मंगलबार, माघ २४ २०७९

घरमा सुतेकै बेला चितुवाले गर्‍यो आक्रमण, आमाछोरा घाइते



  • नेपालदीप
  • मंगलबार, भाद्र १४ २०७९
3.2K
SHARES

तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आमाछोरा घाइते भएका छन्। घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शंकर गुरुङ रहेको प्रहरीले जनाएको छ।

घरमै सुतिरहेका बेला सोमबार चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। निर्माणाधीन घर भएकाले झ्यालढोका नभएको घरमा उनीहरू सुतेका बेला चितुवा छिरेको थियो।
चितुवाले सुरूमा छोरालाई आक्रमण गरेको र चितुवा लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो। घाइते दुवै दमौली अस्पतालमा उपचारपश्चात् घर फर्किएको अस्पतालले जनाएको छ।

जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ। बस्तीछेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्ने गरेको छ। जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतंक छ। गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए। उनको चितवनमा उपचार भइरहेको छ। ती बालकको सफल शल्यक्रिया गरिएको छ।
मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकार अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जंगल फँडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।

चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको शिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ।

चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडीहरू सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल गर्न वन कार्यालयले अनुरोध गरेको छ।

चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार