शुक्रबार, असोज २१ २०७९

११ छोरीपछि छोरा जन्माउने दम्पतीको अनुभव



  • नेपालदीप
  • मंगलबार, भाद्र १४ २०७९
1.3K
SHARES

जाजरकोटकी एक महिलाले पतिलाई ‘सौता ल्याउन’ गरेको बिन्तीले उनीमाथि परेको सामाजिक दबाव र उनले बेहोरिरहेको पीडा कति भयानक थियो अभिव्यक्त गर्छ।

उनको पति मोतीराम भने ‘अपुतो’ भनी ‘समाज’ले गिज्याएको सहेर बस्छन् तर दोस्रो बिहे गर्दैनन्। तर तीन दशक लामो दाम्पत्य जीवनमा यस वर्षको साउन ३ गतेले त्यो दम्पतीको ‘असह्य पीडा हरण’ गरिदिएको छ।

छोरा जन्मेको खबर सुन्दाको क्षण सम्झिँदै कोपिला रानाले भनिन्, “डाक्टरले छोरा जन्मियो भन्ने बित्तिकै एक छिन त विश्वास नै लागेन, सपना देखे जस्तो भयो। कहाँबाट छोरा आयो होला भन्ने लाग्यो।”

ती नवजात शिशु कोपिलाको कोखबाट जन्मिएका १२ औँ सन्तान हुन्। १२ वर्षकै उमेरमा विवाह गरेकी कोपिलाले १७ वर्षको हुँदा जेठी छोरीलाई जन्म दिएकी थिइन्। तिनै जेठी छोरी विमलाका अनुसार सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएर बिहान आठ बजेतिर बेहोस भएकी आमा दिउँसोतिर मात्र होसमा आएकी थिइन्। छोरा नहुँदा सबै तिरबाट लामो समयसम्म अपहेलनापूर्ण व्यवहार खेप्नु परेको तितो अनुभव सँगालेको बताउने कोपिलाले ४२ वर्षको उमेरमा छोरा पाउँदा सबै दुख र पीडा बिर्सिएको सुनाइन्।

छोराको आशामा ११ जना छोरी जन्माउनुलाई राना दम्पतीले ‘बाध्यता’ भनेको छ। मरेपछि काज किरिया गर्ने र पुस्ता धान्ने छोरा हुन भन्ने बुझाइले गर्दा कर्णालीमा छोरीमाथि विभेद हुने गरेको बताइन्छ।

छोरा नजन्माएको भन्दै कतिपय महिला घरेलु हिंसाका सिकार समेत हुने गरेका छन्। छोरी जन्मिँदा उनको घरआँगनमा पाइलोसम्म नटेकेकाहरू अहिले छोरालाई दुबोपाती लगाउन तँछाडमछाड गरिरहेका छन्। छोराको मुख हेर्नेले दिएको पैसा नै २०-२५ हजार भएको छ। गाउँका बासिन्दाले खुसीयालीमा ‘राँगो ढालेर भोज र नाचगान गर्दै रमाइलो गर्न’ आग्रह गरिरहेका छन्।

तिनै कतिपयले विगतमा उनलाई सुर्खेत र नेपालगन्जका अस्पताल गएर गर्भ जाँच गराएर छोरी भए फाल्न सुझाउँथे। ‘पाप लाग्छ’ भन्ने सोचेर त्यो कुरा नमानेका कारण ११ छोरी जन्मिएको उनको भनाइ छ। तीन जना छोरीको भने सानैमा मृत्यु भयो। जेठी र माइली छोरीको विवाह पनि भइसकेको छ। छ जना छोरीहरू पढ्दै छन्।

सबै छोरीहरूलाई घरमै जन्मिएका हुन्। तर ‘बुढेसकालमा घरमा सुत्केरी हुँदा मरिन्छ’ कि भन्ने लागेर यसपालि महिना दिनअघि नै चिकित्सकको सम्पर्कमा पुगेको उनी बताउँछिन्। ‘सौता’ ल्याउन श्रीमानलाई सुझाव “सबै छोरीहरूलाई घरमै जन्माउँदा स्वास्थ्यमा केही समस्या आएन। तर छोरा जन्मिँदा भने अत्यधिक रक्तस्राव हुँदा झन्डै मरेकी थिए, ” कोपिला भन्छिन्। “दैवले पहिले नै अस्पताल ल्याएछ। गाउँमै भए मरिँदो रहेछ।”

उनलाई छोरा नहुँदा हेला गरिने अनुभव राम्रैसँग भयो। भन्छिन्, “आफ्नो लागि भन्दा पनि समाजको लागि छोरा चाहिँदो रहेछ। त्यसैले छोरा नजन्माई नहुने बाध्यता आइलाग्यो।”

उनका भनाइमा दसैँतिहारजस्ता चाडबाडका बेला छोरीहरूले दाजुभाइ छैनन् भनेर नरमाइलो अनुभूति गर्थे अनि अप्ठ्यारो मानेर आफन्तसँग टिका लगाउन जान्थे।

उनी भन्छिन्, “यस पटक पनि छोरी नै जन्मिएको भए छोराको लागि सोच्न सकिन्थ्यो। अब अर्को जन्माउँदिन, यति भए पुग्छ।”

उनलाई गाउँ, समाज र आफन्तले कुरा काटेको सहन निकै गाह्रो भयो। श्रीमान् मोतीराम रानालाई छोराको लागि भए पनि अर्को बिहे गर्न बारम्बार बिन्ती बिसाइन्। तर श्रीमानले सुने नसुनेझैँ गरे।
भगवान् ‌ओर्लिए जस्तो
छोरा हुने/नहुने त पुरुषमा भर पर्छ नि? कोपिला रानाको जबाफ छ, “खै त्यो त के थाहा। छोरा पाइन भनेर सबैले मलाई नै गाली गर्थे। भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाएर बसेँ।”

४८ वर्षीय मोतीरामले त छोरा नहुँदा समाजबाट श्रीमतीले भन्दा चर्को पीडा आफूले भोगेको ठानेका छन्।

उनी कसैले केही भनिहाल्ने हुन कि भनेर २-४ जना बसेको ठाउँमा अप्ठ्यारो मान्थे। गइहाल्यो भने ‘अपुतो’ भन्दै गिज्याउने गरेको तितो अनुभव उनीसँग छ।

“अहिले धेरै नै खुसी छु,” उनले भने, “छोरा जन्मिँदा भगवान् नै ओर्लिए जस्तो लागेको छ। सायद छोरा नजन्मेको भए बाँचुन्जेल अवहेलना सहेर बस्नु पर्थ्यो।”

जेठी छोरीले फोनमा ‘भाइ जन्मियो’ भन्ने सुनाउँदा उनले पत्याएनन्, खुसी पार्नकै लागि भनेको होला भन्ने सोचे।

आफ्नै आँखाले छोरो देख्दा भने खुसीका आँसु खसेछन्।’विवशता’ले जन्माएको ‘विवश’?
‘छोरा नहुनेले किन पैसा कमाउने, किन दुख गर्ने’ भनी प्रश्न गर्नेहरू प्रशंसा गर्न थालेका छन्।

‘अरूका कारण’ छोरा जन्माउन विवश भएको बताउने उनीहरूले छोराको नाम नै विवश राखेका छन्।

ठूलो बुवाका चार छोरा भएकाले आफूहरूलाई दाई भाइको अभाव महसुस नभए पनि अरूले कुरा काट्दा धेरै नै चित्त दुखेको मोतीरामकी जेठी छोरी विमला बताउँछिन्।

“दाजुुभाइ नहुँदा बाबाआमाजस्तै हामीले समेत अपमान सहनु पर्‍यो,” उनी भन्छिन्, “समाजको व्यवहारबाट आजित भएर धेरै पटक रोएका थियौँ।”
पहिला बुढेसकालमा बुबाआमाको सहारा को बन्ला भनी पिरोल्ने चिन्ता भाइ जन्मेपछि भने अन्त्य भएको विमला सुनाउँछिन्।

राना दम्पती र उनका छोरीहरूले मात्र होइन, छोरा नभएकै कारण कर्णालीका अरू पनि यस्ता धेरै दम्पती र उनका परिवारले समाजबाट अपमान र तिरस्कारपूर्ण व्यवहारको सामना गरेको पाइन्छ।
अन्धविश्वासको कारण
मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति मानवशास्त्री प्राध्यापक पदमलाल देवकोटाले अन्धविश्वासले गर्दा नेपाली समाजमा छोराप्रतिको मोह अझै कायमै रहेको बताए।

“आदिमकालदेखि चल्दै आएको अन्धविश्वासको अवशेषले गर्दा मानिसको सोचाइमा परिवर्तन नआउँदा छोराछोरीबीचको विभेद कायमै छ,” उनले भने।

“शिक्षा र सशक्तिकरण कार्यक्रममार्फत महिला यो बन्धनबाट मुक्त हुन्छन्। त्यसको लागि महिलाहरू नै सामूहिक रूपमा अग्रसर हुनै पर्छ।”

छोराप्रतिको मोह कम गर्न छोरी जन्मिए गर्व गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्नेमा उनी जोड दिन्छन्।

काजक्रिया गर्ने र पुस्ता धान्ने छोरा हुन भन्ने गलत बुझाइ र कुसंस्कार अन्त्य गर्न सरकारी र गैरसरकारी क्षेत्रबाट चालिएका कदमहरू अपर्याप्त रहेको धेरैको बुझाइ पाइन्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार