कांग्रेसले आफ्ना माग पूरा गरे एमसीसीका पक्षमा मतदान गर्ने र गठबन्धन भत्किन सक्ने सन्देश दिन ओली सफल भए। देउवा र ओली मिल्न सक्ने त्रासले दाहाल र नेपाल एमसीसीका पक्षमा उभिन बाध्य भए। उनीहरूलाई एमसीसीभन्दा पनि गठबन्धन जोगाउनुपर्ने बाध्यता थियो।

ओली प्रधानमन्त्री हुँदा सरकारले एमसीसी संसद्मा दर्ता गरेको थियो। उक्त सम्झौताको विषयमा विरोध नगरे पनि ओलीले स्पष्ट धारणा भने ल्याएनन्। आफूले कारबाही गरेका १४ सांसदलाई कारबाहीको निक्र्योल नभएसम्म यो विषयमा धारणा बनाउन नसक्ने अडान लिइरहे। एमसीसीमा सहयोग माग्न आएका देउवालाई १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने र गठबन्धन भत्काउनुपर्ने अडान राखे।

देउवा र ओलीबीच छलफल तीव्र भएपछि दाहाल र नेपाल झस्किए। ‘मुख पनि नहेर्ने’ भन्दै आएका दाहाल ओलीलाई भेट्नै पर्ने अवस्थामा पुगे। उनको रणनीति नै दाहाल र नेपाललाई एमसीसीका पक्षमा मतदान गराउनु थियो। पुरानै नारा दिएर पार्टीका सांसदलाई नारावाजीमा उतारे। एमसीसीको पक्ष/विपक्षमा पार्टीलाई मत हाल्न दिएनन्। यद्यपि, आफ्नै नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको प्रस्तावमा मौनताप्रति कांग्रेसले प्रश्न उठाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार