सोमबार, साउन ३० २०७९

भारी वर्षासँगै सप्तकोशीमा पानीको बहाव बढेपछि ५६ मध्ये ४६ ढोका खोलियो



  • नेपालदीप
  • बिहिबार, साउन १९ २०७९
1K
SHARES

काठमाडौं। अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ ।

सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रणमा नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो।

आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ।

अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए। कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार