बिहिबार, जेष्ठ ५ २०७९

नेपाली काँग्रेसको विकल्प काँग्रेसजनले खोज्नुपर्छ



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
1.1K
SHARES

नवलपुरको नेपाली कांग्रेसलाई १४औं महाधिवेशनको प्रारम्भदेखि स्थानीय तह निर्वाचन २०७९ मा राम्रोसँग नियाल्ने प्रयास गर्दा, स्थानीय तह निर्वाचन २०७९को लागि उम्मेदवार चयन, मनोनयन देखि निर्वाचन सम्मका प्रक्रिया हेर्दा नेपाली कांग्रेस नवलपुर पुरै “बालीघरे” प्रथामा चलेको अनुभुति भएको छ। उहिल्यै चन्द्र संसेरकै पालामा उन्मुलन भएको भनिएको दासप्रथाको अवशेषको रुपमा चिनिने बालीघरे प्रथा नवलपुर कांग्रेसभित्र राम्रै किसिमले संरक्षित र सुरक्षित रहेको महसुस भएको छ। तर किन हो कुन्नी नेपाली कांग्रेसका इमान्दार, सक्षम र योग्य कार्यकर्ताहरु लाई पनि आफ्नो कर्म र त्यसको आधारमा बनेको योग्यता र क्षमता भन्दा बढी ‘सुमेरु पर्वत’ प्रतीको विश्वास बढी भएको देखियो। त्यसैले आजकल उनीहरु आफ्ना सवै नियमित कर्म छोडेर, आँफू किन र के का लागि कांग्रेस भएँ त्यो सवै बिर्सिएर ‘सुमेरु पर्वत’ प्रदक्षिणा ब्यस्त देखिन्छन्। हाम्रो सनातन परम्परा र त्यसमा आधारित शास्त्रमा त एउटा मात्र सुमेरु पर्वत छ तर नवलपुर कांग्रेसभित्रका सुमेरु पर्वतका कुरै नगरौं, कति कति ।

नेपाली कांग्रेस राष्ट्रियताको गित गाउदै प्रजातान्त्रिक समाजवादको गन्तव्यमा पुग्नका लागि हिँडेका एउटा विशाल र भरोसा योग्य बस थियो। लामो यात्रामा हिडेको बसमा चालक फेरवदल हुनु सामान्य कुरा हो। बसमा कस्ता मान्छे चढाउने हो र बसलाई गन्तव्य सम्म सकुशल पुर्‍याउन कुन बाटो हिड्नुपर्ने हो भन्ने स्पष्ट ज्ञान नभएका ढोंगीहरु अहिले चालकदलमा सक्रिय छन्। बेइमान कंडक्टरले आफ्नो निजि फाइदाको लागि बिच बिचमा यात्री चढाए जस्तै गर्न थालेका छन् कांग्रेसी बसका चालकदलका सदस्यहरुले। उनीहरुले आफ्नो निजि स्वार्थका लागि बसमा जस्ता पनि यात्री कोच्न थालेका छन्। जसको परिणाम प्रजातान्त्रिक समाजवादको गन्तव्यमा पुग्न भनी सुरुमै बस चढ्नेहरु बसभित्र अल्पमतमा परिसकेका छन्। बस र यसको चालकदल बीच-बीचबाट चढाइएका स्वार्थी समुहको कव्जामा छ। अब बस प्रजातान्त्रिक समाजवादको पुग्ने संभावना सकिदै छ। स्वार्थी समूहको निर्देशनमा चालक दलले बसको रुट र गन्तव्य दुवै बदलेका छन्। सवै भोग, बिलास र भौतिक सुख त्यागेर राष्ट्रियताको गित गाँउदै प्रजातान्त्रिक समाजवादको गन्तव्यतिर हानिएकाहरुको अवस्था निरीह र करुणाग्रस्त देखिन्छ। अब उनीहरुसग तीन विकल्प मध्ये एक रोज्नुपर्ने अवस्था आएको छ। ठगहरुसित सँगै पौडेर नदी तर्ने वा सिद्धान्तसितै नदीमा डुवेर आफुलाई समाप्त पार्ने वा नदि आउनु पूर्व नै त्यो बसलाई छोडेर अर्को बसको खोजी/प्रतीक्षा गर्ने।

तपाईंहरु राय के छ कुन्नी म चाहिँ तेस्रो विकल्पको पक्षमा छु र त्यसैको सोधखोजमा छु। जननायक स्व. वीपी कोइराला ब्याख्या गरेको नेपालको माटो र नेपालीहरुको ब्यवहार र स्वभाव सुहाउँदो राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुल लक्ष्य बनाएर नेपाली कांग्रेसको रुखमुनी गोलवन्द भएका हामीले हाम्रो गन्तव्य र गन्तव्य सम्म पुग्ने मार्ग र साधनको बारेमा पुनर्विचार गर्नु पर्ने भएको छ।

यहि साधन, यस्तै चालकदलले नेपाली कांग्रेस बस लाई बिपि कोइरालाले ब्याख्या गरेको प्रजातान्त्रिक समाजवादको गन्तव्य सम्म पुर्‍यान नसक्ने लगभग निश्चित जस्तै भइसकेको छ। अब विकल्पको बारेमा सोच्ने बेला भयो। हिडिरहेका बाटोबाट गन्तव्यमा पुगिदैन भन्ने कुराको ज्ञान भएपछि कि त गन्तव्य बदल्नु पर्छ कि त बाटो। गन्तव्य सहि छ भन्ने कुरा आँफूलाई ढुक्क छ भने बाटो/साधन बदल्नु नै उप्युक्त हुन्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट