आइतबार, मंसिर ११ २०७९

आधुनिक विकासको नाममा शक्तिपीठलाई कुरुप नबनाऊ



  • नेपालदीप
  • बुधबार, असोज १९ २०७९
1.7K
SHARES

पर्वतेहरूले पर्वत जिल्लाभित्रका मठमन्दिर, कोट, पाटी, थान, गुफाआदिको संरक्षण गर्नुतिर ध्यान दिउँ भने अन्य ७६ जिल्लाका निवासीहरूले पनि आ-आफ्नो ठाउँमा संरक्षणका लागि क्रियाशील बन्ने प्रतिज्ञा गरौँ, सङ्कल्प गरौँ । यो सङ्कल्प हामी सबैको बनोस् र हाम्रो असल मौलिकताको अभिवृद्धि होस् । काठमाडौँका जनताले काठमाडौँ, ललीतपुरआदि सबै ७७ जिल्लाका जनताले आ–आफ्ना धार्मिक, सांस्कृतिक तथा मौलिक स्थानहरूको पहिचान र संरक्षणतिर स्वक्रियाशील बनौं ।

तत्कालीन पर्वत राज्यका राजाहरूले पैयुँकोटमा भगवती पार्वतीको मन्दिर स्थापित गरेर राजाप्रजासहित देवीको उपासना गर्थे । आज पनि सम्बन्धित राजबंशका व्यक्तिहरू र जनसाधारणके पैयुँकोट मन्दिरमा विधिपूर्वक बलिआदि दिएर उपासना गर्ने परम्परा उत्साहका साथ निर्वाह गरिरहेका छन् ।

प्राचीन पर्वतराज्यको कुरा गरिरहँदा नेपालभरि फैलिएर रहेका सम्पूर्ण देवी मन्दिर (कोटसहित) समुचित पहिचान गरेर इतिहासको अभिलेख राख्नु आजको सबैभन्दा महत्वपूर्ण अभिभारा बनेको छ । हरेक साना ठूला देवीपीठहरूको पहिचान गर्ने, इतिहास खोज्ने र तेसको अभिलेख राख्दै संरक्षण गर्ने दायित्व हरेक नेपालीहरूको हो । धेरै देवी (मन्दिर, कोट र थान) पीठहरूको इतिहास अलिखित छ भने धेरै मन्दिरहरू आधुनिक विकासको कहरले मासिएका छन् र मासिने क्रममा छन् । नेपाल राज्यराष्ट्रका जनताहरूले आफ्नो मौलिकता रक्षा गर्नुछ भने स्थानीयतहमा यिनको संरक्षणका लागि क्रियाशील हुनैपर्छ ।

एउटा पनि शक्ति पीठ (मन्दिर, कोट थान) नष्ट हुनु भनेको एउटा महत्वपूर्ण इतिहास सधैंका लागि समाप्त हुनु हो । स्वधर्म, संस्कृति तथा परंपराको विरोध गर्ने, अन्धविश्वास भनेर अनादर गर्ने र मौलिक परिचयका ठाउँमा आयातीत संस्कृति थोपर्न उद्यत जो सुकैलाई अस्वीकार गरौँ । आफ्नो परिचयको रक्षाका लागि आफै अग्रसरता ग्रहण गरौँ ।

संस्कृति गतिशील हुन्छ तर इतिहास स्थायी हुन्छ । समयले संस्कृतिमा केही परिवर्तन आएको हुनसक्छ तर आधुनिकताको दम्भ र भ्रममा परेर आफ्नो मौलिकताप्रति अविश्वास गर्नेहरू संसारका सबै भन्दा मूर्ख हुन् । दुर्भाग्यवस, हाम्रो नेपाली समाजमा यस्ता आत्मघाती मूर्खहरूको बर्चश्व बढेको छ । आफ्नो मौलिकताको पालना गर्नेहरूलाई “पछौटे तथा अन्धविश्वासी”को पगरी भिराउनेहरूलाई मिडिया र राजनैतिक शक्तिहरूले महत्व दिन थालेका छन् । आत्महत्या गरेका व्यक्तिको जीवन सकिएझैं आफ्नो मौलिकताको आलोचना गर्दा सुखी हुने समुदायले नेपालको हत्या गर्दैछ । दशैं, तिहार, छठ, लोसारजस्ता चाडवाडले सधैं नेपाली जनतालाई आफ्नो मौलिकतातिर फर्कन मदत गरेका छन् । तर मठमन्दिर, कोट, थान, पाटी-पौवा, तीर्थस्थल, गूठी, नांचगान, सङ्गीतआदिको संरक्षणको ठोस कार्ययोजना बनाएर क्रियाशील नहुँदासम्म दशैंतिहारमा हाम्रो सभागिता “फैसन” ठहरिने छ ।

हे पार्वती ! आगामी चुनावमा नेपाललाई माया गर्ने, स्वधर्म, मौलिक संस्कृति तथा ज्ञान-विज्ञानमा आस्था भएका नेतृत्वलाई भोट प्रदान मतदाताहरूलाई अभिप्रेरणा प्रदान गर्नुहोस् ।

फोटो : पर्वतको पैयुँकोट (कालिका) मन्दिर साभार

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट