शुक्रबार, असोज २१ २०७९

हाजिर गरेर टाप कस्ने सांसदहरुलाई फेरि किन जिताउने ?



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.3K
SHARES

हाजिर गरेर टाप कस्ने प्रवृत्तिका कारण सांसद पदको गरिमामै आँच पुगिरहेको छ । सांसदहरु प्रत्येक बैठकको २ हजार रुपैयाँ भत्ता पाउँछन् । भत्ता हाजिर गरेपछि पाकिहाल्छ । भत्ता पाउने निश्चित भएपछि सांसदहरु नै टाप कस्ने प्रवृत्तिले अति महत्वपूर्ण विधेयक पारितको प्रक्रिया नै प्रभावित भएको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकका लागि आइतबार १ सय ७९ सांसदले हाजिर गरेका थिए । तर कार्यसूचीमा रहेका विभिन्न प्रस्ताव अगाडि बढाउन सांसदको गणपूरक संख्या नै पुगेन । ६९ सांसद पनि नपुगेपछि बैठक दुईदुई पटक रोकियो । अनि पूर्वनिर्धारित कार्यसूची स्थगित गरी बैठक मंगलबारका लागि सारियो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयलगत्तै उपसभामुख पुष्पा भुसालले कार्यसूचीमा रहेका व्यवस्थापिकीय विषय अगाडि बढाउन खोजिन् । साउन २५ गते गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ पेश हुन नसकेको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक अगाडि बढाउन खोज्दा नेमकिपाका सांसद प्रेम सुवालले सांसदको संख्या गन्न माग गरे ।

३ मिनेट घण्टी बजाइयो । बैठक हलबाहिर रहेका सांसद भटाभट आए । गणपूरक संख्याभन्दा बढी अर्थात् ९० सांसद गणना भएपछि कार्यसूची अगाडि बढ्यो । काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण र बिमा विधेयक पारित भयो । तर सांसदहरु बैठक कक्षमा बसिरहेनन् । संख्या पातलिन थाल्यो । सार्वजनिक ऋण व्यवस्थापन विधेयक निर्णयार्थ पेश गर्न खोज्दा सुवालले फेरि गणपूरक संख्या यकिन गर्न माग गरे ।

३ मिनेट घण्टी बजाएर गन्दा सांसदको संख्या ६७ देखियो । बैठक सञ्चालन गर्न कम्तीमा चौथाई अर्थात् ६९ जना आवश्यक पर्छ । गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो । १५ मिनेटपछि प्रक्रिया अगाडि बढाउन खोज्दा सुवालले फेरि संख्या गन्न ध्यानाकर्षण गराए ।

यसपटक पनि संख्या ६७ मात्र थियो । जसका कारण बैठक साउन ३१ गतेसम्मका लागि स्थगित गरेको सूचना सभामुख अग्नि सापकोटाले सुनाए ।विधेयक पारित गराउन संसदमा संख्या पुर्‍याउनुपर्ने दायित्व सत्तापक्षको हो । सरकार भने प्रतिपक्षले साथ नदिँदा प्रक्रिया अगाडि बढ्न नसकेको जवाफ दिएर पन्छिन खोज्छ ।

चुनावको मिति नजिकिँदै जाँदा सांसदहरु टिकटका लागि दौडिन थालेका छन् । कतिपय सांसद आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । संसदमा सांसदको रुचि कम हुँदै गएको छ । त्यसैले अब संसद कायम राख्नुको ‍औचित्य छैन भनेर सांसदहरुले नै प्रमाणित गरेका छन् । अब संसद अन्त्य गरेर सम्पूर्ण राजनीतिक शक्ति चुनावमा लाग्नुको विकल्प देखिँदैन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार