आइतबार, मंसिर ११ २०७९

दलहरु सत्ता स्वार्थ र भागबण्डामा अल्झिए, राज्यका अंगभित्र विवाद :ज्ञानेन्द्र शाह



  • नेपालदीप
  • शुक्रबार, असोज १४ २०७९
2K
SHARES

पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका कार्यशैलीका कारण जनतामा उत्साह हराएको बताएका छन् । उनले कुनै पनि देशभक्त नेपालीलाई अहिलेको समय सजिलोसँग बितिरहेको छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।
दसैँको अवसरमा शुभकामना दिन एक भिडियो सन्देश जारी गर्दै शाहले अहिलेको राजनीतिक प्रणालीप्रति कटाक्ष गर्दै अनेक प्रश्न समेत उठाएका हुन् ।
‘बहुदलीय शासन प्रणालीमा जनताको आशा, आकांक्षा अनुरुप राजनीतिक दलहरु संगठित हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ’, शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘ तीनबाट जनमनोभावनाको परिपोशित परिपाटी रहन्छ । तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दोबल्दो प्रश्न बनेको छ ।’
उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको पनि आरोप लगाएका छन् । ‘आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रीत हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’, शाहको प्रश्न छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ।’

यो अवस्थाले जनतामा उत्साह नभएको र मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा नभएको शाहको जिकिर छ । ‘दायित्व के ? गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइन ? यी सबै कुराको निराकरण कसले गर्ने ? को बाट हुने ? देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो’ शाहको भनाइ छ ।
देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर कामगर्ने विधि, व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहले बताए । प्रयोग र अभ्यासले देशलाई बचाउने र बनाउँदै जानुपर्ने उनको भनाइ छ । देशमा मौलिक र सही विकल्पतर्फ मनोभाव बढ्दो रुपमा पाइएको शाहको जिकिर छ । स्वाधीन राष्ट्रलाई अस्थिरतातर्फ धकेल्न नहुने शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट