आइतबार, मंसिर ११ २०७९

अब्राहमिक-प्रजातन्त्रवाद



  • नेपालदीप
  • बिहिबार, असोज २० २०७९
3.3K
SHARES

१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले “आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व” भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो । हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ । देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल “चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्” भन्ने बुझ्न असजिलो हुँदैन । अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् ।

२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य “सत्ता प्राप्ति” हुन्छ । यदि कुनै व्यक्ति वा समूहले “हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन” भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् । नेपालजस्तो सम्झौताको “संबिधान” भएको देशको नेतृत्वले यस्ता “पाजी” राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् । नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग “ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली” गर्ने प्रप्वृत्ति देखिन्छ । अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ । किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ ।

३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् । आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो । जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ । देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो । तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन “माइन्ड-सेट” कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ । अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ । समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन ।

४. मैले “आफु भिन्न अरूको आलोचना मात्रै गर्ने” माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु । हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् । तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् । सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ । अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले “बहुलता”लाई अस्वीकार गर्छन् । प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा “बहुलता” स्वीकार्य हुँदैन । उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको “प्रजातन्त्र”लाई अस्वीकार गर्छ । नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो ।

५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा “केही”लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् । आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर “जातीय पहिचान सुरक्षित हुन्छ” भन्ने भ्रम छरिरहेका हुन्छन् । यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् । उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई “जातीय पहिचान” भन्ने ठान्छन् । यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् । उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको “मोडेल”वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ । नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् ।

६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो । हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले “अब्राहमिक माइन्ड सेट”का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् – यो सत्यलाई नकार्न सकिन्न । आजको मितिमा पश्चिमाहरूले आफूभित्र “कोर्स-करेक्सन” गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो “अब्राहमिक मोडेल” नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ । अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ । यही फाइदाका मतियार “गूट”हरू हुन् । अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको “निषेध” गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ ।

७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले “स्वन्त्रता तथा उन्नयन” छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार  आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न । एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान “घृणा र सशस्त्र सङ्घर्ष”ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ । जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् । नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ । उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ । मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने “अब्राहमिक माइन्ड-सेट” ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ । तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन । उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ ।

८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई “शरणार्थी” भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो । जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले “दुर्गा वेश्या हो” भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ । जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा “आ कुकुर मलाई टोक” भन्नुसरह हुनेछ । यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ । एस्तो राष्ट्रको भविष्य हुँदैन । राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो । नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन । व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन । बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन । एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन । राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् । उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर “राज्यराष्ट्र”ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ । राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई “अब्राहमिक माइन्ड-सेट”भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ । अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि “राष्ट्रराज्य” गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन ।

१०. यो विचारप्रधान लेख लेख्दै गर्दा “दुर्गा वेश्या हुन्”को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन । तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो । आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ । एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि “दुर्गा वेश्या हुन्” भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ । मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् । जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ । तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ ।

सर्वेषां स्वस्तिअस्तु – सबैको कल्याण होस् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट