
काठमाडौं । ‘कबड्डी ४’ नेपालसहित अष्ट्रेलिया, जापान लगायतका मुलुकमा आगामी शुक्रबार एकसाथ रिलिज हुँदैछ । उक्त चलचित्र रामबाबु गुरुङ निर्देशित फिल्म आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । पश्चिम बंगालको सिलीगुडीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिज गरिने कुराको औपचारिक घोषणा गरिएको हो ।
अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ प्रि-रिलिज पत्रकार सम्मेलनमा सिलीगुडी पुगेका थिए । जहाँ उनीहरुले फिल्म प्रदर्शनबारे जानकारी गराए । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।
‘कबड्डी ४’लाई सुष्मा प्रोडक्सनले भारतमा रिलिज गर्न लागेको हो । नेपाली फिल्म क्षेत्रको प्रदर्शन इतिहासमा यति धेरै भारतीय सहरमा एकैपटक फिल्म प्रदर्शन गर्न लागिएको यो पहिलो पटक हो ।
नेपालीहरुको धेरै बसोबास रहेका सहरहरु जस्तै: सिलीगुडी, गुवाहाटी, दार्जिलिङ, कालिम्पोङसहितका सहरमा फिल्म देखाइन लागिएको हो । असार १ गते हुने भारत प्रिमियरमा उपस्थित हुन दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको टोली जाने भएको छ ।
‘भारतको नेपालीभाषी क्षेत्रमा बजारको खोजीका लागि एकसाथ रिलिज गर्न लागेका हौं,’ निर्माता मणिराम पोखरेलले भने, ‘कबड्डी मात्र हैन, समग्र नेपाली फिल्मकै बजारको खोजी भारतमा हुनेछ ।’ होर्डिङ बोर्ड, रोड शो र पत्रकार सम्मेलन ती सहरमा आयोजना गरिएको उनले जनाए ।
‘कबड्डी ३’लाई भारतमा ४८ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने चौंथो श्रृंखला त्यो भन्दा बढी मूल्यमा बिक्री भएको निर्माता पोखरेलले बताए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।