शुक्रबार, असोज २१ २०७९

माधवसहित १४ सांसदको मुद्धा हेर्न न्यायाधीश सुवेदीद्वारा अस्वीकार, आजको सुनुवाइ रोकियो



  • नेपालदीप
  • आइतबार, चैत्र २० २०७८
7.7K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइमा बस्न अस्वीकार गरेका छन्। यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै उनले त्यहीसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गरेका हुन्।

सुवेदीले इजलासमै बस्न अस्वीकार गरेपछि उक्त मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ रोकिएको छ। सर्वोच्च अदालतको आइतबारको दैनिक पेशीसूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तयारी थियो।

यसअघि सर्वाेच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। फैसलाका लागि मिति भने तोकिएको छैन। सोही मिति आजको इजलासले तोक्ने सम्भावना थियो तर न्यायाधीश सुवेदीले इजलासमा बस्न अस्वीकार गरेका हुन्।

एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। गत १७ भदौमा परेको रिट निवेदनमा पटक–पटक सुनुवाइ सर्दै आएको छ।

एमालेले नेकपा एसका सांसदहरु माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार