
काठमाडौं । हिजै मात्र मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ ।
अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।
अहिले महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिए ।
हाम्रो देशको मनोरञ्जन करमा छुट दिन सके कोरोना प्रभावित उद्योगलाई राहत मिल्ने फिल्मकर्मीहरुले बताए । बालेन मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।
उक्त छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी भएका थिए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।