शुक्रबार, असोज २१ २०७९

तीज विशेष: युवाको आदर्श ‘रोमिओ-जुलिएट’ भन्दा धेरै नै उत्कृष्ट छ शिव-पार्वतीको प्रेमकथा



  • नेपालदीप
  • मंगलबार, भाद्र १४ २०७९
1.5K
SHARES

काठमाडौँ। हाम्रा संस्कृतिहरु आफैमा जीवन्त छन्। हरितालिका तीजलाई महिला विरोधी भनेर प्रचार गर्ने चलन झ्याम्मिदै गएको छ। एकदमै हवाई तर्कको आधारमा तीजलाई नकारात्मक देखाइन्छ। कोहिँ महिला आधुनिक बन्ने होडमा, कोहिँ अन्जानमा तीजलाई विरोध गरेर एक मात्र हिन्दू अधिराज्य नेपाललाई सिद्धाउने क्रिस्टियन मिसिनरीहरुको एजेण्डाको भरिया बनेका छन्।

तर साच्चै हरितालिका तीजको महत्व के हो त? हृदयबाट बुझ्नु पर्ने कुराहरु तर्कको आड भरोसा लियेउ भने हामी भड्किन्छौं। प्रेम हृदयबाट हुन्छ र हृदयबाट जन्मिएको कुरा हो तीज। यो चाड प्रेमको उच्चतम नमुना हो। रोमिओ-जुलिएट र मुनामदन भन्दा धेरै नै उत्कृष्ट कथा छ तीजको पछाडी। यो प्रेम विजय उत्सव हो। यो एक नारीले जितेको कथा हो। आफ्नो इच्छा अनुसारका प्रियसी प्राप्त गर्नको लागि एक नारीले गरेको त्याग र समर्पणको कथा हो।

यो कथा प्रेमलाई शारीरिक सम्बन्धमात्र सोच्ने पुस्ताको आदर्श कथा नहुन सक्छ। तर जसले प्रेमलाई पवित्र मान्यो। र, जीवनलाई प्रेममय बनाउने एउटा संकल्पमात्र लियो उसलाई पार्वती आदर्श लाग्ने छिन्। यो नारीको कथा होइन प्रेमीको कथा हो।

यो विद्रोहको कथा हो। आफ्ना इच्छा र आकांक्षाको लागि। आफ्नो प्रेमको लागि। आफ्नो संकल्पको लागि। मूल्यमान्यता विरुद्ध। परिवार विरुद्द। मोहवस धनवानलाई विवाह गरिदिने प्रवृत्ति विरुद्द।

नारीले प्रेमको लागि लिएको कठोर निर्णय छ यस भित्र। धनको आश छोडेर एउटा भस्म लेपन गरेको जोगीको पछाडी लाग्ने कठोर निर्णय। जीवनमा सुख वैभव छोडेर ज्ञान र प्रेमका लागि आर्पित गर्ने निर्णय। संसारका स्वामी विष्णुलाई छोडेर संसारबाट पर रहने कैलाशपति शिवसँग रहने निर्णय।

नारीको मात्र तपस्या छैन। सतीलाई पर्खेर बसेका शिवको प्रतिक्षाको पनि उतिक्कै महत्व छ। र त हरितालिका तीज विवाह उत्सव हो। प्रेमले जितेको दिन।

हिन्दू धार्मिक ग्रन्थहरु अनुसार राजा हिमवतले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बस्न बसिन्।

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो ‘तीज’को रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। यो बर्तलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र साथीहरू भन्ने हुन्छ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस बर्तलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।

पौराणिक कालदेखि चलिआएको तीजको बर्तकथा यसप्रकार रहेको छ । यो बर्तमहात्म्यको कथा भगवान शिवले पार्वतीलाई यसप्रकार भन्नु भएको थियो।

भगवान शिव उवाच, ‘हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे ।

एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजी तिम्रा घरमा आउनुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाईंँको राय जान्न चाहन्छु ।”

नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो, “श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्।”

नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ । तिम्रो दुःखको कुनै ठेगान भएन । अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले ।

तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -“मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो । म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन।”

तिम्री ती सङ्गीनी अति नै चङ्ख र समझदार थिइन्। उनले तिमीलाई भनिन् – ‘प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ। नारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ। दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न। मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ।’

तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो – “मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?”

यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ । भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ ।

त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ – “मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस्।”

त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी सहेलीसहित बर्तको समापन गर्यौ ।

त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ – “पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु।”

तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो।

हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन बर्त बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यो बर्तको महत्व यसकारणले पनि महत्वपूर्ण छ । जसले यो बर्त निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार