आइतबार, मंसिर ११ २०७९

असली दर्शनशास्त्र !!



  • नेपालदीप
  • शनिबार, असोज १५ २०७९
1.7K
SHARES

असली दर्शनशास्त्र के हो र कुन् हो ? दर्शनशास्त्रका विद्यार्थीहरूले एस्तो प्रश्न कम नै गर्छन् ।तर जसले गरे पनि प्रश्न त प्रश्न नै हुन् ।सबै प्रश्नको उत्तर हुँदैन तर उत्तर नभए पनि प्रश्नचाहिं हुन्छन् ।सबैभन्दा बढी महत्व प्रश्नको हुन्छ जसले उत्तर खोज्न, त्यो पनि तर्कसंगत र सकेसम्म “सही” उत्तर खोज्ने प्रेरणा दिन्छ ।प्रश्नकर्ता जे-जस्तो होस् उत्तरदाता चाहिं निकै सावधान र मर्यादित हुनुपर्छ किनभने उत्तरमा एउटा नवीनतम सिद्धान्तको जन्म हुन सक्छ जसले विश्वको चिन्तनलाई रुपान्तरित गर्न सक्छ ।

दर्शनशास्त्र के हो ? यो प्रश्न निकै सरल र गहन छ ।यसमा कुनै प्रकारको छलछाम छैन ।छलछाम नै भए पनि उत्तरदाताले विवेकशील उत्तर दिन सक्छ ।विश्वका प्राचीनकालदेखि नवीनतम दार्शनिक चिन्तनहरूको इतिहास र विश्लेषण गर्न सक्छ ।दर्शनशास्त्र के हो ? यो उत्तर खोज्ने क्रममा अनेकौं दार्शनिक सिद्धान्तहरूको सम्पादन भएको छ ।भाषा, भूगोल, बुझाई तथा संस्कृतिअनुसार विश्वका हरेक कुनामा आ-आफ्नो तरिकाले प्रश्न खोजिएको छ ।आजको मितिमा पनि “दर्शनशास्त्र के हो ? भन्ने प्रश्न लोकप्रिय नै छ ।

– हजारौं पुस्तक लेखिएका छन् ।अनेकौं सिद्धान्त रचिएका छन् ।अनेकौं मान्छेले फरकफरक सिद्धान्तहरूलाई सत्य मानेर तेही आधारमा जीवन यापन गरिरहेका छन् ।एउटा सिद्धान्तबाट उठेर हेर्दा अर्को सिद्धान्त चरमविरोधाभाषी देखिए/बुझिए पनि मान्छेहरूले आफ्नो बुझाई र अभिरुचिअनुसार अनुशरण गरिनै रहेका छन् ।यही भिन्नताका कारण दर्शनशास्त्र के हो ? भन्ने प्रश्नको उत्तर उत्तिकै नवीन र सम्भावनायुक्त छ ।आज पनि यो प्रश्न बोकेर जिज्ञासुले नवीनतम उत्तर प्राप्त गरेर विश्वलाई अझैं सुखी वा दुखी बनाउन सक्ने सम्भावना जीवित नै छ ।

एउटा शब्दमा भन्नुपर्दा असली दर्शनशास्त्रको प्रश्न सधैं जीवन्त रहेर सत्यको खोजका तम्तयार हुन्छ ।

दोश्रो प्रश्न कि असली दर्शनशास्त्र कुन् हो ? को उत्तर सजिलो छैन ।दर्शनशास्त्रलाई बुझ्ने विद्यार्थीले एस्तो प्रश्न गर्दैन ।यदि कसैले एउटा निश्चित दार्शनिक “वाद” अन्तिम सत्य मानिसकेको छ भने सम्बन्धित व्यक्तिलाई उसले अनुकरण वा अनुसरण गर्दै आएको “वाद” नै अन्तिम सत्य हुन्छ ।धेरैजसो “असली दर्शन कुन् हो ? भनेर प्रश्न गर्नेहरूको बौद्धिक स्वतन्त्रता उसले अनुशरण गरेको दार्शनिक वादले रुग्ण बनाइसकेको हुन्छ ।उसका लागि त्यही दार्शनिक “वाद” असली हो जसको उ आफै अनुयायी बनेको छ ।अर्थात्, उसलाई आफ्नो पर अरूका प्रश्नको उत्तर थाहा छ ।

उदाहरण-१ मैले एकजनासंग सोधें – दर्शनशास्त्र पढ्न चाहन्छु तर कुन् पढौं थाहा छैन । उहाँले भन्नुभयो “विशिष्टताद्वैत” वाहेक अन्य दर्शनशास्त्रको कुनै अर्थ छैन किनभने अन्यले सत्यको उद्घाटन गर्न सक्दैनन् । यदि तिमी दर्शनशास्त्र पढ्न चाहन्छौं भने विशिष्टताद्वैतको विकल्प छैन ।अन्यलाई सही अर्थमा दर्शनशास्त्र भन्न नै मिल्दैन । हो, उनको लागि जीवनको अन्तिम सत्य यही हो तर मेरा लागि पुगेन ।मेरो जिज्ञासाले उहाँले दिएको उत्तर भन्दा बढी अपेक्षा गरेको थियो ।

उदाहरण – २ मार्क्सवादीहरूका लागि मार्क्सले “पूँजी”को स्वरूप प्रकट गर्न प्रतिपादन गरेको “वर्गीय द्वन्द्व” नै सबैभन्दा असली “द्वन्दात्मक भौतिकवाद” हो ।प्राचीनदेखि सुदुर भविष्यसम्म यसले “विज्ञान”लाई मार्गदर्शन गरिनै रहने छ ।द्वन्दात्मक भौतिकवादको अर्को विकल्प हुनै सक्दैन ।मार्क्सवादीहरूले बहुधा प्रयोग गर्ने “प्रगतिशील” शब्द नै द्वन्दात्मक भौतिकवादको पूर्वाग्रहमा परेर दूषित भएको छ ।जसरी यहुदीहरू इसाईको, इसाईहरू मुस्लिमको र आफुभिन्न अरूको धार्मिक अस्तित्वलाई अस्वीकार गर्छन् तेसरी नै प्रगतिशीलहरू अन्य दार्शनिक सिद्धान्तहरूलाई अस्वीकार गर्छन् वा द्वन्दात्मक व्यबस्थाको नयाँ अवस्था भनेर ढिप्पी गर्छन् ।

दर्शनशास्त्र के हो ? यो प्रश्न सजिलैसँग बुझ्न सकिन्छ तर कुन् असली दर्शनशास्त्र हो ? भन्ने प्रश्नचाहिं त्यति सजिलो छैन तर धेरैजसो संस्कृतिहरू यसै प्रश्नको उत्तरमा अडिएका छन् ।असली दर्शनशास्त्र त्यही हो जसले तपाईंको जीवनलाई परिचय दिएको छ, तपाईंको परिचय निर्माण गरेको छ ।आफ्नो सत्यको अनुशरण गरिरहँदा अर्काको सत्यलाई अस्वीकार गर्ने पूर्वाग्रह त्याग्न सके दर्शनशास्त्रको भविष्य अझैं तेजस्वी हुने छ र हाम्रो बौद्धिक तथा विवेक गतिशील रूपमा सत्यको उद्घाटनतिर अभिप्रेरित हुनेछ ।
स्वस्तिअस्तु

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट