शुक्रबार, असोज २१ २०७९

द्रौपदीको चीरहरण र दुर्योधन



  • नेपालदीप
  • बिहिबार, असोज ६ २०७९
912
SHARES

महाभारतको युद्धको प्रमुखकारण इर्ष्या थियो। दुर्योधनले पाण्डवहरूको सन्त स्वभाव र सिकाइमा सधैं सफल हुने देखेर डाहा गर्यो। अरू कुनै उपायले पाण्डवहरूको हत्या गर्न नसकेपछि युधिष्ठिरलाई प्रयोग गरेर (जुवामा) सबै सम्पति कब्जा गर्यो, द्रौपदी (आफ्नै भाउजु)लाई सबै सभासदका अगाडी नाङ्गो बनाउने प्रयत्न गर्यो। अन्तत: पाण्डवहरूलाई बनवास पठाएपछि पनि दुर्योधनको इर्ष्यालु स्वभाव समाप्त भएन। बनवासी पाण्डवहरूको चियोचर्चो गर्ने र एक पटक त हत्याको नै प्रयोग गर्यो।

महाभारतको युद्धको अन्त्यमा अन्तिममा मर्ने वखतमा दुर्योधनले पनि श्रीकृष्ण, पाण्डव र आफ्ना बाबु धृतराष्ट्रलाई दोष दिएर मर्यो।महाभारतकार व्यासले दुर्योधनलाई यो ठाउँमा “सुयोधन” शब्द प्रयोग गरेर सम्मान गरेका छन् । किनभने दुर्योधनले आफ्ना स्वभावको लागि पितालाई दोष दिएर सत्य कुरा ओकलेका थिए। कृष्णले सम्झाउंदा एकपटक उसले भनेको थियो, “कृष्ण! मैले धर्म र अधर्मको भेद राम्ररी जानेको छु तर के गर्नु मेरो स्वभावले धर्मतिर जाने बाटो रोक्छ, मैले चाहेर पनि आफुलाई अधर्मबाट रोक्न सक्दिन।”

नेपाली राजनीतिले दुर्योधनको प्रतिनिधित्व गर्छ। अन्धा धृतराष्ट्रले आफ्ना दमित इच्छाहरू पूरा गर्न दुर्योधनलाई प्रयोग गरिरहेका थिए।उनी मुखबाट दुर्योधनलाई राम्रो बाटो हिड्न र पाण्डवप्रति सदाचार प्रकट गर्न आदेश दिन्थे तर आन्तरिक रूपमा दुर्योधनको हठी व्यबहार निकै मन पर्थ्यो। धृतराष्ट्रको दमित इच्छा अनुरुप नै दुर्योधनले काम गरेको हो भन्ने प्रमाणचाहिं भीमको ढुङ्गाको मुर्तिलाई रीसले चकनाचुर पारेबाट प्रकट हुन्छ।

यो देशमा राजनीतिज्ञहरू दुर्योधन सरह देखिन्छन्। यी राजनैतिक दलहरूले कुन् र कहाँको धृतराष्ट्रका दमित इच्छाहरू पूरा गर्ने अभियानमा लागि परेका छन् भन्ने कुरा खोज्ने काम पाठकहरूको हो। पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इर्ष्यालुको स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ। अदृष्य धृतराष्ट्रहरूकादमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन्। मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुशी पार्न कसर छोड्ने छैनन्।

विश्वरङ्ग मन्चमा द्रौपदी (नेपाल)लाई नांगेझार वनाउन कुनै कसर छोडेका छैनन्। धर्म, संस्कृति, मौलिकता, गौरवमय परम्परा तथा सभ्यताउपर सीधा प्रहार गरिरहेका छन्। सबैभन्दा खेदजनक कुरा के हो भने सभासदका रूपमा रहेका नेपाली जनता बहुमतको भोट खसालेर समेत निर्वल बनेर धृतराष्ट्रहरूलाई समर्थन गरिरहेको छ।

आजभोली नेपाली राजनैतिक धरातलमा जुन क्रियाकलापहरू घटीत हुँदैछन्, ती सबैले नेपाल (द्रौपदी )लाई नाङ्गो पार्ने काम नै हुन्। यो कुरा बुझ्नुपर्छ। हो, आफ्नी प्रिय पत्नीलाई दाउँमा लगाउने युधिस्थिर गतार्थ भैसकेका छन्। दुशासनको छाति चिरेर रगत खाने समय नै होइन र अर्जुनहरूले द्रौपदीको चीरहरण हुँदा टुलुटुलु हेरेर बस्नुको पनि कुनै औचित्य छैन। हामीले पुँजीवाद र साम्यवादको ठिमाहा सन्तान बनेका दुर्योधनलाई परास्त गर्ने “गदा” प्राप्त गरिसकेका छौँ। त्यो गदा के हो र तेसको प्रयोग कसरी गर्ने हो भन्ने पनि सिकाएका छौँ। लडाई चलिरहेका छ, दुर्योधनहरूको अन्त्य हुनैपर्छ र द्रौपदीको चीरहरण रोकिनुपर्छ। अति इर्ष्या र अति लोभको अन्त्य नभएसम्म द्रौपदीको चीरहरण रोकिन्न। यो रोक्ने बौद्धिक हतियार हामीसंग छ, खोजौं, प्रयोग गरौँ र परास्त गरौँ।

 

-स्वस्तिअस्तु

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार