मंगलबार, माघ २४ २०७९

असल बन्ने सकस



  • नेपालदीप
  • बिहिबार, कार्तिक २४ २०७९
2.7K
SHARES

दुर्योधनको आदेशले द्रोपदीलाई कौरवहरूको सभामा ल्याइयो । दुशासनले द्रोपदीलाई नाङ्गो पार्ने उद्देश्यले सारी समात्यो । द्रोपदी अनाथ थिइन् । पतिहरूले कौरवहरूको दासत्व स्वीकार गरिसकेका थिए । त्यो सभामा धर्मका अवतार भनिने विदुर, निष्ठा र धर्मका प्रतिमान भनिने भीष्म तथा द्रोणाचार्यआदि बसेका थिए । द्रोपदीले सोधिन् “के एउटी अवला नारीलाई नाङ्गो पार्न प्रयास गर्दा पनि चूप लागेर बस्नु धर्म हो ? कसैले केही बोलेनन् । विदूरले बोले तर उनी दासीको छोरा भएको हुँदा कुरा सुनिएन ।

द्रोपदीले आफ्ना प्रश्नको उत्तर त पाइनन् नै तर धर्म-अधर्मको कुरा गर्ने (सदाचारको ढोंग) ठूलाठूला व्यक्तिहरूको पोल भने खुल्यो । दुशासनले सारी तानिरहंदा सबै चूप लागे । यो सदाचारीहरूको सकस थियो । सदाचारी बन्न सजिलो छैन भन्ने प्रष्ट संदेश थियो । महाभारतको यो घटना कति सत्य हो ? यो आफ्नो ठाउँमा छ तर भष्ट्राचारीको सङ्गत गरेका र नून खाएका निकै ठूलाठूला व्यक्तिहरू पनि कौरवले द्रोपदीका उपर अत्याचार गर्दा चूप लागेर बस्नु पर्यो । असल हुनु र असलजस्तो देखिने प्रयत्न गर्नु यी दुई नितान्त फरक कुरा हुन् । द्रोपदी नांगिनबाट आफ्नो भाग्यले जोगिएको हुन्, ठूलाठुला धार्मिक व्यक्तिको हस्तक्षेपले होइन ।

आजको दुनियाँ असल कम र असल देखिने प्रयत्न गरिरहेको छ । खासगरी नेपाली नेतृत्वले सदाचारको साख गुमाएको छ । एउटा सर्वसाधारण मान्छेले पनि “राजनैतिक नेतृत्व सदाचारी छ” भन्ने बाक्य समेत सुन्न चाहन्न । राजनैतिक नेतृत्व सदाचारी छ कि भ्रस्ट्राचारी ईश्वरले जानुन कि ती आफैले तर सर्वसाधारण जनताले बुझेको सत्य यही हो । अहिले चुनावको मौसम चलिरहेको छ । शीर्ष नेतासहित सामान्य नेताका लागि “असल देखिने” सकसले ढाकेको छ । उनीहरू जुनसुकै जुक्ति लगाएर असल देखिन चाहन्छन् । उनीहरू असल देखिने चाहना गर्दै जनताका माझ क्रियाशील हुँदा जनताहरू भने उनीहरूमा “बहुलट्ठीपन” देख्छन् । दुशासनले द्रोपदीको सारी तान्दैन भन्ने कसैलाई विश्वास छैन । अचम्मको कुरा त के भने सारी तान्दै “मैले यिनै द्रोपदीको हितका लागि सारी तानेर नाङ्गो पार्ने प्रयास गरिरहेको छु” भन्दा पनि दुशासनकै पक्षमा उभिने मान्छे पनि प्रसस्त छन् ।

सधैं एकअर्काको खेदो खन्ने र एकअर्कोलाई खर्लप्प खाने नियत भएका राजनैतिक शक्तिहरूको मिलन पनि जनताको विश्वासका लागि निकै सन्देहास्पद छ । जनताले बनबासमा रहेकी द्रोपदीको इज्जतसंग खेल्न चाहने “जयद्रथ”हरू पनि निकै भोगेका छन् । भित्री मनबाट दुर्योधन, दुशासन वा जयद्रथजस्तो नदेखिए पनि भीष्म वा पाण्डवको मुखडा लिएका नेतृत्वलाई जनताले विश्वास गर्न सजिलो छैन किनभने द्रोपदीउपर अत्याचार हुँदा उनीहरू चूप लागेर अत्याचारको मतियार बनेका थिए । निसन्देह: अहिले नेपाललाई द्रोपदी बुझ्न सकिन्छ भने दुर्योधन र दुशासनहरू खुलिसकेका छन् तर जसले द्रोपदीको रक्षा गर्ने सङ्कल्प लिएका थिए, उनीहरूको आस्थामा पनि थुप्रै अविश्वास छ । धर्मराज युधिष्ठीरको धार्मिकता तेसै बखत गुमिसकेको थियो जव उनले आफ्नी पत्नी उपर अत्याचार हुँदा चूप लागेर बसे । अन्य पाण्डवहरूले पनि विश्वास गुमाएका छन् ।

बन्ने सकस सत्ताको अहङ्कार वा नशा नलाग्ने मान्छे सजिलै भेटिन्नन् । सत्ता प्राप्त भएपछि र सत्ताबाट वाहिर हुँदा मान्छेको चरित्रमा ठूलो फरक हुन्छ । सत्ता वाहिर निकै सालीन, भद्र तथा सदाचारी देखिने व्यक्ति सत्ता प्राप्तिपछि निकै स्वार्थी, अहङ्कारी, दुराचारी र भष्ट्राचारीमा रुपान्तरित हुन्छ । उसको त्यो उन्माद देखेर/भोगेर भोग्ने र देख्नेहरूले जिब्रो टोक्छन् । नेपालजस्तो मुलुकमा त झन् यो तत्थ्य आम भैसकेको छ । जुन विषयवस्तुबाट मुक्ति प्राप्त गर्न जनताले राजा (नेता) चुन्छन्, उही व्यक्ति अनाचारको थुप्रो निक्लन्छ । सम्बन्धित नेताको असली स्वरूप सत्ता प्राप्तिपछि प्रकट हुन्छ ।

इन्द्र देवताका राजा थिए । देवताको अर्थ नै असल भन्ने बुझिन्छ । जव उनले शक्तिशाली राक्षसहरूलाई जितेर स्वर्गको राज्य पुन: प्राप्त गरे, उनीमा अहङ्कार पलायो । उनी सधैं रमाइलोमा रमाउन थाले । शक्तिको दम्भमा न्याय र अन्यायको स्रोत नै आफुलाई ठान्न थाले । कसैले सम्झाउने प्रयत्न गर्दासाथ राजद्रोहको अपराध लाग्न थाल्यो । स्वर्गको राज्य उनको निजीस्वार्थमा केन्द्रीत भयो । उनी आफ्नो प्रशंसा वाहेक अन्य कुरा सुन्ने चाहन्नथे । स्वर्ग नै इन्द्र र इन्द्र नै स्वर्गका रूपमा परिभाषित भयो । उनले आफ्ना राजकीय तथा आध्यात्मिक गुरू बृहस्पतिलाई समेत वेवास्ता गर्न थाले । कुरा धेरै अगाडी बढेपछि राज्यगुरुका रूपमा आफ्नो दायित्व निर्वाह गर्दै इन्द्रलाई सदाचार वारे सचेत गराए । इन्द्रलाई आफ्ना गुरुको सल्लाह कत्ति पनि मन परेन । वृहस्पतिजस्ता सदाचारी र गुरूहरूलाई सीधै केही नभने पनि इन्द्रले पूरै वेवास्ता गर्ने निर्णय गरे । उनी आफुले गरेका हरेक कामको केवल प्रशंसा होस् भन्ने चाहन्थे । एकपटक आत्मरतिको लत लागेको मान्छेलाई त्यो आत्मरतिबाट वाहिर निस्कन निकै सकस हुन्छ । दुराचारको स्वाद पाएका व्यक्तिलाई सदाचारी बन्न निकै सकस हुन्छ ।

एक दिन इन्द्रले अप्सराको नांच हेर्दै मदिरापान गरिरहेका थिए । अत्यावश्यक विचार विमर्श गर्न गुरू वृहस्पति इन्द्रको सभामा आउनुभयो । इन्द्रले गुरू वृहस्पतिको गरिमामय उपस्थितिलाई पूरै वेवास्ता गरिदिए । राजकीय परम्पराअनुसार इन्द्रले देवगुरू वृहस्पतिको स्वागत र अभिभावदन गर्नु पर्ने थियो । तैपनि वृहस्पति इन्द्रसंग परामर्श गर्न चाहन्थे । असल चरित्रभएका व्यक्तिहरूले अर्कोलाई पनि असल नै देख्छन् । कमसल चरित्र भएका व्यक्तिहरूले असल व्यक्तिनै पाउन सक्दैनन् । कमसल व्यक्तिहरूले असल व्यक्तिको अभिनय गर्दा पनि कुतीलता व्यक्त हुन्छ । असल व्यक्तिले कुटीलताको अभिनय गर्दा पनि असल गुण प्रकट हुन्छन् ।

इन्द्र राज्यसत्ताले अन्धो भएका थिए । उनले देवगुरू वृहस्पतितिर आँखा उठाएर पनि हेरेनन् । उनी नांचगानमा नै मस्त रहे । वृहस्पतिले बुझे – यो नदेखेको होइन वेवास्ता गरिएको हो । असल व्यक्ति रिसाउँदैनन् । इन्द्रलाई असल शिक्षा दिने दायित्व वृहस्पतिकै थियो । वृहस्पतिले मनमनै निर्णय लिए र इन्द्रको सभाबाट “स्वस्ति” भन्दै वाहिर निस्किएर अलप भए । देवताहरूले इन्द्रलाई सम्झाउने प्रयत्न गरे तर काम लागेन । कामले अन्धो भएको र धनले (सत्ता) अन्धो भएको मानिसले आफ्नो स्वार्थ बाहेक केही देख्दैन । इन्द्रले पटक्कै टेरेनन् ।

बृहस्पतिले इन्द्रलाई त्यागेको समाचार थाहा पाउँदासाथ असुरहरूले पुन: स्वर्गमा आक्रमण गरे । इन्द्रको सत्ताअहङ्कार चूरचूर भयो । उनले राजपाट गुमाए । जव उनको हातबाट सत्ता गयो, उनीमा विवेक पलायो । इन्द्रले वृहस्पतिलाई निकै खोजे तर भेटेनन् । असल र कमसलको फरक जान्दाजान्दै कमसल व्यबहार गर्ने व्यक्तिहरूसंग जोगिनुपर्छ । भ्रस्ट्राचार गर्दिन भन्ने तर सत्ताप्राप्ति गर्दासाथ त्यही गर्ने व्यक्तिमा विश्वास गर्नेहरू मूर्ख हुन् । यस्ता मूर्खहरूले कहिलेकाहीं निकै ठूलो मूल्य चुकाउनु पर्छ । इन्द्रले जानाजान अपराध गरेका थिए । त्यो अपराध विरुद्ध बोल्न नसक्ने देवताहरूले पनि स्वर्ग गुमाए ।

असल बन्ने वा देखिने नाटक गर्न सजिलो छ तर सत्ता प्राप्तिपछि असल बनिरहन निकै सकस हुन्छ । सधैं सत्ता प्राप्त गर्न असल मान्छेको नाटक मन्चन गर्ने र सत्ता प्राप्तिपछि पुन: उनी कमसल आचरणमा फर्कनेहरू धेरै हुन्छन् । देवराज इन्द्रलाई गुरू वृहस्पतिले त्यागेपछि मात्र देवराज इन्द्रले गुरुको महत्व बूझे । चुनावी व्यवस्थामा जनताहरू गुरू वृहस्पति नै हुन् । सत्तामा पुगेर एकपटक धोका दिएका “राजाहरू”लाई गुरू (जनता)ले परित्याग गर्नुपर्छ । भोट नदिंदा परित्याग हुन्छ । असलहरूले सकस भोग्नु हुँदैन कमसलहरूले अवसरप्राप्त गर्नु हुँदैन । बरू, कमसलहरूले पनि असल बन्ने नाटक होइन असल बन्ने सकस भोग्नुपर्छ र असल बन्नुपर्छ ।

श्रीमद्भागवतको यो कथाले सत्तामा रहंदा र सत्ता वाहिर हुँदा कमसल मान्छेले के-कस्तो नाटक मन्चन गर्छन् भन्ने जानकारी दिन्छ । वृहस्पतिको वीरतापूर्ण त्यागलले कमसल व्यक्तिलाई बोक्नु हुँदैन, त्याग्दा मात्रै उसको कल्याण हुन्छ भन्ने पनि संदेश प्राप्त हुन्छ । जानाजान सत्ताको दुरुपयोग गर्नेलाई निर्ममतापूर्वक त्याग गरिएन भने समाजले निकै ठूलो क्षति बेहोर्नु पर्छ । वृहस्पतिले इन्द्रलाई त्याग्दा केवल इन्द्रलाई मात्र त्यागेका थिएनन्, उनले देवराज इन्द्रको गुरूका रूपमा प्राप्त राज्यसत्ताबाट प्राप्त सुविधाहरू समेत त्यागेका थिए ।
कौरवको सभा होस् वा बृहस्पतिले त्यागिदिएका इन्द्र दूबैको चरित्र सर्वसाधारणले बुझिसकेका छन्, पर्खिसकेका छन् । यो चुनावी माहौलमा उनीहरूसंग भएको एउटा मात्रै विकल्प छ – उनीहरू जसरी पनि असल देखिनु, सुनिनु र बुझिने प्रयन्त गर्न बाध्य छन् । नेपालको राजनैतिक नेतृत्व असल देखिने बाध्यात्मक सकसको चरमअवस्थाबाट गुज्रिरहेको छ । यो कुरा गुरू वृहस्पति (जनता) र द्रोपदीले राम्ररी बुझेकी छन् भने नेताहरूसंग बुझेर पनि बूझ पचाउनु बाहेक अर्को विकल्प छैन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार