आइतबार, मंसिर ११ २०७९

सेनाको कलेजमा फर्जी भर्ना -चिकित्सा शिक्षा आयोग



  • नेपालदीप
  • बुधबार, भाद्र २२ २०७९
2.9K
SHARES

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीअन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षणसंस्थामा भर्ना रोकेको छ । भर्ना रोकिएका शिक्षणसंस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार स्तरोन्नतिमा परेका हुन् ।

आयोगले नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्युट, सानो भर्‍याङमा पीसीएल नर्सिङको भर्ना खोलिएकोमा सीटीईभीटीसँग स्पष्टीकरण सोधेको छ । आयोगले सेनाद्वारा सञ्चालनमा रहेको उक्त शिक्षणसंस्था फर्जी रहेको समेत दाबी गरेको छ । शिक्षणसंस्था सञ्चालन गर्न आशयपत्र, सम्बन्धन र सिट निर्धारणबिनै किन भर्ना खोलेको भनेर आयोगले स्पष्टीकरण सोधेको हो । इन्स्टिच्युटका लागि सीटीईभीटीले भदौं ९ गते भर्ना खोलेको थियो ।

सेनाले स्वास्थ्य विज्ञान निर्देशनालय अन्र्तगत मेडिकल कलेज सञ्चालन गरेको छ । ऐन जारी भएपछि एउटै संस्थाले स्नातक र प्रमाणपत्र तहको पठनपाठन गर्न नपाउने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई छल्न पीसीएल नर्सिङलाई व्यावसायिक तालिम इन्स्टिच्युटअन्तर्गत दर्ता गरेर भर्ना आह्वान गरिएको सीटीईभीटी स्रोतले जनायो । सदस्यसचिव काफ्लेले एउटै संस्थाले स्नातक र प्रमाणपत्र पठनपाठन गर्न नपाउने भनेपछि सेनाले सञ्चालक संस्था परिवर्तन गरेकाले भर्ना आह्वान गरिएको बताए ।

आयोगका उपाध्यक्ष गिरीले भने संस्था परिवर्तन गर्दा आशयपत्र, सम्बन्धन, सिट निर्धारणलगायत नयाँ प्रक्रियाबाट आउनुपर्ने जनाए । नर्सिङ पठनपाठन गर्न आफ्नै एक सय बेडको अस्पताल चाहिनेसमेत ऐनमा व्यवस्था छ ।

सेनाले आफ्नो अस्पतालमा मेडिकल कलेज सञ्चालन गरेको पीसीएल नर्सिङ पठनपाठन गराउन छुट्टै अस्पताल छैन । आयोगका पदाधिकारीहरू छुट्टै अस्पताल चाहिने बताउँछन् । आयोगले पीसीएल नर्सिङ अध्यापन गराउने अन्य निजी मेडिकल कलेजमा पनि भर्ना रोकेको छ । आफ्नै अस्पताल नभएका कारण अधिकांश पीसीएल नर्सिङ कलेज बन्द भएका छन् । चालु शैक्षिकसत्रमा सीटीईभीटीले ३५ वटा शिक्षणसंस्थामा मात्रै नर्सिङका लागि विद्यार्थी भर्ना आह्वान गरेको छ । कान्तिपुर दैनिकमा खबर छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट