सोमबार, साउन ३० २०७९

प्रधानसेनापति शर्मा अष्ट्रेलिया बसाईपछि आज नेपाल फर्किँदै



  • नेपालदीप
  • शुक्रबार, साउन २० २०७९
1.2K
SHARES

काठमाडौं। अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्। शर्मा आज साँझ काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको (सिएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तरराष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

कन्फरेन्समा सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच पनि अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल तथा विचार आदानप्रदान भएको सैनिक मुख्यालयले जनाएको छ। उक्त कन्फरेन्समा सहभागी भएका शर्माले त्यसपछि अष्ट्रेलियमा उच्चस्तरीय भेटघाट गरेका थिए।

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन्।

अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिमा नेपाल नबस्ने कुरा भइरहेका बेला त्यसकै सम्मेलनमा सरकारले प्रधानसेनापतिलाई पठाएको भन्दै चर्को सांसदहरुले आलोचना गरेका छन्। यस्तै संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको

बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निस्कर्ष निकालेको छ।

बैठकमा बोल्दै समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेनापति किन नआउनुभएको भन्दै प्रश्न गरिन्। समिति बैठकले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएको बारे सरकारले जानकारी गराउनुपर्ने माग गरेको छ।

बैठकमा नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए।

सांसद रावलले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको आरोप पनि लगाए।

उनले एसपीपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदुतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार