मंगलबार, असार १४ २०७९

अदालतमा निष्पक्ष फैसला हुँदैन, सेटिङमात्र हुन थाल्योः पूर्व न्यायाधीश सिंह



  • नेपालदीप
  • सोमबार, जेष्ठ ३० २०७९
2.2K
SHARES

काठमाडौँ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवं कानुनविद् टोपबहादुर सिंहले न्यायपालिकामाथि संसदीय स्वेच्छाचारिता बढेको बताएका छन् । आइतबार काठमाडौंमा भएको न्यायपालिकाको सुधार एवं शुद्धीकरण विषयक एक दिवसीय छलफल कार्यक्रममा उनले संसदीय सुनुवाईमा न्यायाधीशमाथि बार्गेनिङ हुने बताए ।

सिंहले अदालतलाई कार्यपालिका र व्यवस्थापिकाबाट स्वतन्त्र राख्नुपर्ने बताउँदै न्यायालयभित्र पनि स्वेच्छाचारिता बढेको उल्लेख गरे ।  उनले भने– ‘अदालतमाथि कार्यपालिका, व्यवस्थापिकाको स्वेच्छाचारिता बढेको छ । अदालतभित्र पनि स्वेच्छाचारिता बढेको छ । अहिले न्यायालयको मूल्य मान्यता समाप्त पारिएको छ । न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाईमा पनि बार्गेनिङ हुन्छ, अदालतभित्र पनि विवादास्पद मुद्दा एकल इजलासमा लिने र फैसला गर्ने विकृति देखापरेको छ । अदालतलाई संसदबाट पनि स्वतन्त्र राख्नुपरयो, न्यायपालिका पनि स्वतन्त्र हुनुपर्यो स्वेच्छाचारी हुनुभएन ।’

उनले कार्यपालिका र व्यवस्थापिकाबाट अदालतलाई स्वतन्त्र राख्न जोड दिँदै राजनीतिको मूल्य मान्यता सकिएकोले त्यसको असर अदालतमा पनि देखिएको टिप्पणी गरे । उनले अदालतलाई विवादित नबनाउन र अदालतमा सेटिङ मिलाउँछु नभन्न पनि राजनीतिक दललाई आग्रह गरे ।
पूर्व न्यायाधीश सिंहले भने– ‘लोकतन्त्रमा अदालत स्वतन्त्र रहने अन्तर्राष्ट्रिय अभ्यास हो । राजनीतिक दलले अदालतमा सेटिङ मिलाउँछु भन्न छोड्नुस् ।’ उनले अदालतका न्यायाधीशहरु सांसदहरुले संकलन गरेर राखेको हस्ताक्षरबाट डराएर काम गर्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरे ।
फैसला गर्ने न्यायाधीश आफूमाथि कुन बेला महाभियोग लाग्ने हो भनेर काम गर्दा निष्पक्ष न्याय सम्पादनमा प्रभाव पर्ने उनले बताए । कार्यक्रममा विभिन्न पूर्व न्यायाधीश एवं वरिष्ठ अधिवक्ताहरुले नेपालको हालको न्यायको अवस्थाबाट विश्लेषण तथा टिप्पणी गरेका थिए । पूर्व न्यायाधीश फोरम नेपालले गरेको कार्यक्रममा न्यायपालिकाको सुधार र शुद्धीकरणका सन्दर्भमा विविध छलफल भएको थियो। ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट