मंगलबार, असार १४ २०७९

सरकारी कुर्चीको पीडा



  • नेपालदीप
  • शुक्रबार, जेष्ठ ६ २०७९
11.7K
SHARES

हो, म नेपाल सरकारको अफिसर हुँ। मेरो लागि लोक सेवाको परीक्षा सफल हुनु राजनैतिक दलहरुको लागि बहुमतको सरकार गठन गर्नु जस्तै थियो र छ पनि। स्कुलकाल देखि नै जागीरे मानसीकता भएछ भनौं वा अभावको कारणले भनौं सरकारी अफिसर बन्ने सपना ठूलो सपना लाग्यो। विश्वविद्यालयको शिक्षा पछि मलाई त्यो गाडा निलो रङ्गको कोट र पाइन्टको दुनियाँमा म आफै ‘स्मार्ट’ र सफल व्यक्ति जस्तो लाग्यो। अझ गाँउकै भाषामा भन्दा सरकारी जागिरे त राजा हो नि! राजा नै थियो। यही राजा बन्ने अर्ति र आशीर्वाद पटक पटक मलाई प्राप्त भइरहन्थ्यो। म पनि त्यसकै पछि पछि लागें।

म विवाहित नारी अनि बुहारी। सँगसँगै आमा पनि। हुन त म सगँ दुईवटा डिग्री पनि थिए। एउटा अंग्रेजी साहित्यमा र अर्को कानूनमा। यति मात्रै होइन कलेजमा पनि मेरो पढाई उत्कृष्ट थियो। संयोग भनौं वा सौभाग्य मेरी जेठानी दिदी सरकारी जागीरे हुनुहुन्थ्यो। म सानो बच्चासँग घरमा बस्दै गर्दा घरपरिवारले गरेको सम्मानले मलाई एउटा सुरुङमा लग्यो, लोकसेवाको सुरुङमा।

गाँउबाट शहर आउँदा लोकसेवाको लाइनमा बसेको मानिसको भीड देखेर डराउने म एकाएक घरपरीवारको आशीर्वादले लोक सेवाको परीक्षामा सहभागी भए। यो लोकसेवाको यात्रा कि त शुरु नै नगर्नु कि त पार गरी नछाड्नु भन्ने भनाइलाई आत्मसात गरी अगाडी बढे। मेरो सेवा तयारी अच्चमको थियो। १० / ११ बजेसम्म बच्चाको स्याहार सुसार। त्यसपछि बच्चा सुताउ। ३ −४ महिनाको सुत्केरी शरीर। अर्को कोठामा गएर अध्ययनको समय। कति पटक किताबलाई शिरानी बनाएर निदाए कति पटक। बच्चालाई दिनुपर्ने समय नदिएकोमा सम्झदै रुदै पनि गरे। र, फेरि आँफैलाई सम्हाल्दै रात्री समय मात्र आमाको समय हो भनेर आफूलाई सम्झाउदै लोकसेवा तयारीमा लागे। मन मनै आफैलाई भन्ने गर्थे, ‘ओहो! त त सुत्केरी यसैपनि आरम र सहयोगको जरुर छ, आरम गर।’ अनि आफैले फेरि उत्तर दिने गर्दथे, ‘ होइन सरकारी जागिरे त राजा नै हो नि।’

अपरेसन गरेको सुत्केरी शरिर, सानो बच्चा अनि ‘राजा’ बन्ने लोक सेवाको भूत। संयोग भनौं वा कष्टपूर्ण परिश्रमको फल भनौं वा भाग्यको लेखा। अथवा केही महिनामा लोक सेवा तयारी गरेको नतिजा। मेरो नाम सफल उम्मेदवारको सूचीमा प्रकाशित भयो। यति मात्रै होइन तीन समुहमा तीनै समुहमा। आहा! जब लोक सेवाको रिजल्ट आयो म रातभरी निदाउन सकिन कति पटक बिस्तारामा निदाउन नसकेपछी सोफा मा पल्टे। त्यो रात मैले चीटचीट पसिना, बेचैनी र कता कता खुसीको आशुमात्र अनुभव गरे। यसरी सरकारी जागिरमा नाम निकाल्दा यति ठूलो अनिद्रा र बेचैनिको अनुभव जिवनमा पहिलो पटक भयो।

दिनहरु बित्दै थिए। मेरो अन्तरवर्ताको लागि मिति तोकियो। अन्तरवार्तामा धेरै चिन्ता लिनु पर्ने अवस्था थिएन मात्र कुन समूह रोज्ने भन्ने प्रश्न थियो । मनमा लाग्यो प्रशासन नै रोज्छू। अरु सबै विस्तारै गर्दै सिक्दै जाउला। विजया दशमीको दिन नजिकिदै थियो, नियुक्ति लिन बाँकी थियो। घर परिवारमा आउने आफन्तीहरु सबैले तारिफ गर्दै थिए। बुहारी राम्री मात्र होइन साहसी र अब्बल पनि रहिछन्, यस्तै यस्तै। नियुक्तिसंगसंगै नयाँ साथी नयाँ परिवेश सबै नयै नयाँ।

जब जागिरमा गएको एक महिना बित्यो । म घर पुग्नासाथ बैठक कोठमा पुगेर भनेकी थिए- आज अफिसरको जागीरमा एक महाना पुग्यो। जवाफमा सुने, ‘ तलब पनि त आयो होला नि!’ मैले भने, ‘हो, आयो।’ एकाएक उत्तर आयो, ‘त्यहिँ सरकारी स्केल त हो नि अफिसरको, एउटा राम्रो पार्टीमा लगाउने सारी पनि किन्न पुग्दैन क्यारे!’

ओहो! म नि शब्द भए। पसिना आयो। मन सम्हालन सकिन। केही बोल्न सकिन, हिजोसम्म ‘राजा’ भनिएको सरकारी जागीरको आज हैसियत परिवर्तन भएको देखेर। ओहो! मेरो खुसी भन्दै म कोठामा आए। मन भित्र धेरै कुरा खेले। सम्झे यस्तो सुत्केरी शरीरलाई प्रवाह नगरी गरेको मेहेनत त्यो सरकारि जागिर त ‘राजा हो नि राजा’ भन्दै आँफूलाई सम्झाउँदै गरेको रटान। अनि फेरी यो सरकारी स्केलमात्र त हो नि भनेर खिस्रिक्क पारिएको घटना। कस्तो निरस लाग्दो परिवर्तन!

आज फेरि यही कुर्ची हेर्दै छु। ओहो ! कस्तो कुर्ची रहेछ यो सरकारी जागिरेको? यो राजा हो कि निरस लाग्दो सरकारी स्केल कुरेको कूरुवा? आज कुनै सपिङ् मलमा सपिङ् गर्न ,मन लाग्दा म त मलमा अनि दरवार मार्गमा सपिङ गर्न सक्दिन। सरकारी स्केल कम छ भन्दै असनको पसल र न्युरोडको सडकमा राखेको सस्तो सस्तो सामानहरु छनोट गर्दै जिवीकोपार्जन गर्न सिकिसके। अफिसमा आउँदा सरकारी अफिसरलाई साधन छैन, गाडी सुविधा सह सचिव वा सो भन्दा माथीको लागि मात्र न हो ।

अब दैनिक जीवनतर्फ लागौं। बाल बच्चालाई विद्यालय भर्ना गर्न जाँदा मासिक शुल्क बढी भएकै कारण सरकारी अफिसरका छोराछोरी सुहाँउदो सामुदायिक स्कुलमा राख्नु पर्ने बाध्यता छ। सिँहदरवार छोडेर सरकारी अड्डामा शिशु स्यहार केन्द्र छैन। किनकी यहाँ महिला कर्मचारीहरुको मात्र बालबच्चा हुन्छ। पुरुष कर्मचारीहरुका पनि बाल बच्चा त हुन्छन्। बच्चा जन्माउनु र बच्चा हुर्काउनु दुई फरकफरक विषय हुन् भन्ने कुरा आत्मसाथ गर्न नै बाँकी छ। पुरुष कर्मचारीहरुको लागि पनि बच्चा हुर्काउने जिम्मेवारी हुन्छ भन्ने कुराको बोध हुनुपर्दछ। तर यो कुरा पुरुष सहकर्मीहरुलाई मात्र थाहा छ, अड्डाले त सरकारी निर्देशिका र  नियमावलीमा भएका कुराहरु मात्र बुझछ अनि कुनै मन्त्रालयले गरेको परिपत्र बाँकी अड्डलाई के थाहा? अड्डालाई यति मात्र थाहा छ की पुरुष कर्मचारीहरुलाई १५ दिनको सुत्केरी स्याहार विदा दिनु नै उपलब्धी हो।

अब स्वास्थ्यको कुरा− यदि हामी सबै भन्दा बढी चिन्तित छौ भने स्वास्थ्य उपचारको बारेमा छौ। रोग नलाग्दा सम्म त ठिक छ रोग लागिसकेपछी कुन अस्पताल जाने? सरकारी अस्पतालमा जाउ सेवा दिन सक्ने भन्दा बढी सेवाग्रहीको चाप छ। सेवा पाउनको लागि महिनौं देखिको पालो कुरेर बसेको अवस्था छ। प्राइभेटमा जाउ आफ्नो खातामा आवश्यकता अनुसारको रकम छैन।

एउटा असजिलो तर नियमित प्रकृया सरुवा। सरुवा भन्नासाथ जिल्ला तथा जिल्लामा भएका अड्डहरुमा कर्मचारीहरुको फेरबदल सम्झनु स्वभाविक नै हो। एउटा सिडियो, डीएसपी, न्यायाधीश, सहसचिवहरुलाई त मनपर्ने जिल्ला र कम रोजाईको जिल्लाहरु हुन्छ भने अफिसर-नासु-खरिदारको अवस्था के होला? सरुवासँगै विभिन्न जिल्लामा जानुपर्ने, भाडमा बस्नुपर्ने। अति सिमित स्रोतमा जिउनुपर्ने, अरु यस्तै यस्तै।

सरकारी कर्मचारीहरुको बारेमा एकै साथ टिप्पणी गर्दा भनिन्छ- सरकारी काम कहिले जाँला घाम। यति मात्र हो र, अघिल्लो हप्तामात्र निर्वाचनको काममा खटिँदा  महानगरपालिकाको एक वार्ड मा एक युवा मतदाताले भन्नुभयो, ‘यो निलो कोटपाइन्टमा ढल्किएका कर्मचारीलाइ हुँदाहुँदा हप्तामा २ दिन बिदा? के छ काम? के काम गर्छन र?’

भन्ने मन थियो, ‘हजुर, सरकारी कर्मचारीहरुको काम सुन्नुहोस्, तपाईको निर्वाचन मतदान स्थल निर्माण, मतदान केन्द्र व्यवस्थापन, मतपत्रको सुरक्षा, मतदान प्रकृया थालनी देखि अन्त्य गर्ने। अझै भनौ? हामी घरमा जान पाएका छैनौं।’  तर आफूलाई सम्हाले। आफैँले आफैँलाई भने, यो निर्वाचन हो सानो तिनो कुरामा उत्तर दिनु उपयुक्त हुँदैन चुप लागेर बस्नु नै बेस हुन्छ।

आफूलाई विलासी हुँ भन्ने वर्गहरुले त सुखसयलमा अफिसरलाई कजाएको पो ठान्दारहेछन्! अझ भनै ‘they are our employee,’ भनेर पो भन्दा रहेछन्। मलाइ बल्ल थाहा भयो मेरो सपना मध्यमवर्गीय परिवारको सपना रहेछ। अझ भनौं यो महंगी त निम्न वर्गीय मानिसको रोजाइ पो रहेछ। सेवाग्राहीको अनुपातमा सेवा प्रदान गर्ने सरकारी संयन्त्र ज्यादै न्यून छन्। जसले गर्दा सर्वसाधरणले चाहे अनुकुलको सेवा प्रदान गर्न सरकारले सकेको छैन तर त्यसको मतलब सबै दोष सरकारी कर्मचारीलाई दिनु पर्छ भन्ने कदापी हुन सक्दैन्।

अफिसको काम गर्दागर्दै असिनापानी परेर म घर कसरी पुग्ने भन्ने मस्तिस्कमा आउन नपाउँदै बच्चाहरु कहाँ होलान्? घर पुगे कि बाटामा नै बीचमै होलान्? स्कुलमा केही भयो की? यस्तै यस्तै अनेक तनाबहरु तर यो कुर्ची ५ नबजेसम्म छोड्न मिल्दैन। अझ कति दिन त अड्डाको समय सकिए पनि अड्डाको काम भने सकिदैन। यतिका वर्ष सेवामा मेहनत र पसिना बगाए। राष्ट्रको सेवा गरि रहेकी छु। आफ्नो जीवन नै सेवमा लगानी गरेकी छु। कसलाई के थाहा छ र यो कुर्सीमा बसेर जवानी र रहरहरु विस्तारैविस्तारै मेटीएको। काम गर्दै जाँदा बल्ल थाहा भयो जागिरे जीवन त अभावमा हुर्केकाहरुले र मध्यमवर्गका मानिसहरुले देख्ने सपना रहेछ। यही कुर्चीमा मेरो जवानी गयो, घडी हेरी अफिसमा बस्ने समय हेर्दाहेर्दै जवानीका इच्छा गए। यो वैशालु उमेरमा उत्सुकता हुँदाहुँदै कार्यालयको कामले जवानीको रहरलाई बाध्यताले छुपाउनु पर्यो। समय र नियमको पालाना गर्दै जाँदा मेरो सृर्जनशील उमेर गयो। यही कुर्ची र यही सरकारी जागीरमा समर्पित हुँदै गर्दा कता कता म झस्कन्छु, एक बारको जिन्दगीमा उमेर अनुसार चल्न नजानेकोमा अझ भनौं जागिर जागीर भन्दै आफैँलाई कैदमा राखेकोमा।

(लेखक सरकारी अफिसर हुन्)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट