शुक्रबार, असोज २१ २०७९

शिक्षा क्षेत्रमा पर्वतबाट “मल्लवाद”



  • नेपालदीप
  • शुक्रबार, भाद्र ३१ २०७९
2.6K
SHARES

सरकारी विद्यालयहरूलाई “झोलावाद”बाट मुक्त गर्ने अचुक औषधि पर्वतको पैंयु गाउँपालिकाले आरम्भ गरेको छ ।शिक्षा क्षेत्रमा यो बालेन कदमलाई मैले “मल्लवाद” भन्न रुचाएं ।यो कामले (निर्णयले) थर मल्ल झैं, काम पनि मल्ल (पहलमान) फलिभूत हुने छ भन्ने विश्वास राख्न मिल्छ ।यो मल्लवाद “झोलावाद” विरुद्ध एउटा आन्दोलन बनेर उभ्रनु पर्छ ।जेहोस्, आरम्भ पैयुँले गरेको छ, पर्वतेले यो आन्दोलन स्रुरु गरेको छ ।

पैयुँ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी स्कूलमा नपढाए तलब काटिने

जे कुरामा पनि अमेरिका र बेलायतसंग दाज्ने र तिनै पश्चिमाहरूको राजनैतिक प्रतिमानलाई वोकेर राजनैतिक साम्राज्य खडा गरेको नेपाली नेतृत्वले ती देशहरूका राजनैतिक दल र कर्मचारीहरूले (राष्ट्रपतिलेसमेत) आफ्ना सन्तानहरूलाई सरकारी विद्यालय मै पढाउछन् भन्ने कुरा जनतालाई भन्दैनन् ।अनि, बालबालिका बसेको भन्दा २८ मिनट भन्दा परका विद्यालयहरूले आफ्नो क्षेत्र वाहिरका विद्यार्थीलाई भर्ना लिन पनि पाउंदैनन् भन्ने तत्थ्य पनि बोल्दैनन् ।मल्लवादले विहान सात बजे निजी विद्यालयको बसमा चढेर ९:३० बजे विद्यालय पुग्ने र बेलुका ३:३० मा विद्यालयको बसमा चढेर ६:३० मा घर पुग्ने अधोषित अपराधको दण्ड पाइरहेका बालबालिकाले पनि राहत प्राप्त गर्ने छन् ।

गुणस्तरीय शिक्षाको नाममा निर्दोष बालबालिकाको अमूल्य बाल्यकालला दैनिक ४-६ घण्टा वसको सीटले हसुरी रहेको छ ।अभिभावक, शिक्षक, जनप्रतिनिधि, सरकारका कारिन्दाहरू “मेरा छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन्” भनेर मख्ख परिरहेका छन् ।बालबालिकाको बाल्यकालले सरापेको सरापले तिम्रो बुढ्यौली सबैभन्दा दु:खद, एक्लो र तनावपूर्ण बन्ने छ ।प्रतिनिधि खोज्न शहरिया तथाकथित “उच्चतह”का महंगा घरका एक्ला निवासी “बूढाबूढी” भेट्दा हुन्छ ।बालबालिकाको बाल्यकाल खाएका अभिभावकहरूको बुढ्यौली एक्लोपनले खाँदै छ ।सत्य यही हो ।

“मल्लवाद” विरुद्ध धेरै एनजिओ/आइएन्जिओ, शिक्षाविदहरूको घोर आपत्ति आउने छ ।विश्वको आठौं र नेपालको पहिलो शिक्षालय “त्रिविवि” थलिएर लड्न आँटेको छ तर झोलेहरू नयाँनयाँ विवि स्थापित गर्न सफल भएका छन् ।सरकारका मान्छेहरूनै सरकारलाई असफल तुल्याएर व्यापार गर्न कस्सिएपछि “मल्लवाद”को उदय हुनैपर्छ ।यदि यो मल्लवाद चर्चापरिचर्चाका लागि मात्र हो भने घोषणामा सिमीत हुन्छ, होइन भने हरेक वडाको विद्यार्थीलाई तेसै बडाको विद्यालयमा पढ्न अनिवार्य बनाउनु पर्छ ।विद्यालयलाई पूर्वाधारयुक्त बनाउन मदत गर्नुपर्छ, साथै अंग्रेजीवादबाट उभ्रिनुपर्छ ।

मैले “मल्लवाद” भन्ने नामकरण गरें किनभने राजनैतिक चेतनाका नाममा राजनैतिक दलहरूले विद्यालयका शिक्षकहरूलाई “झोले” बन्न विवस गरेका छन् र “झोले” बनेपछि स्वामीहरूको सेवा गर्नु बाध्यता बन्छ ।जे-जस्तो तरिकाले नियुक्त होस्, शिक्षक, शिक्षक नै हो ।झोला बोक्नु पर्दा पीडा हुन्छ तर दशैंको बोकाझैं जहाँ गए पनि झोला बोलाउनेहरूकै जगजगी छ ।पैयुँ गापाले एस्तो निर्णय गर्दा आफ्नै पार्टीका झोलावादको ठूलो विरोध सहनु पर्ने छ ।अरूको त कुरा नै नगरौं ।

आफ्ना बालबालिका कहाँ पढाउने भन्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र हुनुपर्छ तर विश्वबाट ऋण लिएर शिक्षाक्षेत्रम लगानी गर्ने अनि, झोलेहरू भर्ति गरेर शिक्षा, शिक्षक/शिक्षिका तथा जनताको मानमर्दैन गर्दै शिक्षाको समान अधिकारबाट बन्चित राख्दै “धनिहरू निजी विद्यालयमा र गरीवहरू सरकारी विद्यालयमा” भन्ने अघोषित परियोजना सुनिश्चित गर्न सघाउनेहरूका लागि यो “मल्लवाद” ठीक हो भनेर स्वागत गर्नुपर्छ ।विद्यालय/कलेजमा पढाउने शिक्षक/शिक्षिकालाई “राजनैतिक दल वा तिनका भ्रात्री संगठनहरूको सदस्यता लिन र तेसको झोला बोक्नबाट रोक्नुपर्छ ।आस्थाका आधारमा मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्न मिल्दैन ।

तर संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्दै निजी लगानी गरेर शिक्षा-सेवा गरिरहेका उद्यमीहरूको उद्योगमा भएको लगानीका विषयमा पनि सोच्नु पर्छ। लेख्दैगर्दा अलि बढी लेखें कि जस्तो पनि लाग्यो तर पर्वतेले आरम्भ गरेको यो आन्दोलन नेपाली व्यापी होस् भन्ने चाहना राख्छु ।तेसैले यो लेखें, झोलावादीको सरापले मलाई पोल्नेछैन। मैले प्रयोग गरेको “झोले” शब्द निकै अप्रिय हो तर झोलावाद विरुद्ध उभिने र क्षिक्षाप्रतिको दायित्व पालन गर्नेहरूका लागि यो उर्जा नै हो किनभने झोलावादबाट सबैभन्दा बढी पिरोलिने “दायित्वप्रति समर्पित” शिक्षकशिक्षिका नै हुन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार