मंगलबार, असार १४ २०७९

टिकटकमा एक किशोरीले बलात्कार भएको घटना सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
2.5K
SHARES

काठमाडौं। मिस ग्लोबल इन्टरनेसनल -२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको छ। बुधवार टिकटकमा ती युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

एभरेस्ट होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। शोषण गर्नेमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी संचालक रहेको उनले बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

‘हामीले पनि सामाजिक सञ्जालबाट जानकारी आएपछि अनुसन्धान सुरु गरेका छन्। यस घटनासँग सम्बन्धितसँग सम्पर्कदेखि अन्य काम भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने।

उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।

‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’

यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

बिहान घर जाने बेलामा ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।

पाण्डे थरका ती कन्सल्टेन्सी सञ्चालकले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।

उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

युवतीले आफूमाथि भएको बलात्कार र पीडकहरुको बारेमा त्यस समय मिस नेपाल २००२ माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी छिन्। तर, माल्भिकाले गैर जिम्मेवार तरिकाले युवतीलाई आफूले केही गर्न नसक्ने उत्तर दिएको भिडियोमा उनले बताएकी छिन्।

तर अहिलेसम्म किशोरीले प्रहरीमा उजुरी दिएकी छैनन्। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा पनि यौनसम्बन्ध राख्न‍ निषेध गरेको छ। घटना भएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट