बिहिबार, माघ १३ २०७८

भारतबाट फर्कनेले १० दिन क्‍वारेन्टाइन बस्‍नुपर्ने प्रदेश सरकारको निर्णय



  • नेपालदीप
  • शनिबार, चैत्र ८ २०७६
8.9K
SHARES

सुर्खेत ।   कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशमा पनि कोरोनाको उच्च जोखिम भएका कारण भारतबाट फर्कनेहरूलाई १० दिन क्वारेन्टाइनमा राख्ने बताएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले यो निर्णय गरेको हो। भारतमा रोजगारीका लागि गएका हजारौं नेपाली युवा कर्णाली फर्किने सिजन सुरु भएको छ। घर फर्कन चाहनेले भारतबाट १० दिनभित्र फर्कन पनि सरकारले आह्वान गरेको छ। मुख्यमन्त्रीका अनुसार भारतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिइने बताए। प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा एक हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी थालिएको बताइन्।

४०० जनालाई रेडियो नेपालको चौरमा पाल टाँगेर र ६ सय जनालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘आवश्यक तयारी आजैदेखि सुरु भएको छ। आगामी तीन दिनभित्र हामी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछौं,’ मन्त्री केसीले भनिन्। उनका अनुसार बैठकले मन्त्रीहरूको संयोजकत्वमा विभिन्न समिति पनि गठन गरेको छ। कोरोनाको व्यवस्थापनका लागि कार्यान्वयन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा अनुगमन समिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको अध्यक्षतामा आपूर्ति समिति गठन गरिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार