सोमबार, साउन ३० २०७९

पोखरामा पनि भेटियो बर्ड फ्लु, एकैदिन ठुलो संख्यामा पक्षी नष्ट



  • नेपालदीप
  • बिहिबार, फाल्गुन १९ २०७८
3.4K
SHARES

कास्की। पोखरामा हाँस र कुखुरामा बर्ड फ्लु रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्ड फ्लुको सङ्क्रमण भेटिएको हो ।

ती वडामा खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए  ।

उनले भने ‘याे क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने सङ्ख्या सोचेभन्दा बढी भेटिएको छ ।’ दुवै ठाउँमा हिजाेदेखि फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।

पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।

स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याएर आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाण्डौ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै ठाउँमा सङ्क्रमण पुष्टि भएको हो ।

सञ्चार अधिकृत न्यौपानेले भने, ‘सङ्क्रमण देखिएको ठाउँलाई इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।’ स्थानीय जनप्रतिनिधिको रोहवरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, प्रहरीसहितको टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो । हिजाे नष्ट गरिएका पक्षी र सङ्कलन गरिएको पक्षीजन्य पदार्थलाई पोखराको ल्याण्डफिल्ड नजिकै खाली जग्गामा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार