सोमबार, साउन ३० २०७९

गृहमन्त्रीले एसपीपीबारे भनाइ सच्याए: अमेरिकालाई नभई परराष्ट्रलाई पत्राचार गरेको भनाइ



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
1.9K
SHARES

काठमाडौँ। अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का सम्बन्धमा नेपालले अस्वीकार गरेको अमेरिकालाई पत्राचार गरेको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले सोमबार फरक–फरक कुरा बोलेका छन् ।

एसपीपीलाई लिएर नेपालमा विरोध भएपछि सरकारले मन्त्रिपरिषद्को असार ६ को निर्णयअनुसार त्यसलाई अघि नबढाउने निर्णय गरेको थियो । मन्त्री खाँणले सोमबार राष्ट्रिय सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको रक्षा मन्त्रालयको विनियोजित बजेट छलफलमा जवाफ दिने क्रममा भनेका थिए, ‘एसपीपी अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको छ र त्यो निर्णयलाई हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं ।’

उक्त निर्णय परराष्ट्र मन्त्रालयले बिहीबार प्राप्त गरे पनि हालसम्म अमेरिकालाई कुनै पनि पत्राचार गरिएको छैन । तर खाँणले उक्त कुरा संसद्मा बोलेपछि परराष्ट्रका अधिकारीहरूले कुनै पनि जवाफ दिएका छैनन् ।

मन्त्री खाँणले आफूले केही समयअघि बोलेको भनाइलाई फेरेर बेलुकी आफ्नो सचिवालयमार्फत सच्याएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एसपीपीलाई अघि नबढाउन मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको भन्दै कुरा बाहिर ल्याएका हुन् । ‘मन्त्रीजीले दिउँसो बोल्दा केही तलमाथि भएको थियो । उहाँले मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई एसपीपीका सम्बन्धमा पत्राचार गर्नुपर्ने भन्न खोज्नुभएको थियो । कुरा त्यही हो । तर त्यहाँ परराष्ट्र मन्त्रालयमार्फत भयो । जुन सही थिएन,’ खाँडका प्रेसविज्ञ मधुसुदन भट्टराईले भने ।

कान्तिपुर

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार