आइतबार, मंसिर ११ २०७९

एमालेलाई भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त



  • नेपालदीप
  • मंगलबार, कार्तिक २२ २०७९
722
SHARES

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको लागि प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।
गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

मन्त्री आचार्य भने अहिलेसम्म आफूलाई हटाउन लागिएको कुनै संकेत नपाएको बताउँछन् । आरोप लगाइए जसरी आफूले सत्ता गठबन्धन र नेकपा एमाले कसैका लागि पनि मत नमागेको उनको भनाइ छ । असोज २१ बाट आफू स्वतन्त्र भइसकेको उनले दाबी गरे ।

‘मैले बाबुराम भट्टराईलाई खबर गरिसकेँ, म २१ गतेबाटै स्वतन्त्र भइसकेँ । कसैको चाकडी गरेर पदमा बस्नु छैन,’ उनले भने, ‘मैले सत्तापक्ष र नेकपा एमाले कसैका लागि पनि एक मत मागेको छैन ।’

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।

गोरखा २ (२) मा अघिल्लो पटक निर्वाचित भएका आचार्यले अहिले सो क्षेत्रबाट टिकट पाएनन् । सो ठाउँमै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अहिले गोरखा २ (२) मा नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा उठेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट