मंगलबार, असार १४ २०७९

‘गुन्डा नाइके’ समीरमानलाई जेलमै भेटेपछि डीएसपी केसीलाई मेट्रो तानिए, अनुसन्धान जारी



  • नेपालदीप
  • बुधबार, असार १ २०७९
1.2K
SHARES

काठमाडौं । ‘गुन्डा नाइके’ समीरमानसिंह बस्नेतलाई भेट्न जेलमा पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीलाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई गए राति नै महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको हो ।

समीरमान निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए। उनै समीरमानलाई भेट्न अर्का गुन्डा नाइके अमृत केसीलाई लिएर डीएसपी केसी आइतबार सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए।

प्रहरीको कुनै पनि माथिल्लो निकायलाई रिपोर्टिङ नै नगरी कारागार पुगेको खुलेपछि डीएसपी केसीमाथि काठमाडौं प्रहरी परिसरले सोधपुछसमेत गरिसकेको स्रोतको दाबी छ। यसबारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। प्रहरी परिसर काठमाडौंले परिसरकै एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

गुण्डा नाइकेबारे केही अनुसन्धान र सोधपुछ गर्न जेलभित्र प्रहरी अधिकारी जानुलाई सामान्य विषय मानिए पनि उनी गोप्य रूपमा बिदाका दिन जेल पुग्नु प्रहरी आचरणविपरीतको काम भएको प्रहरी अधिकारीको भनाइ छ।

छानबिन समितिले आफ्नो काम सुरु गरेको र गुन्डा नाइकेलाई भेटेको पाइए कारबाही गरिने काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी बताउँछन् ।

उनले भेटेको पुष्टि भए विभागीय कारबाहीको सिफारिस गर्ने तयारी छ। छानबिन समितिले भेटे/नभेटेकोबारे प्रतिवेदन तयार गर्नेछ।

अनुमति लिएर कारागारमा रहेका आफन्तलाई भेट्न जो कोहीले पाउने भएपनि उनी गुन्डा नाइकेलाई भेट्न विभागलाई जानकारी नै नगराई जेलमा पुगेको बताइएको छ। प्रहरीले डीएसपी केसी र समीरमानको ‘कनेक्सन’ खोजिरहेको छ।

समीरमानकै समूहको नामबाट एक वर्षअघि विभिन्न व्यवसायीहरूलाई धम्क्याउँदै रकम माग्ने गरेको खुलेको थियो। सो घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाको पनि संलग्नता पाइएको थियो। पुर्पक्षका लागि जेल चलान भएर थापा छुटिसकेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट