आइतबार, मंसिर ११ २०७९

दर्शनशास्त्र के हो ?



  • नेपालदीप
  • मंगलबार, असोज १८ २०७९
1.9K
SHARES

१. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै “दार्शनिक जामा” पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ ।एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक “परिचय”को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू अगाडी देखिन्छन् ।

२. नेपालमा “दार्शनिक” तथा “वाद” शब्दको न्यारेटिभ गाउँगाउँमा जनजनमा पुर्याउने कामचाहिं वि.स्. २००४ मा कम्न्युनिस्ट पार्टी स्थापना भएपछि आरम्भ भएको मान्न सकिन्छ तर यसको वास्तविक आरम्भ भने कम्युनिस्ट पार्टीहरू प्रतिबन्धित भएर भूमिगत हुँदा भएको हो ।

३. मस्कोको प्रगति प्रकाशन वा बेइजिंगको लाल प्रकाशनहरू पढ्दै दार्शनिक तथा वाद शब्दसंग परिचित भएका कम्म्युनिस्टहरूले “द्वन्दात्मक भौतिकवाद”लाई निर्विकल्प दर्शनशास्त्रका रूपमा जनजनमा पस्कन थाले र पक्ष, प्रतिपक्ष र सम्पक्ष (Thesis, Anti-thesis and Synthesis) सिद्धान्त नै एकमात्र विज्ञान सम्मत दर्शनशास्त्र भएको प्रचारप्रसार गरे ।दर्शनशब्दलाई सर्वसाधारण नेपालीको मनोविज्ञानमा स्थापित गर्ने श्रेय कम्युनिस्टहरूलाई जान्छ ।

४. अर्कोतिर नेपालको परम्परागत समाजमा दर्शनशास्त्रको अर्थ आध्यात्म शास्त्रसंग बढी निकट थियो ।परम्परागत सामाजिक बौद्धिक समाजमा दर्शनशास्त्र र धर्मशास्त्रको विषयवस्तु निकै जेलिएको थियो र आज पनि उस्तैउस्तै छ ।नेपालको परम्परागत सांस्कृतिक तथा धार्मिक समाजले आज पनि “धार्मिकता र दार्शनिकता”का बिचमा खासै पार्थक्य दृष्टिकोणले हेर्दैन र बुझ्दैन पनि ।

५. वैदिक संस्कृतिमा मूलत: षड्दर्शन (सांख्य, योग, न्याय, बैशेषिक, मीमांसा र वेदान्त) दार्शनिक चिन्तनमा समर्पित “वाद”हरू हुन् भने जैन तथा बौद्धहरूले पनि धर्मसंग मिसाएर दार्शनिक धाराको निकै विस्तारपूर्वक स्थापना गरेका छन् ।धार्मिक सम्प्रदायको विकास गरेरनै दार्शनिक चिन्तनलाई जीवित राखेका छन् ।आज पनि यो परम्परा जीवन्त छ ।

६. नेपाली राजनैतिक जगतमा मार्क्सवादी चिन्तनले जरा गाड्दै गर्दा वैदिक, जैन, बौद्धहरूले आफ्ना दार्शनिक आदर्शहरूलाई धार्मिकताको आवरण भन्दा वाहिर निकालेर सर्वसाधारणसम्म पुर्याउने काम गर्न सकेका थिएनन् । दर्शनशास्त्रलाई पनि धार्मिक क्रियाकलापकै एउटा अंगका रूपमा बुझ्ने/बुझाउने प्रयत्न गरियो ।

७. विश्वभरी चलिरहेको राजनैतिक परिवर्तनको लहर नेपालमा प्रवेश गर्दा परम्परागत दार्शनिक चिन्तनहरू धार्मिक क्रियाकलापमा व्यस्त थिए ।प्रगति प्रकाशनका पुस्तकहरूका माध्यमबाट राजनेता र सर्वसाधारणहरूले “नेपालको परम्परागत चिन्तनमा परिवर्तनका लागि कुनै सिद्धान्त नै छैन” भन्ने बुझ्न थाले र क्रमशः मौलिक दार्शनिक सिद्धान्तहरूलाई “अन्धविश्वास” भन्दै आलोचना गर्ने बैचारिक बीऊहरू छरियो ।

८. अर्कोतिर केवल केही विद्वानहरूसम्म सीमितरहेको नेपालको मौलिक दार्शनिक परम्परा अझैं सीमित हुँदैगयो भने अर्कोतिर बदलिँदो वैश्विक परिवेशमा यहाँका दार्शनिकहरूले “विदेशबाट भित्रिएका वाद”हरूलाई दर्शनशास्त्रका रूपमा अस्वीकार गरिदिए भने विदेशी “वाद”हरूबाट प्रभावित भएकाहरूले पनि नेपालका मौलिक दार्शनिक सिद्धान्तहरूलाई “सिद्धान्त”का रूपमा स्वीकार गर्न इन्कार गर्दै धर्मका रूपमा सीमित पारिदिए ।

९. केही एलिटहरूसम्म सीमित भएको मौलिक दार्शनिक चिन्तनको तुलनामा मस्कोबाट प्रकाशित भएको “द्वन्दात्मक भौतिकवाद” पुस्तकका रूपमा नेपालीका घरघर पुग्ने अवस्था भएपछि ज्ञानका प्यासा नेपालीहरूले “प्रगतिको सूत्रका” रूपमा यिनैलाई बुझे ।यी पुस्तकहरूले बुझाएको “वाद” आजको मितिमा पनि नेपाली राजनैतिक तथा शैक्षिक जगतमा हावी छ ।

आजभोली नेपाली बौद्धिक जगतमा तीनबटा सैद्धान्तिक ध्रुवहरू देखिन्छन् (१)

१०. परम्परागत (२) प्रगतिशील (३) डेमोक्रेट ।परम्परागत दार्शनिक चिन्तनले धर्म र दर्शन दूवै एकै हुन् भन्ने पूर्वाग्रह राख्छ ।प्रगतिशील धारले द्वन्दात्मक भौतिकवाद बाहेक संसारको कुनै पनि दार्शनिक धारालाई अस्वीकार गर्छ भने तेस्रो डेमोक्रेट धारचाहिं परम्परागत दार्शनिक चिन्तनको महत्वलाई अस्वीकार गर्दैन तर पश्चिमा स्वच्छन्दतावादमा उभिएर “प्रगतिको कुरा गर्छ ।

११. अहिलेको नेपाली चिन्तन जगत प्रगतिशील, परम्परागत तथा डेमोक्रेटहरूको चेपुवामा परेको छ ।उदाहरणका लागि धर्मलाई अफिम ठान्ने द्वन्दात्मक भौतिकवादीहरूले बौद्ध, जैन, किरात तथा वैदिक परम्परामा समेत भौतिकवादी चिन्तनको खोज गर्ने अभिनय गर्दै “वैदिक, जैन, बौद्धहरूले पनि द्वन्दात्मक चिन्तनको समर्थन गरेका छन् तेसैले यो चिन्तन विज्ञानसम्मत हो” भन्ने अमिल्दो भ्रम छरिरहेका छन् ।जव कि मार्क्सले भनेको द्वन्दात्मक भौतिकवादले भौतिकवाद बाहेक अन्य कुनै पनि चिन्तनधारालाई चिन्दैन र मान्दैन पनि ।

१२. अर्कोतिर डेमोक्रेटहरूले पनि जातीय संस्कृतिका परम्पराहरूको असुहाउदो दार्शनिक व्याख्या गर्दै दार्शनिक क्षेत्रमा हास्यको पात्र बनिरहेका छन् ।उदाहरणका लागि मार्क्सवादीहरूले कार्लमार्क्सको अर्थदर्शनलाई “दर्शनशास्त्र”का रूपमा मान्यता दिनु र डेमोक्रेटहरूले जातीय परम्पराहरूलाई “वाद”का रूपमा स्थापित गर्ने प्रयत्न गर्दा न्यूनतम दर्शनशास्त्रका पूर्वस्थापित मान्यताहरूमा ध्यान नदिनु एकै कुरा हुन् ।

१३. दर्शनशास्त्र विना कुनै पनि समाज वा व्यक्ति अस्तित्वमा रहन सक्दैन तर तिनको दार्शनिक विश्लेषण गर्दा कमसेकम सम्बन्धित विषयभित्र तत्व, ज्ञान, नीति तथा तर्क यी चारबटा पक्षमा प्रष्टसंग विचार अभिव्यक्त गरिएको हुनुपर्छ ।यदि उपरोक्त पूर्वमान्यता मध्ये कमसेकम तीनबटा आधारमा विचार व्यक्त भएमा सम्बन्धित चिन्तनले “दार्शनिक सिद्धान्त”को मान्यता प्राप्त गर्न सक्छ ।

१४. सत्यको स्वरूप कस्तो छ ?, ज्ञान कसरी उत्पन्न हुन्छ र सीमा के हो ? मान्छेले कस्तो कर्म गर्नुपर्छ र ठीकठीक चिन्तन गर्ने र तेसलाई भाषामा व्यक्त गर्ने बोली वा लेखन कस्तो हुनुपर्छजस्ता प्रश्नहरूको उत्तर खोज्नु नै दार्शनिक क्रिया हो ।यदि कुनै साहित्यमा उपरोक्त चार बटा विषय मध्ये तीन विषयवस्तुमा प्रष्टसंग चिन्तन भएको छ त्यहाँ दर्शनशास्त्र हुन्छ ।

१५. आफ्नो मतलाई स्थापित गर्न र अर्कोको मतलाई विस्थापित गर्न सैद्धान्तिक द्वन्द चलिनै रहन्छन् तर केवल सांस्कृतिक, धार्मिक वा सामाजिक विषयहरूलाई समेटिएका जातीय चिन्तनहरूलाई “पूर्वाग्रह”पूर्ण भएर दर्शनशास्त्र ठान्नु त्रुटीपूर्ण हुन्छ ।

१६. सत्य हो कि वैदिक परम्परामा विकसित भएका दार्शनिक चिन्तनहरू धार्मिक संस्कृतिसंग अभिन्न छन् ।वैदिक, जैन, बौद्धहरूका दार्शनिक चिन्तनलाई सेक्युलर आँखाले बुझ्ने प्रयत्न गर्न त मिल्छ तर बुझिन्न ।यसैगरी हिन्दू, जैन तथा बौद्ध दर्शनशास्त्रको झ्यालबाट हेरेर पाश्चात्य दर्शनको मर्मलाई बुझ्न सकिन्छ ।सिद्धान्त प्रधान भएकोले पाश्चात्य दार्शनिक विचारधाराका लागि श्रद्धाको आवश्यकता पर्दैन तर बैदिकधारका चिन्तनहरूलाई बुझ्न यी मतहरूको दैनिक क्रियाकलाप र विश्वास समेतलाई बुझ्नुपर्छ ।

१७. विश्वका हरेक समाज दार्शनिक सिद्धान्तको जगमा उभिएको छ, व्यक्ति होस् वा समाज दर्शनरहित छैन तर ती चिन्तनहरूलाई आधिकारिक दर्शनशास्त्रको रूपमा स्थापित गर्न तत्व, ज्ञान, तर्क र नीतिको बाटो बाट गुज्रिनुनै पर्छ ।पूर्वाग्रहले निर्मित भएको दर्शन “पूर्वाग्रहवाद” बन्न सक्छ ।

१८. पहिले दर्शनशास्त्रका मौलिक सिद्धान्तहरू बुझौं, मनन गरौँ अनि, दर्शनशास्त्रका आधारहरूको झ्यालबाट अनुसन्धान गरौँ ।दर्शनशास्त्रमा आग्रह हुन्छ तर पूर्वाग्रहका लागि कुनै ठाउँ हुँदैन ।पूर्वाग्रह र दर्शनशास्त्र संगै हिड्न सक्दैन ।तेसैले दर्शनशास्त्र सधैं “अथातो सत्य जिज्ञासा” हो र सत्य खोज्ने निरन्तरको पूर्वाग्रहरहित प्रयास हो ।चरैवेति चरैवेति तथा नेतिनेति (सधैं सत्यको खोजिमा क्रियाशील रहुँ तथा तपाईंले देखेको सत्यमात्र अन्तिम होइन) भन्ने उपनिषदका बाक्यहरू नै दर्शनशास्त्र हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट