बिहिबार, जेष्ठ ५ २०७९

खुसी बाँड्ने मुलुक



  • नेपालदीप
  • शनिबार, बैशाख २४ २०७९
684
SHARES

१. नेपाल खुसीको केन्द्र हुनुपर्छ किनभने नेपालमा खुसीको लागि चाहिने सबै थोक छन् । ऋषिमुनिको परम्परा खोज्नेलाई ऋषिमुनिको आदर्श, जैनमा आस्था राख्नेलाई जैन धर्मदर्शन, बौद्ध देशना खोज्नेहरूलाई बुद्धको सत्य, प्रकृतिमा रमाउनेहरूका लागि विश्वको सबैभन्दा रमणीय प्रकृति, सभ्यता र संस्कृतिसंग रमाउनेहरूका लागि विश्वको सबैभन्दा प्राचीन जीवन्त संस्कृति नेपालमा उपलब्ध छन् ।

२. विश्वको सबै भन्दा आग्लो डाँडोदेखि लिएर विश्वको सबैभन्दा होचो खोंच नेपालमा उपलब्ध छ । नेपाल समाजले एटमबम बनाएर विश्वलाई थर्काउने योजना पनि छैन । साथै विश्वका सबैभन्दा ठूला देशहरूका बीचमा छ । नेपालले दूई विराटकाय छिमेकीहरू (भारत त चाइना)का केही मान्छेहरूलाई खुसी दिन सके पनि यो विश्वको सबैभन्दा खुसी दिने मुलुक बन्न सक्छ ।

३. हामी नेपालीसंग विश्वलाई खुसी बनाउने असंख्य सम्भावना छन् । सगरमाथाको हिउँ हेरेर विश्व खुसी हुन सक्छ भने हिउँबाट निसकेका विश्वको सबैभन्दा बढी खनिजयुक्त र स्वच्छ पानी खाएर विश्व खुसी हुन सक्छ । विहानै उठेर आफ्नो झ्यालबाट माछापुच्छ्रे टल्केको देखेर खुसी हुँदै आँसु बगाउनेहरू असंख्य छन्, हरेक वर्ष यसरी खुसी हुनेहरू अनन्त छन् । कालीगण्डकीको किनारमा बसेर योगको आनन्दमा डुबुल्की लगाउँन आमन्त्रित गरेमात्र धेरै मान्छेहरू खुसी खोज्दै नेपाल छिर्ने छन् ।

४. विपन्नतामा हँसिलो अनुहारमा अतिथि सेवा गर्न सक्ने नेपालीहरूलाई देखेर र भेटेर मात्रै खुसी सिक्नेहरूको विश्वमा कुनै कमिछैन तर हामीले त्यो खुसीको समाचार उनीहरुसंग पठाउन सक्नुपर्छ । नेपालको प्रकृतिको सुन्दर मूल्य डलरले नाप्न सक्दैन किनभने चितवनका स्वच्छन्द बन्यजन्तु होउन् वा लेकमा ढकमक्क फुलिरहेका सुनगाभा वा गुराँसका फूलहरू विश्वलाई खुसी सिक्न आमन्त्रित गरिरहेका छन् । धनिमान्छेहरू पैसाले किनेर खुसी हुने प्रयत्न गरिरहेका छन्, हामीसंग सित्तैमा अनन्त खुसी बगिरहेका छन् । उनीहरूले संदेशमात्र पाउन सके भने अनन्त द्रव्य नेपालले सित्तैमा पाउने छ ।

५. विश्वलाई खुसी बाँड्न नेपालका १३१ जातजातिका संस्कृति र सभ्यताहरू, तिनका खानपानहरू, तिनका भाषाहरू र भूगोलहरू कम महत्वपूर्ण छैनन् । प्राचीनकालदेखि नै ऋषि संस्कृतिका साधकहरूसंग खुसीका अनन्त संभावना छन्, बौद्ध, जैन, किरातसंग पनि खुसी दिन सक्ने अनन्त क्षमता छन् । “उनीहरू”ले हामीलाई भौतिकरूपमा गरीव ठान्छन् तर उनीहरूनै हामीले सहअस्तित्वमा सम्हाली रहेको खुसी पाउन सधैं लालायित छन् । उनीहरूलाई थाहा छ, डलरले सुख दिन सक्छ तर खुसी त नेपालमा मात्र पाइन्छ !

६. ऋग्वेदले भन्छ आनन्दले भरिपूर्ण मान्छे कहिले पनि डराउँदैन । उपनिषद्ले भन्छ जुन रसतत्व आनन्द हो त्यो तिमीहरू भित्र निरन्तर वगिरहेको छ । कृष्णले विश्वलाई खुसी खुसी हुन सिकाए, बुद्धले खुसीको अभ्यास गराए, पतंजलिले खुसीका लागि जीवनशैली सुनिश्चित गरे । यी सबै नेपालमा भए, इतिहासले नेपालीहरूलाई दुखी होइन सधैं खुसी हुने अभ्यास गरायो । तेसैले होला, महाभूकम्पले नेपालीको खुसी खोस्न सकेन, भारतीय प्रतिबन्धले खुसी रोकिएन, कोरोनामा पनि नेपाली खुसी नै छन् । खुसी नै हाम्रो गहना हो किनभने ऋषि-संस्कृतिले विश्वलाई खुसी दिने जिम्मेदारी हामी नेपालीलाई सुम्पेको छ ।

७. मुक्तिनाथ मानवप्राणीलाई मुक्ति दिन तम्तयार छन्, बुद्ध दु:ख निरोधका लागि जागृत छन् । पशुपति नाथ र सीताले खुसीको मन्त्र प्रदान गरिरहेका छन् । सुख खोज्दै गर्दा आफ्नो खुसी नछोडौं । नेपालका हरेक कुनाकोप्चेरोमा विश्वलाई खुसी दिने अनन्त सम्भावनाहरू छन् । ती सम्भावनाहरूको गौरव र स्वाभिमान पूर्वक विश्वका मान्छेहरूलाई जानकारी दिउँ । उनीहरू जतिधेरै खुसी पाउन नेपालसंग जोडिने छन्, नेपाली सुखी त हुनेनै छ तर खुसीको मात्रा अझैं विश्वव्यापी बन्ने छ ।

८. म आफैलाई भन्छु, म हरेक नेपालीलाई भन्छु, तपाईं दुखको होइन, सुखको होइन खुसीको अभ्यास गर्नुहोस् । हामी खुसीका (अमृत) सन्तति हौँ । हामीभित्र खुसीको संसार अटाएको छ । त्यो जति दिए पनि सकिन्न, जति लुटाए पनि समाप्त हुँदैन । दुखको चिन्ता गर्नेले दुख पाउँछन्, आनन्द अर्थात् खुसी खोज्नेहरूले खुसीनै प्राप्त गर्छन् । जुन दिन हामीले ऋषिमार्ग छोडेर असन्तबाटो रोज्यौं त्यो दिनदेखि हामीभित्र दु:खले प्राथमिकता पायो । हामी दीनदुखी, रुग्ण र गरीव बन्यौं । कणकणमा सुख, सन्तोष र खुसीले भरिपूर्ण नेपालका हामी नेपाली दुखी, रुग्ण र दीन हुनसक्छौं भन्ने चिन्तनबाट सधैंको लागि हट्नुपर्छ । हामी अमृत बनेर चिन्तन गर्यौं भने अमृत पाउँछौँ, विषको चिन्तन गर्यौं भने विष ! जस्तो चिन्तन तेस्तै फल !

लौन, हामी केही गरौँ जसले नेपालले विश्वका लागि खुसी बाँड्न सकोस् र यहाँका हरेक नगरिक भौतिक, मानसिक तथा आध्यात्मिक रूपमा उन्नत र गौरव गर्न लायक बनुन । ऋषिहरूले भनेझैं हामी अमृतका सन्तान बनेर विश्वलाई खुसी बाँड्न सक्ने लक्ष पूर्ण गर्न सकौं ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट