शुक्रबार, असोज २१ २०७९

कांग्रेसको एकल बहुमत नआओस् भन्ने ‘प्रचण्ड’ स्वार्थ, नेकपा सचिवालय ब्युँताउने रणनीति



  • नेपालदीप
  • बिहिबार, साउन ५ २०७९
2.8K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसले एकल बहुमत ल्याउने उद्देश्य सहित गठबन्धन गर्ने निर्णय केन्द्रिय समितिबाट गरेसंगै गठबन्धन भित्र हलचल पैदा भएको छ। खास गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस निर्णयबाट झस्किएका छन्। यद्धपि उनले लोकलज्जाको लागि उक्त निर्णयको समर्थनमा वक्तव्य दिए।

कांग्रेसको निर्णयपछि गठबन्धनमा आबद्ध बाम दलहरु गठबन्धनभित्रै अर्को गठबन्धन बनाउने खेलोमा लागेका छन्। कांग्रेसले एकल बहुमत ल्याउने उद्देश्यसहित गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्टै प्रचण्डले संसदीय दलको कार्यालयमा गठबन्धनकै अर्का नेता बाबुराम भट्टराईसँग छलफल गरे। त्यही दिन प्रचण्डले भट्टराईपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसँग पनि छलफल गरे।

प्रतिनिधि सभामा सिट बाँडफाँट गर्ने विषयमा कसरी प्रस्तुत हुने भनेर यी नेताहरूको छलफल केन्द्रित थियो। संघीय चुनाव नजिकिँदै जाँदा सत्ता गठबन्धनलाई नै निरन्तरता दिँदा कांग्रेसलाई हाबी हुन नदिनको लागि गठबन्धन भित्र अर्को गठबन्धन बनाउनु पर्ने नेताहरुको राय थियो।

कांग्रेसको एकल बहुमत आए आफूहरुलाई नटेर्ने ती नेताहरुको राय थियो। त्यसलाई रोक्नको लागि विशेषत् माओवादी अध्यक्ष प्रचण्ड लाग्ने छन्। पहिलो र दोस्रो दलसँग पालैपालो मोलमोलाइ गरी सत्ताको साँचो आफ्नो हातमा राख्ने र अनवरत सत्ता स्वाद चाखिरहने उनको दाउ त्रिशंकु संसदमा मात्र सम्भव हुनेछ। आफू तेस्रो र निर्णायक शक्ति हुने उनको दाउ छ। र, तेस्रो पटक प्रधानमन्त्री बन्ने अकाट्य इच्छा उनि भित्र छ।

त्यसैले कुनै पनि हालतमा कांग्रेसको एकल बहुमत आउने गरी प्रतिनिधि सभाको सिट बाँडफाट गर्न प्रचण्ड चाहँदैनन्। त्यसैले गठबन्धनभित्रै अविश्वास बढाएर कांग्रेसमाथि दबाब बढाउन उनि  सक्रिय छन्।

अर्कोतर्फ तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको सचिवालय ब्युताउने तयारी गरिएको छ। तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयलाई ब्युताउन भित्री तयारी सुरु भएको हो। यसको पहलकदमी लिइरहेका छन् वामदेव गौतमले।

मंगलबार दोस्रोपटक प्रचण्ड र माधव नेपालसहितका उक्त सचिवालयका ५ नेता छलफलमा जुटेका छन्। यसै सिलसिलामा पहिलो चरण हात्तीवन र दोस्रो चरण सिंहदरबारमा तत्कालीन नेकपाको अन्तरसंघर्षमा अध्यक्ष केपी ओलीविरुद्ध संगठित भएका पाँच सचिवालय सदस्यबीच भेटघाट भएको हो।

भेटघाटमा प्रचण्ड र माधवनेपालसहित झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्ठ छन्। ओली पक्षमा रहेका तत्कालीन सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामवहादुर थापा बादल र विष्णु पौडेल एमालेमा छन्।

नेकपाको सचिवालयका पाँच नेताहरु जम्मा भएर सचिवालय ब्युँताएपछि क्रमशः स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि ब्युँताउन सकिने बुझाइ वामदेवको छ। उनले पाँच नेताको बैठकमा आफ्नो प्रस्ताव राखिसकेका छन्।

स्रोतका अनुसार अबको नेकपाको संरचना पहिलेको जस्तो हुने छैन। ‘यसमा धेरै पार्टीहरु हुनेछन्। एमाले, माओवादी र समाजवादीको छुट्टै अस्तित्व हुनेछ। र, नेकपाको सचिवालय त्यहाँ भन्दा माथि हुनेछ। पार्टीबाट भागबण्डा गरेर सचिवालयमा मान्छे पठाइनेछ। एकीकृत सभापति हुने छैन। अहिलेका अध्यक्षहरु आफ्नो आफ्नो पार्टीमा अध्यक्ष नै रहनु हुनेछ। चुनाव चिन्ह एक हुनेछ। सूर्य नै होला सायद! लगभग यस्तै मोडालिटीमा छलफल भइरहेको छ,’ स्रोतको दाबी छ।

गौतमले नेकपाको सचिवालय ब्युँताएपछि त्यो पार्टी एकता संयोजन समिति जस्तो हुने र आ-आफ्ना पार्टी सन्चालन हुने तथा आफूले त्यस संयोजन संयन्त्रको तर्फबाट केपी ओलीलाई पनि एकतामा ल्याउने प्रस्ताव राखेका छन्। जसमा सबै सकारात्मक छन्।

केही दिन अघि चिनियाँ प्रतिनिधि मण्डल नेपाल आएको थियो। यस्तो मोडेलमा काम गर्न उक्त प्रतिनिधि मण्डलले सुझाएको बुझिएको छ। प्रधानमन्त्री भइहाल्ने महत्वाकांक्षाका साथ भारत भ्रमण गएर ‘चिनियाँ कार्ड’ फालेर भारत-अमेरिका तर्साउने प्रचण्डको डिजाइन असफल भएपछि उनि पनि जसरी पनि नेकपा ब्युताउने लाइनमा छन्। तर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका यस बीच महत्वपूर्ण हुने देखिन्छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार