शुक्रबार, असोज २१ २०७९

हाम्रो तीज : सबैको तीज



  • नेपालदीप
  • सोमबार, भाद्र १३ २०७९
1.2K
SHARES

तीज एउटा आध्यात्मिक पर्व हो । प्रेम तथा सद्भावको लागि हो । पतिपत्नी र परिवार वीच प्रेम वर्धनका लागि हो । संगी-संगिनीहरूसंग पुनर्मिलनका लागि हो । माइतीहरूसंग बाल्यकाल साट्नका लागि हो । घरायसी बन्धनबाट उन्मुक्त भएर दाजुभाईसंग रम्नका लागि हो । बोयफ्रेन्डसंग झिल्लिन, जिस्किन वा केटीसंग मस्किदै गाइने गीतहरू कथंचित तीजको अपमान हो । यो धर्म, संस्कृति. परम्पराप्रतिको को चरम अज्ञान हो । यदि गीतहरूले दिदीबहिनीहरूलाई दाजुभाईसंग नचाएको भए सुनमा सुगन्ध नै हुन्थो । हरेक चेलीमा आफ्नो बाल्यकाल फेरी फर्केर जवान हुन्थ्यो ।

कथंचित म पुरुष भएर महिलालाई सल्लाह दिनु उचित हुँदैन भन्ने पनि कुरा आउलान् । तर जसले जानेको छ उसले नै बोल्ने हो । सत्य बोल्दा डराउनु पर्दैन । वैदिक संस्कृतिको महान परम्पराको अंग भएकोमा गर्व गर्छु । हाम्रो वैदिक संस्कृति जीवन्त छ । तीजका रूपमा हाम्रा आमा, छोरी, बुहारी, दिदीबहिनीसंग बाल्यकाल फर्किने समय हरेक वर्ष जुर्छ ।

तथाकथित तीज र तीजपर्वका आलोचकहरूलाई भन्न चाहन्छु “तीज वैदिक पर्व हो जुन आत्माको गहिराईबाट स्वत: निक्लेको हो । तिमीहरूको फुस्रे अधिकारवाद, प्रगतिशीलताको यहाँ कुनै काम छैन । तिम्रा विचारहरू समाजलाई तोड्नका लागि हुन्छन् । हाम्रो विचार जोड्नका लागि हो । बरू, आउँ, हामी संगै मिलेर तीज मनाऊ । दूई चार दिन भए पनि मान्छे बनेर रमाउने प्रयन्त गर । विश्वास गर, तिम्रो घृणावादमा भन्दा हाम्रो तीजको प्रेम, श्रद्धा र विश्वासमा मान्छे झछल्किन्छ ।

राम्रो लुगा लाउँनु राम्रो कुरा हो । बाल्यकालका साथीसंगी, माइतीका दाजुभाईसंग रमाउनु राम्रो कुरा हो । दुई चारदिन भए पनि नाचगान गरेर मानसिक स्वास्थ्य प्राप्त गर्नुझन् राम्रो कुरा हो । मिठो-मसिनो संगीहरूसंग बसेर खानु को आनन्द छुट्टै हुन्छ । दिदीबहिनीहरूले तीजमा खुसी मनाएको देखेर हामी पनि खुसी हुने मौका मिल्छ ।

तर यो आध्यात्मिक र प्रेममयको पर्वको अवसरमा घृणावाद र कित्ताकाट गरेको सुन्दा चित्त दुख्छ । मातृशक्तिहरूले हातमा रक्सी लिएर नांचेको देख्दा मन रून्छ । लुगा र पैसाको अहङ्कार प्रदर्शन गरेको देख्दा तीज नै नआएको भए हुन्थ्यो जस्तो लाग्छ । एस्तो अहङ्कार प्रदर्शन गर्नुभन्दा बरू एकजना गरीव चेलीलाई “तीज” मनाउने जोहो गरिदिए कति आशिर्वाद मिल्थ्यो ।

बोयफ्रेन्डसंग जिस्किंदा मात्र रमाइलो हुन्छ, रक्सीमा मातिंदा मात्र सुख मिल्छ, सेक्सी गीत गाएर मात्रै तीज रमझम हुन्छ भन्ने सोचको तीजसंग कुनै नाता छैन । नजान्नु एउटा कुरा हो । जानेर लत्तो छोड्नु अर्को । रक्सीले मान्छे प्रगतिशील वा मोडर्न बन्थ्यो भने बोतल भन्दा प्रगतिशील केही हुँदैन । बोयफ्रेन्डसंग नाच्न तीज नै किन चाहियो र ? सेक्सी गीत गाउँन तीज कुर्नु पर्दैन । बुझ्ने पनि आफैले हो बुझाउने पनि आफैले हो ।

फेरी पनि भन्छु, तीज तीजमा ब्रत वस्ने र नवस्ने दुबैको लागि हो । प्रेम र सद्भाव साटासाट गर्नका लागि हो । “तीज हिन्दू महिलाको पर्व” भनेर कित्ताकाट गर्नेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरौँ । तीज नेपालीहरूको पर्व हो भन्नेहरूलाई स्वागत गरौँ ।

समय बदलिएको छ । तीजको शैली, गीतका बोलहरू वदलिएका छन् । यसमा गुनासो गर्नु पने केही छैन । आज भोली मोबाइल, टिवीले गर्दा अमेरिका पनि टाढा रहेन । न पचास वर्ष अगाडीको समाज नै छ । समाजका सवालमा परिवर्तन प्राकृतिक कुरा हो । तर तीजको उद्देश्य बदलिएको छैन । शास्त्रहरू फेरिएका छैनन् । हाम्रो धार्मिक र सांस्कृतिक मुहान परिवर्तन भएको छैन । रमाइलो चाहने मन होस् अथवा आफ्नो, आफ्ना छोराछोरी, पतिपत्नी वा परिवारको भलो चाहने मन वदलिएको छैन । तेसैले तीज आउँदासाथ खुसी, माइतीको माया सबै एकैसाथ जोडिएर आउँछ । तीज मान्नेहरूले संस्कृतिमा आधात्मिकता जोडिदिए पुग्छ ।

आफ्नो धर्म-संस्कृति र परम्पराको जरो काटेर खुसी मिल्नेहरू पनि हाम्रो समाजका अभिन्न अंग हुन् । उनीहरूले आलोचना नगरी दिने हो भने हामीले आफ्नो वास्तविकता भुल्दै जान्छौं । याद राखौं, दीसा गरेपछि सबैभन्दा पहिले मलद्वार धोइन्छ । कृतघ्नहरूले हामीलाई पुन:पुन: आलोचना गरेर सफासुघ्ग्घर र आफ्नो धर्मसंस्कृतिप्रति अझैं सजग र स्वामित्व ग्रहण गर्न अभिप्रेरित गर्छन् ।

आज भोली मलाई ज्यादै खुसी लाग्छ किनभने तीजको सीमानाहरू खुलेका छन् । मिडियाले तीजलाई विश्वब्यापी बनाएको छ । नेपालीले मात्र होइन चाहना हुने जुनसुकै महिलाका लागि तीज सजिलो भएको छ । धर्म नै नमान्ने साम्यवादीहरूले समेत तीजमा रमाउन थालेका छन् । के आस्तिक के नास्तिक, आज तीज सबैको बनेको छ । सीवाय – घृणावादीहरूको ।

हिजोसम्म तीज मनाउने र रमाइलो गर्ने धेरै चेलीहरूको शरीर चर्चहरूमा बन्धन बनेको छ । सकिन्छ भने नजिकको चर्चमा गएर होस् वा छिमेकी इसाई परिवारको घरमा, उहाँहरूलाई प्रेमपूर्वक निमन्त्रण दिएर तीजमा समावेश गर्नुहोस् । आखिर, मन त नेपाली नै हो ।

तीजको पर्वमा समावेश हुन छिमेकी इसाई-महिलालाई निमन्त्रण गर्न पटक्कै न विर्सनु होला है । हाम्रो जरोकिलो निमन्त्रण हो, तिरस्कार होइन । हाम्रो ढोका कुनै पनि हालतमा बन्द हुनुहुँदैन । हिन्दू संस्कृतिको यो पर्व “असली नारीदिवस” हो किनभने एसले नारीलाई अहङ्कार होइन प्रेम दिन्छ, खुसी दिन्छ र समर्पण दिन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार