सोमबार, साउन ३० २०७९

अर्जुनचौपारी गाउँपालिका र क्यानभास कलेजबीच विद्यार्थीको लागि छात्रवृतिबारे समझदारी



  • नेपालदीप
  • आइतबार, असार १९ २०७९
4.5K
SHARES

काठमाडौँ। क्यानभास कलेज र अर्जुन चौपारी गाउँपालिका बीच सहकार्य गर्ने सहमति भएको छ। आइतबार कलेजका भाइस प्रिन्सिपल विष्णु प्रसाद पाण्डे र अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार क्यानभास कलेजले उक्त गाउँपालिकाको सिफारिसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृति दिने छ। ‘अर्जुनचौपारी गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सिफारिस अनुसार सो गाउँपालिकाबाट क्यानभास इण्टरनेशनल कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जेहेन्दार र एवं बिपन्न छात्रवृत्ति प्रदान गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ।

त्यस्तै, अर्जुन चौपारी गाउँपालिका भित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक अवसरहरुमा कलेजले सहयोग उपलब्ध गराउनेछ।

समझदारीमा उल्लेख भए अनुसार गाउँपालिकाले क्यानभास कलेजमा विद्यार्थीहरुलाई पढुन भन्ने उद्देश्यले प्रचार प्रसारमा सहयोग पुर्याउने छ।

काठमाडौँकै उत्कृष्ट मध्यको कलेजसँग भएको सम्झौताले गाउँपालिकाबाट उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि ठूलो राहत हुने गाउँपालिका अध्यक्ष तिवारीले विश्वास प्रकट गरेका छन्।

यस सम्झौतामार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै कलेजले गाउँपालिकामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटित गर्ने कार्यमा नविन सुरुवात भएको कलेजका संचालक प्रविण तिवारीले बताए।

क्यानभास इण्टरनेशनल कलेज, एवं अर्जुन चौपारी गाउँपालिका बीच भएको

समझदारी पत्रः

क्यानभास इण्टरनेशनल कलेज वसुन्धरा, काठमाण्डु तथा अर्जुनचौपारी गाउँपालिका श्याङ्जा (गण्डकी प्रदेश) प्रदेश बीच मित्रवत भ्रातृभावको सम्बन्ध स्थापना गर्न सहमत भई निम्नलिखित बूँदासहितको समझदारी कायम गरेका छौं।

१) क्यानभास इण्टरनेशनल कलेज एवं अर्जुनचौपारी गाउँपालिका बीच मित्रवत भ्रातृभावको सम्बन्ध स्थापित हुनेछ।

२) अर्जुनचौपारी गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सिफारिस अनुसार सो गाउँपालिकाबाट क्यानभास इण्टरनेशनल कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जेहेन्दार र एवं बिपन्न छात्रवृत्ति प्रदान गरिनेछ ।

३) क्यानभास इण्टरनेशनल कलेजमा अध्ययनार्थ विद्यार्थीहरु आऊन् भनी प्रेरित गर्न अर्जुन चौपारी गाउँपालिकाले आवश्यकीय सरसहयोग र प्रचार प्रसारमा मद्दत पुराउने छ।

४) क्यानभास इण्टरनेशनल कलेजले अर्जुन चौपारी गाउँपालिका भित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक अवसरहरुमा यथासक्य सहयोग उपलब्ध गराउनेछ ।

५) पारस्परिक मद्दतका हरेक क्षेत्रमा क्यानभास इण्टरनेशनल कलेज एवं अर्जुन चौपारी गाउँपालिका हातेमालोको सम्बन्धमा रहनेछन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार