
मिति २०७८/१२/७
म त्रिभुवन विमानस्थलबाट दिल्ली जाँदै थिएँ । लविमा केही भाईवहिनीहरू आफ्ना आमाबाबा र परिवारबाट विदावारी भएर अमेरिका जाने विमान कुर्दै थिए । म पनि दिल्लीको लागि जहाज कुरिरहेको थिएँ ।
८२ वर्षीया हजुरआमा अमेरिकाबाट फर्किनुभएर त्यहीं बस्नुभएको थियो । “अमेरिका जाने रे” भनेको सुनेपछि उहाँले भन्नुभयो “अव तिमेरुले पनि तेतै घरवार गर्ने होला । अनि, छोराछोरी पाएपछि सुसार्न आमा बोलाउने छौं । तेहा केटाकेटी स्याहार्नेलाई धेरैपैसो तिर्नुपर्छ रे ?
“रमाइलो गर्ने तिमेरू, तिम्रा छोराछोरी गू धोइदिन आमा चाहिएला ! आमालाई माया गरेको होइन, गू-धोइदिने मान्छे थोरै पैसोमा मान्छे खोजेको हो । आमाबालाई माया गर्नेले बालबच्चा नपाईकन अम्रिका घुमाउन लैजानुपर्छ ।”
“म त अब मरेपनि अम्रिका जान्न । छोराछोरीले कुरा नि गर्दैनन् । नातिनातिना कुरा बुझ्दैनन् र झर्को मान्छन् ।”
“एतिराम्रो नेपाल छोडेर तिमेरु अम्रिका जाँदैछौं , ठूलो मान्छे बन्नु तर आमाबालाई गू-सोर्ने सुसारे नबनाउनु । बनाऊनै छ भने केटाकेटी पाउनु भन्दा पहिला नै अम्रिका बोलाएर उनीहरूलाई देश देखाउनु ! आफ्नो मुलुकलाई सम्झिनु । यो जति राम्रो अम्रिका छैन त्यो त एकलकाटे छ । ”
मैले पनि आफ्ना छोराबुहारीलाई ठूलो मुन्छे बनाउन अम्रिका पठाकी थें । ती ठूलो मुन्छे बने तर मलाई चाहिं नातिनातिकाको गू धुने बनाए । आफ्ना छोराछोरीलाई ठूलो मान्छे अम्रिका पठाउँनेहरू मूल एत्ति रहेछ ।
बूढीआमाका आँखामा आँशु भरिए । बिचरा ! बल्लबल्ल भिजा पाएर खुसी हुँदै अम्रिका जान लागेका ठिटाठिटीको अनुहार हेर्ने लायक थियो । सुन्नेहरू जातिका आँशु रसाए ।
नोट : कसैको असल जीवनसंग मिले संयोगमात्र नठानेर बास्तविक हो भन्ने मान्नुहोला, सबै गलत हुँदैनन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।