शुक्रबार, असोज २१ २०७९

तत्काल प्रहरी समायोजन गर्न माग गर्दै मन्त्रीहरु धर्नामा, आन्दोलन औचित्यहीनः प्रतिपक्षी



  • नेपालदीप
  • सोमबार, साउन ३० २०७९
1.8K
SHARES

जनकपुरधाम । मधेश प्रदेश सरकारले २९ असोज, २०७५ मा सात प्रदेशमध्ये सबैभन्दा पहिले प्रहरी समायोजन विधेयक पारित गरी प्रदेश प्रहरी गठनको बाटो खोलेको थियो । तर त्यसको चार वर्ष बित्न लाग्दासम्म उसले प्रदेश प्रहरी गठन गर्न पाएको छैन ।

संघीय सरकारले कानुन नबनाएका कारण प्रदेश प्रहरी गठन गर्न नपाएको मधेश सरकारले पटक पटक दबाव दिए पनि सुनुवाइ नभएको भन्दै आइतबारदेखि आन्दोलन सुरु गरेको छ प्रतिपक्षी दलले भने आफ्नै दलका सरकारविरुद्ध आन्दोलन गरेर नाटक देखाउनुबाहेक के हो ? भन्दै प्रस्न गरेको छ।

आइतबार मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहितका मन्त्री प्रदेश प्रमुखको कार्यालय प्रांगण्मा टेन्ट टाँगेर धर्ना दिन सुरु गरेका छन् । एक सातासम्म दैनिक दुई घण्टाका दरले धर्ना दिने र त्यसपछि पनि संघीय सरकारले नसुने अर्काे चरणको आन्दोलन गर्ने तयारी प्रदेश सरकारको छ ।

मधेश सरकारले शुरु गरेको आन्दोलनलाई प्रतिपक्षी दलले औचित्यहीन र नाटकको संज्ञा दिएका छन् । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष जितेन्द्र सोनल समायोजनमा दबाव दिन काठमाडौं केन्द्रित आन्दोलन गर्नुपर्ने बताउँछन् ।

‘प्रदेशमा जति दल सरकारमा सहभागी छ ती दल त केन्द्रीय सरकारमा पनि छन्’, उनी भन्छन्, ‘उनको साथमा गएर न आन्दोलन गर्ने हो । प्रदेशमा सबै त सरकारकै साथमा छ । यहाँ आन्दोलन गरेर के मिल्छ ? हामीलाई त नेपाल सरकारको विरुद्धमा आन्दोलन गर्नुछ ।’

नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डल यो आन्दोलनलाई ‘नाटक’ को संज्ञा दिन्छन् । उनी भन्छन्, ‘संघमा पनि त्यही दल सरकार छन् । प्रदेशमा पनि उही दलका । अनि, आफ्नै दलका सरकारविरुद्ध आन्दोलन गरेर नाटक देखाउनुबाहेक के हो ?’

साउन देखि राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार