
कास्की। पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।
उनले भने, ‘सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।’ उनका अनुसार शुक्रवार (सीटीईभीटी) गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।
म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा अहिलेलाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आउँदाे दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताए । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।
कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयबाट पालिकाको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भइ जान लागेका १ हजार ४ सयय म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो ।
करिब ८ सय ७५ ले प्रश्नावली भरी सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्याङ्कका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।