मंगलबार, असार १४ २०७९

दलहरुको पाइताला मुनिबाट खस्किँदै छ जमिन!



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
893
SHARES

नेपालले बिगत केही दशकदेखि अँगालेको पहिलेको बहुदलीय प्रजातान्त्रिक परिपार्टी र पछिल्लो लोकतान्त्रिक गणतन्त्र भित्र राजनैतिक दलहरु मुख्य कर्ताधर्ता मानिन्छन्। वि सं २०१७ सालदेखि २०४६ सालसम्म गद्दीनसीन राजाहरुको सकृय नेतृत्वमा क्रियाशिल निर्दलीय पञ्चायती व्यवस्थामा पनि आवधिक निर्वाचन हुने गर्थ्यो तर त्यतिबेलाको राजनैतिक स्पर्धामा दल प्रतिवन्धित हुने र सकृय राजा वा पञ्चायतका शीर्षस्थ नेताहरुको अनुकम्पाबाट मात्र राजनीति सम्भव हुने भएकोले त्यो प्रणालीलाई निरंकुश व्यवस्था भनिएको थियो। त्यही कारण सकृय राजतन्त्र मुनि सीमित व्यक्तिको बर्चस्व रहेको पञ्चायती शासन बिरुद्ध बेलाबखत प्रतिबन्धित दलहरुले विविध खालका आन्दोलन र क्रान्ति गर्न बाध्य थिए। फलस्वरुप, २०४६ को जनआन्दोलन संगै ३० बर्षे पञ्चायत व्यवस्था ढल्यो। पछि २०६३-६४ पछि त हिंस्रक क्रान्तिमा रहेको माओवादी समेत बिभिन्न अड्कोसहित  यही बहुदलीय पद्धतिको अंग बन्न आई पुग्यो। यद्यपि, पुनर्स्थापित लोकतन्त्रले लगभग पञ्चायत जत्तिकै झण्डै ३ दशक मुलुकको राजनीतिलाई अघि बढाइसक्दा पनि विद्यमान पद्धति, यसका कर्ताधर्ता राजनैतिक दलहरु र तिनका नेताको काम गराइको शैलिले समयको वर्तमान विन्दुसम्म आइपुग्दा  जनमानसमा यो व्यवस्था र राजनीति बिरुद्ध  वितृष्णा बढाउने बाहेक केही गतिलो उपलब्धि नदिएको महशूस सर्वत्र अनुभव हुन्छ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाण्डु, धरान र धनगढी जस्ता प्रतिनिध स्थानमा स्थापित राजनैतिक पार्टी बिरुद्ध, तत् तत् ठाउँका जनताले स्वतन्त्र उमेद्वारहरुलाई प्रचण्ड मतदान गरी विजयी बनाएर अस्तित्वरत राजनैतिक पार्टी र तिनले हुर्काएको विकृत शासन प्रणाली बिरुद्ध जोडदार सन्देश प्रक्षेपण गरेका छन्। सारांशमा, दलीय लोकतन्त्रमा स्वतन्त्र उमेद्वारप्रतिको अनुरक्ति विद्यमान पद्धति बिरुद्धको नकारात्मक मतदान हो भन्ने बुझ्न कुनै विज्ञता चाहिँदैन।
वर्तमानको बहुसंख्यक मतदाता पुस्ता  २०४६ सालको राजनैतिक परिवर्तन र बहुदलीय पद्धतिको पुनर्स्थापना हुँदा वा त्यसपछि जन्मेको पुस्ता हो। उदाहरणार्थ , भर्खरै काठमाण्डुु मेयरमा निर्वाचित बालेन्द्र साह २०४६ को जनआन्दोलन र बहदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात जन्मिएको पुस्ताका प्रतिनिधि युवा नेता हुन्। यो पुस्ता पञ्चायत बिरुद्ध आनदोलन गर्दा पाएको जेलनेल, यातना र दुःखको गाथा गाएर अनन्त अवसरहरुमा आफ्नो स्वार्थको दूनो सोझाएर राजनीतिक प्रणालीलाई निकम्मा बनाउने पात्र र प्रवृत्तिबाट रुष्ट छ। यो पुस्ता लोकतन्त्रको मर्म ‘जनताको, जनताद्वारा र’ जनताका लागि’ लोकतन्त्र अनुभूत भएको भोग्न व्यग्र छ।

अध्ययन, विश्वदृष्टि , लोकतन्त्रको अभीष्ट र उद्देश्य बुझेको यो पुस्ता अन्य विकसित लोकतान्त्रिक मुलुकहरुले गरेको भोगेको विकास र वितरण प्रणाली बारे ज्ञान राख्छ; कुन किसिमको राजनैतिक, शाषकीय र प्रशाषकीय प्रणालीका माध्यमबाट मुलुक र मुलुकवासीलाई के कुरा प्रदान गर्नुपर्छ भन्ने राम्रो हेक्का राख्छ। लोकतन्त्र जनताको लागि उत्पादक हुन सकेन भने यसको औचित्यमा प्रश्न उठ्छ भन्ने यो पुस्ताले बुझेको छ। त्यसैले, प्रयोगको यो लामो अवधिमा हाम्रो राजनीतिको असफलता देखेको  वर्तमान पुस्ताले अहिलेको अकर्मण्य राजनैतिक प्रवृत्ति बिरुद्ध शंखघोष गरिसकेको छ।

स्थानीय निर्वाचनमा निश्चित सीमित स्थानमा भए पनि राजनैतिक दलका उमेद्वारलाई हराएर , स्वतन्त्रहरुले झण्डै ३ दशक भन्दा बढी समय खेर गएको अनुत्पादक लोकतान्त्रिक बर्षहरुको  जागरुक जनताले भरपाई खोजेका छन् । त्यसको संकेत अहिलेसम्म राजनीतिमा ढलीमली गरेर पालोपालो लाभ लिइरहेका दलहरुका बिरुद्ध प्रष्ट रुपमा प्रकट भएको छ। आगामी आम निर्वाचनसम्ममा विकृत प्रणाली र अन्तरंगसम्म कुहेको बेथिति आक्रान्त शासकीय र प्रशाषकीय हालीमुहाली बिरुद्ध क्रानतिकारी सुधारको डंका पिटेर असंख्य ‘स्वतन्त्र’ हरुले उमेद्वारी घोषणा गर्नेछन् र विजयी पनि बन्नेछन्। हिजो मात्र लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनैतिक शुद्धीकरणका लागि नया राजनैतिक पार्टी र अभियानको घोषणा गरेका छन्। ‘स्वतन्त्र’ हरुको यो उर्लँदो लहरले वर्तमानमा रजगज गरिरहेका राजनैतिक दलहरुमाथि चरम अविश्वासको मात्र सन्देश दिँदैन, अहिलेको प्रणाली, यसका पात्र त समग्र प्रवृत्ति बिरुद्ध ज्वलन्त बगावतको उद्वोधन हुँदै गरेको देखाउँछ। भुसको आगो सतहमा उत्रेको संकेत देखिएका छन्। समग्रमा, मुलुक उत्तरदायित्वबिहीनता, अकर्मण्यता र बेथितिको अंकूशबाट मुक्त हुन छट्पटाउँदो छ र अहिले राजनीतिमा सकृय नेपाली दलहरुले टेकेको आधारभूमि भित्रैदेखि भत्किँदो प्रष्ट देखिन्छ।  किताबी लोकतन्त्रका आदर्श गाथा गाएर व्यवहारमा स्वार्थलम्पट, गूटपरस्त, पारिवारिक र उत्तरदायित्वबिहीन लाभ र रवाफको रजगजमा आकण्ठ डुबेका अकर्मण्य दल र नेतृत्व पात्र उभिएको जमिन भित्रैदेखि खोक्रिएको छ र कुनै पनि बेला यो भासमा समस्त शासकीय पद्धति बिसर्जन हुन सक्नेछ !

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट