शुक्रबार, असोज २१ २०७९

भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पते: ब्रतम् : अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस्



  • नेपालदीप
  • मंगलबार, भाद्र १४ २०७९
3.6K
SHARES

तीज विशेष
भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पते: ब्रतम् : अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस् भन्ने प्राचीन शास्त्रको बचन रहेको प्राडा कान्ता भट्टराइले उल्लेख गरेको सुन्न पाइयो | मलाई सत्य यही नै लाग्छ |

वैवाहिक दाम्पत्यमा विश्वास नगर्ने, वैदिक सनातन धर्मका धार्मिक, सांस्कृतिक परम्पराहरूसंग सधैं शत्रुतापूर्ण पूर्वाग्रह राखेर व्यबहार गर्ने र व्यभिचारलाई “अधिकार” वा “प्राकृतिक”को जामा पहिर्याउनेहरूका लागि जीज मात्रै होइन जुनसुकै वैदिक, जैनी र बौद्ध चाडवाड आए पनि बडो मानसिक तनाव नै हुन्छ | यस्ता दु:खीहरूलाई गौरीशंकरले कल्याण नै गरूँन् |

आफ्ना पिताले पतिको अपमान गरेको सहन गर्न नसकेर यज्ञकुण्डभित्र प्रवेश गरेर योगवलले प्राण त्याग गरेकी सतिले हिमालयकी छोरीका रूपमा पूनर्जन्म लिएर पार्वतीका रूपमा पुन: शिवलाई नै पतिका रूपमा प्राप्त गर्ने तपस्या पूर्ण भएपछि भदौं शुक्ल तृतीयाका दिन भगवान शिवले पार्वतीलाई दर्शन दिएर पत्नीका रूपमा स्वीकार गरेका र पछि वैदिक विधिबाट विवाह गरेका थिए |

भगवती पार्वतीले तपस्या गर्दा पक्कै पनि रक्सी, मासुजस्ता ब्रतकालमा बर्जित खाद्य सामग्री वा गरगहनाको प्रतियोगिता गर्नुभएको थिएन होला | सतिको मृत शरीरलाई काँधमा बोकेर भारतवर्षभरि घुमेका शिव र तिनै शिवलाई पतिका रूपमा प्राप्त गर्न अर्को जन्म ग्रहण गरेकी पार्वतीको जस्तो प्रेम विश्वमा कुनै पनि “मिथ” पाइन्न |

हामी नेपालीहरूको सौभाग्य मान्नुपर्छ कि महादेवी चण्डीके पर्वत (जिल्ला)मा जन्म ग्रहण गरेर हाम्रो गौरव बढाउनु भएको छ | विवाहित दम्पतिका बिचमा कस्तो महान् प्रेम हुनुपर्छ भन्ने प्रतिमान स्थापित गरेका छन् | विवाहलाई “यौनजन्य क्रियाकलाप वैधानिक लाइसेन्स” मात्र बुझ्नेहरूले शिवपार्वतीको आदर्शदाम्पत्यको अर्थ बुझ्नै सक्दैनन् |

एकपत्नी ब्रत र एकपतिब्रतलाई “अन्धविश्वास” ठानेर हेला गर्नेहरूको दाम्पत्य जीवन पूर्णपूर्ण देखिन्छ भने त्यो जवानी र पैसा हुँदासम्म हो | तीजको पर्वले पतिपत्नी दूवैलाई शरीरसंगमात्र होइन आत्मासंग पनि एकआपसमा गहिरो प्रेम हुनुपर्छ भन्ने शिक्षा दिन्छ |

तीज सात्विक पर्व हो | ब्रत पनि राख्ने र दरमा मांसमदिराको प्रयोग गर्नु शास्त्र र लोकाचार बिरुद्धको कर्म हो | असलमा, पतिपत्नी दूवै मिलेर भगवान् गौरीशंकर संग आफ्नो दाम्पत्य जीवनको पूर्णसफलताको लागि संयुक्तरुपमा गरिने ब्रत नै तीजको वास्तविक स्वरूप हो |

ब्रतको अर्थ भोकै बस्नु पर्छ भन्ने होइन | यदि श्रद्धा छ भने निराहार बसौं | स्वास्थ्यका कारण सकिन्न भने सात्विक अन्न वा फलफुल खाँदा हुन्छ | श्रद्धाका मामिलामा जवर्जस्ती हुँदैन | ब्रत भगवान गौरीशंकरको प्रसन्नताका लागि हो, पतिपत्नी दूवैले मिलेर गर्नुपर्छ | आफ्नो दाम्पत्य जीवनलाई भन्दा अधिकारलाई महत्वपूर्ण ठानेर पारिवारिक जीवनलाई तिलाञ्जली दिनेहरूका लागि तीजहरू सधैं पीडादायक हुन्छन् |

रह्यौ कुरा रमाइलो, वैदिक संस्कृतिमा नाट्यशास्त्र तथा गान्धर्ववेदले स्वीकृति प्रदान गरेकै छ | तीजले पारिवारिक मिलन, भलाकुसारी तथा आत्मीयता बढाउन राम्रो अवसर दिन्छ | यसको उपयोग गर्नेपर्छ | बूढाबूढी हुँदा आफ्नो माइतीघर पुग्न पाउँदा हरेक महिलाहरू आफ्नो बाल्यकालमा फर्कने अवसर प्राप्त गर्छन् | अस्वस्थ्य प्रतिस्पर्धा र देखावटीपनले गाडिएर बसेको मानसिक तनाव, निराशा, चिन्ता आफन्तसंग भेट्दा केही दिन, केही घण्टाका लागि भए पनि साम्य हुन्छ |

जनैपूर्णिमा पुरुषहरूका लागि अनिवार्य भएझैं महिलाहरूका लागि ऋषि पंचमीचाहिं अनिवार्य नै हुन्छ | ऋषि पंचमी “ऋषिहरूप्रतिको गुलामी” होइन आफ्ना पुर्खाहरूप्रति धन्यवादसहितको वैदिक कर्म हुन् | आफ्नो पारिवारिक जीवन ध्वस्त बनाएका मान्छेअरूको कुरा सुनेर आफ्नो मौलिकता छोड्नु हुँदैन – काग कराउंदै गर्छ, पीना सुक्दै गर्छ |

रह्यो कुरा मासुरक्सीको दर खानेहरू तथाकथित मोडर्नहरूलाई – भीरमा लड्न लागेको गोरूलाई राम राम भन्न सकिन्छ, कसैले पनि काँध थाप्न सकिन्न |

-सम्पूर्ण श्रद्धालुहरूमा तीज तथा ऋषि पंचमी पर्वको अवसरमा हार्दिक शुभकामना – विशेष गरेर सम्पूर्ण नारीहरूमा |

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार