सोमबार, साउन ३० २०७९

गण्डकी प्रदेश सरकारले २४० जनालाई निःशुल्क सीपमूलक तालिम दिँदै



  • नेपालदीप
  • शनिबार, साउन १४ २०७९
969
SHARES

पर्वत। गण्डकी प्रदेश सरकारले कक्षा ८, १० र १२ पास गरेका दुई सय ४० जनालाई विभिन्न १२ प्रकारका तालिमहरू निःशुल्क रूपमा प्रदान गर्ने भएको छ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सिप विकास केन्द्रको आयोजनामा तालिम प्रदान गर्न लागिएको हो। केन्द्र प्रमुख प्रभु सिग्देलका अनुसार दलित, अपाङ्गता भएका, सहिद परिवार, विपन्न, द्वन्द्व पीडित, कोभिड–१९ प्रभावित, वैदेशिक रोजगारबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकतामा राखेर तालिम दिन लागिएको हो।

चालु आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिकमा तालिम सञ्चालन गर्ने गरी १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेकाहरूको लागि तीन महिने तालिमको आयोजना गरिएको हो। भदौ दुई गतेभित्रमा आवेदन गरेकाहरूबाट फरकफरक मितिमा अन्तरवार्ता गरेर तालिम सहभागी हुने उम्मेद्वारहरु छनोट गर्ने केन्द्रको तयारी छ।

तालिम हुने १२ ओटा विधाहरूमा आधारभूत कटाई सिलाई, मन्टेश्वरी, केश शृङ्गार, आधारभूत कम्प्युटर, प्लम्बिङ, विद्युत् जडान, फेसन डिजाइन, बुटिक डिजाइन, मोबाइल मर्मत, कुक, कपाल काट्ने, मोटरसाइकल मर्मत र झोला बनाउने रहेका छन्। यी प्रत्येक विधामा बढीमा २० जनासम्म राख्ने गरी कुल २४० जनालाई तालिम दिन लागिएको हो।

कक्षा ८ उत्तीर्ण भएकाहरूले आधारभूत सिलाई कटाइमा, केश शृङ्गार, प्लम्बिङ, विद्युत् जडान, बुटिक डिजाइन, कपाल काट्ने, कुक, मोटरसाइकल मर्मत र झोला बनाउने तालिममा सहभागिताको अवसर पाउने छन्। एस.ई.ई उत्तीर्ण गरेकाहरू आधारभूत कम्प्युटर र मोबाइल मर्मतको तालिममा सहभागी हुने अवसर पाउने छन्। फेसन डिजाइन तालिममा सहभागी हुनको लागि आधारभूत कटाई सिलाइको तालिम पूरा गरेको हुनुपर्ने भनिएको छ।

भदौ ५ मा आधारभूत कटाई सिलाइको, ६ मा मन्टेश्वरीको, ७ मा केश शृङ्गारको, ८ मा आधारभूत कम्प्युटरको, ९ मा प्लम्बिङ र विद्युत् जडानको, १० मा फेसन डिजाइन र बुटिक डिजाइनको, १२ मा मोबाइल मर्मतको, १३ मा कुकको, १६ मा कपाल काट्ने र मोटरसाइकल मर्मतको तथा १७ मा झोला बनाउने तालिममा आवेदन गरेकाहरूको अन्तरवार्ता गर्ने गरी केन्द्रले समय तालिका निर्धारण गरेको छ।

आवेदनको लागि एक प्रति फोटो, शैक्षिक योग्यताका प्रमाणपत्रसहित केन्द्रमा नै पुगेर वा केन्द्रको वेब साइट www.vsdtc.gandaki.gov.np मा लग इन गरेर पनि फाराम भर्न सकिने केन्द्रले बताएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार