शुक्रबार, असोज २१ २०७९

कुन कुन देशको पोल्टामा नेपालका ठुला ठुला जलविद्युत आयोजना?



  • नेपालदीप
  • बुधबार, साउन २५ २०७९
3.4K
SHARES

काठमाडौं। नेपालका ठुला ठुला जलविद्युत आयोजनामा भारत र चीनको आधिपत्य रहेको छ। पश्चिम सेतीमा रुचि देखाएको एनएचपीसी भारतको ठूलै सरकारी कम्पनी हो। सरकारी कम्पनीहरूलाई पैसा जुटाउन पनि धेरै समस्या हुँदैन। नत्र हामीकहाँ माथिल्लो कर्णाली आयोजना बनाउन भनेर तम्सिएको निजी भारतीय कम्पनी जीएमआरले वर्षौँदेखि पैसा जुटाउन नसकेको अवस्था छ,” जलस्रोत मामिलाका जानकार पत्रकार एवं इकागज डटकमका सम्पादक विकास थापाले भने।

नेपालका अधिकांश ठूला ठूला जलविद्युत आयोजनाको विकास गर्ने रुचि भारतीय तथा चिनियाँ कम्पनीहरूले नै देखाउने गरेका छन्।

“एउटा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ को विकासमा कोरियन कम्पनी छ भने अरू विकास गरिन लागेका अधिकांश ठूला आयोजनामा भारतीय र चिनियाँकै चासो छ,” उनले भने।

थापाका अनुसार पछिल्लो समय भारतले नेपालको ६ हजार मेगावाटभन्दा बढी क्षमताका ठूला जलविद्युत् आयोजना निर्माणमा चासो देखाएको छ।

बुढी गण्डकी
यी जलविद्युत् आयोजनामध्ये अरुण तेस्रो (९०० मेगावाट) धमाधम निर्माण भइरहेको छ भने अन्य आयोजना विभिन्न चरणमा छन्। तिनमा माथिल्लो कर्णाली (९०० मेगावाट), तल्लो अरुण (६७९ मेगावाट), अरुण-४ (४९० मेगावाट), मुगु कर्णाली (१९०२ मेगावाट) र फुकोट कर्णाली (४८० मेगावाट) रहेको उनी बताउँछन्।

त्यस्तै चिनियाँ कम्पनीहरूले पनि निर्माण गरी सञ्चालनमा रहेका, निर्माणाधीन र अध्ययन गरिरहेका गरी करिब २८६४ मेगावाटको आयोजनाहरू अघि बढाएका उनले बताए।

जसमा अध्ययन भइरहेका आयोजनाहरूमा भेरी-१ (२७० मेगावाट), भेरी-२ (२५६ मेगावाट), हुम्ला कर्णाली-१ (२३५ मेगावाट), हुम्ला कर्णाली-२ (३३५ मेगावाट) र तमोर स्टोरेज (६००) छन्।

“त्यस्तै चिनियाँ लगानीमा निर्माणको चरणमा पुगेका आयोजनाहरूमा मनाङ-मर्स्याङ्गदी (१३५ मेगावाट), तल्लो मनाङ-मर्स्याङ्दी (१३९ मेगावाट) र माथिल्लो मर्स्याङ्दी (३२७ मेगावाट) गरी ६ सयभन्दा धेरै मेगावाटका आयोजना छन्। अरू थप कतिपय आयोजनाले बिजुली उत्पादन सुरु गरिसकेका छन्।”

धेरैको चासो रहने गरेको जलाशययुक्तमध्ये पनि सबभन्दा विशाल रहेको १२ सय मेगावाटको बुढीगण्डकी आयोजनाको विकास कार्य भने पटकपटक कहिले चिनियाँ कम्पनीलाई दिइयो त कहिले सरकारले फिर्ता लियो।

पछिल्लो पटक करिब डेढ महिना अगाडि सरकारले अब बुढीगण्डकीलाई स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ।

यो आयोजना बनाउन अन्दाजी सवा तीन खर्ब रुपैयाँ लाग्ने ठानिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार