शुक्रबार, असोज २१ २०७९

पब्जी : खेलेरै ‘रु दुई करोड’ आम्दानी



  • नेपालदीप
  • बिहिबार, भाद्र २ २०७९
3.1K
SHARES

प्रविधिको विकास, उपकरण र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल र कम्प्युटर जस्ता उपकरण प्रयोग गरी पब्जी मोबाइल, फ्री फाएर, डोटा २, काउन्टर स्ट्राइक लगायतका अनेकन् खेलमा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारहरू बताउँछन्। नेपालमा संस्था नै दर्ता गरेर ईस्पोर्ट्सको प्रवर्धन गरिरहेको कम्पनी मध्य एक हो डीआरएस। यसको व्यवस्थापन २५ वर्षका सङ्गीन भट्टराईले गर्छन्। हाल यो कम्पनीले पब्जी मोबाइल प्रतियोगिताहरूमा सहभागिता जनाउँछ। डीआरएससँग ६ जना खेलाडी आबद्ध छन्। त्यस बाहेक टोली व्यवस्थापनका लागि तीन जना अनि ग्राफिक्स म्यानेजरका रूपमा दुई जना कर्मचारी छन्। खेलाडी लगायतलाई ललितपुरको नख्खुस्थित एक घरमा आवासीय सुविधा सहित बुट क्याम्पमा राखिएको छ। ”हामीले पछिल्लो समय भएका अधिकांश प्रतियोगितामा भाग लिएका छौँ। पहिलो चरण भनेको दक्षिण एशियास्तर हो। तर अहिले भने बिस्तारै त्यो विस्तार हुँदै छ, ” भट्टराईले भने।

हालसालै यो टोलीले पब्जी मोबाइल नेपाल श्रृङखला जितेको छ। १० लाख रुपैयाँ कुल पुरस्कार रहेको उक्त प्रतियोगितामा दोस्रो हुँदै डीआरएसले डेढ लाख रुपैयाँ जित्यो।गत वर्ष १ करोड ६० लाख रुपैयाँ आफूहरूले जितेको भट्टराईले दाबी छ। ‘गत वर्ष भरीको सबै जोड्दा यति रकम प्राप्त गरेका हौँ,” उनले भने। ”यो आधिकारिक खेलहरूको मात्रै कुरा हो। सबै खेल जोड्यो भने २ करोड रुपैयाँ भन्दा बढी हुनसक्छ।” त्यस्तै गत वर्ष भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफलाई ‘५४,५०० डलर दिएको’ डीआरएसको दाबी छ।

जानकारहरूका अनुसार दर्ता गरिएका संस्थाहरूलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले तलबका रूपमा निश्चित रकम प्राप्त गर्छन्। त्यस बाहेक प्रतियोगिता जितेको अवस्थामा निश्चित प्रतिशत रकम संस्थाले राखेर अरू खेलाडीहरूमा वितरण गरिन्छ। सामान्यतया खेलाडीहरूको तलब ३० हजारदेखि एक लाख हुन्छ। बढी खेलाडीहरू १९ देखि १५ वर्ष उमेर समूहका रहेको बताइन्छ। सुरुवाती समयमा सोखका रूपमा वा मनोरञ्जनका लागि यस्ता खेलमा रमाउनेहरूले कतिपयले त यी खेलमै भविष्य देख्न थालेका छन्।

त्यसको कारण हो खेलेमा रमाउँदै गर्दा हुन थालेको आमदानी। इन्टरनेटको माध्यमबाट एक – एक जनादेखि समूहगत रूपमा खेल खेल्न सकिने हुँदा हाल राष्ट्रिय, क्षेत्रीय अनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भइरहेका छन्।
त्यसता कतिपय प्रतियोगिता जित्नेले ५५,००० अमेरिकी डलर (हालको विनिमय दर अनुसार ७० लाख रुपैयाँ भन्दा बढी) प्राप्त गर्ने जानकारहरू बताउँछन्।

नेपालमा दर्ता गरेर सञ्चालन भएका ईस्पोर्ट्स कम्पनीको सङ्ख्या २०को हाराहारीमा हुन सक्ने जानकारहरू बताउँछन्।
नेपालमा खेलिने ईस्पोर्ट्स अन्तर्गतका खेलहरूमा सबैभन्दा बढी बोलवाला पब्जी मोबाइलको छ।त्यसले गर्दा आर्थिक रूपमा पनि पब्जी खेल्ने खेलाडीहरूले तुलनात्मक र रूपमा ‘राम्रो’ कमाइ गरिरहेका छन्। एलिमेन्ट्रिक्स, हाइ भोल्टेज, स्काइलाइट्स गेमिङ, डेराइ गाइज, ट्रेन्ड टु कि, डिआरएस र ज्यानमारा जस्ता टोलीहरूले त तलबै दिएर खेलाडीहरूलाई राखेका छन्।

त्यस्तै डोटा र सीएस: गो खेलका लागि जर्मनीको कम्पनी माई रिभेन्ज इभीले केही समय अघिसम्म नेपालका खेलाडीहरूलाई सहयोग गरेको डङ्गोल बताउँछन्।

अन्य खेलमा जस्तै ईस्पोर्ट्सका खेलाडीहरूले पनि आफ्नो टोली फेरिरहेका हुन्छन्।
तर झट्ट हेर्दा ईस्पोर्ट्समा ‘धेरै’ पैसा भए जस्तो देखिए पनि समग्रमा नेपाली खेलाडीहरूको आर्थिक अवस्था त्यति राम्रो नभएको जानकारहरू बताउँछन्। कतिपय खेलाडीले यूट्यूब र फेसबुक लगायतका प्लेटफर्ममा विभिन्न खेलहरू लाइभ स्ट्रीम गरेर पनि आम्दानी गरिरहेका छन्। तर त्यो सङ्ख्या ठूलो भने छैन। ”कतिपय त स्ट्रिमिङ सेलिब्रिटीका रूपमा पनि देखिएका छन्। कतिपयले हिन्दी भाषामा स्ट्रिमिङ गरेर पनि राम्रै दर्शक बटुलेका छन्,” डङ्गोलले भने।

ईस्पोर्ट्सबाट पैसा आर्जन गर्ने अर्को पाटो हो ‘कास्टर’को भूमिका निर्वाह गर्ने। फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरूमा ‘कमेन्टेटर’ले निर्वाह गर्ने भूमिका ईस्पोर्ट्समा ‘कास्टर’हरूले निभाउँछन्। विभिन्न प्रतियोगिताहरूमा खेलबारे नेपालीमा व्याख्या गरेर नेपालीहरूले आम्दानी गरिरहेका छन्। त्यस बाहेक रेफरी, खेल व्यवस्थापन लगायतका विधामा पनि केहीले काम पाइरहेको बताइन्छ।

परिवारको दृष्टिकोण कस्तो?
ईस्पोर्ट्समा रमाउनेहरूले लामो समय स्क्रिनमा बिताउनुपर्ने र त्यसले गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्ने चिन्ता अभिभावक तथा सरोकारवालाहरूले उठाउँदै आएका छन्। केही समय अघि सांसद आशाकुमारी विकले पब्जी र फ्री फायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने विषय सदनमा उठाएकी थिइन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन। यस्ता खेल अत्यधिक खेल्नबाट परिवारले रोक्दा अप्रिय घटना घटेको विवरणहरू पनि सार्वजनिक भएका छन्। अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।

तर पछिल्लो समय सूचीकृत संस्थाहरूबाट खेल्ने खेलाडीहरूको हकमा भने अवस्था बिस्तारै फेरिँदै गएको भट्टराई बताउँछन्। ”आफ्नो छोराछोरीलाई गेम खेल्न कै लागि कतै गएर बस् भनेर त कसैले पनि पठाउँदैन,” उनले थपे। व्यवसायकी रूपमा यस्ता खेल खेल्ने युवा मध्ये कतिपयले खेलसँगै अध्ययन गरिरहेका छन्। कतिपय पढाइबाट केही समय विश्राम लिएर यो खेलमा लागेका छन्। भट्टराई आफै पनि पहिले ईस्पोर्ट्समा रमाउँथे। पछि उनले केही समय जागिर पनि गरे। तर त्यसमा रमाउन सकेनन् र अन्य दुई जना साझेदार सहित डीआरएस सुरु गरे।

डङ्गोलका अनुसार खेलाडीहरूलाई खेलकै लत नपरोस् भनेर २४सै घण्टा खेल्दै मा राम्रो नभइने लगायतका कुराहरू बारे सङ्घले जानकारी गराउने गरेका छन्। त्यस्तै ईस्पोर्ट्सबारे विकास भएका पाठ्यक्रम पनि खेलाडीहरूलाई वितरण गर्ने तयारी गरिएको सङ्घको भनाइ छ। त्यस बाहेक विभिन्न देशमा यस्ता खेलमा ‘स्लीप टाइम’ कायम गरिएको हुन्छ। अर्थात् एउटा आइडीबाट निश्चित समय खेल खेलेपछि अर्को निश्चित समयसम्म खेल्न सकिँदैन। नेपालमा पनि यस्तै खाले प्रावधान कायम गर्नका लागि सरकारी निकायहरूसँग सहयोग मागिरहेको डङ्गोल बताउँछन्। त्यस्तो प्रावधान सबै डिजिटल खेलमा लागु गर्न नसकिए पनि केहीमा भने सम्भव रहेको उनको भनाइ छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार