आइतबार, मंसिर ११ २०७९

काठमाडौं महानगरले भन्यो – चार दिनभित्र फोहोर व्यवस्थापन हुन्छ



  • नेपालदीप
  • बुधबार, भाद्र ८ २०७९
1.8K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेको फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन् ।

प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छ, त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ ।

यसअघिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले स्थानीयसँग आग्रह गरिन्।

केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड त कहिले सडक नै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् ।

काठमाडौं महनगरले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहोर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

फोहोर व्यवस्थापन थप चुनौती बन्दै गएपछि कामपाले कुहिने फोहोरलाई उपत्यकाभित्रै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको मात्रै पाँच सय मेट्रिक टन रहेको छ ।

यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।

हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौंका ३२ वडा छन् । यसमा मुख्य ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

रासस

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट