आइतबार, मंसिर ११ २०७९

नियतको कथा (Intention)



  • नेपालदीप
  • शनिबार, कार्तिक २६ २०७९
855
SHARES

१. सहरिया प्रौढ मान्छे एउटा गाउँमा आफ्नो घरमा काम गर्ने “केटी” खोज्न गयो । उसले दुईतीन परिवारसंग कुरा गर्यो । एउटा परिवारले केटी पठाउने भए । दूइजना दिदीबहिनी मध्ये उसले काम गर्न सक्ने १८ वर्षकी दिदी छोडेर, तर उसले उसकी ११ वर्षकी बहिनी रोज्यो । अलि बढी पैसा दिंदा बहिनीलाई पठाउने भएपछि त्यो प्रौढ व्यक्ति खुसी भयो । उसको ब्यबहार अतिमिठो, मिलनसार र सहयोगी देखिन्थ्यो र परिवारले राखेका सबै शर्त (पढाई दिने, असजिलो काम नगराउनेआदि) सहजमा स्वीकार गर्यो ।

(२) अर्को एकजना आफ्नो पत्नीलाई सघाउँनका लागि “केटी” चाहन्थ्यो । उ पनि एउटा गाउँमा पुग्यो । गाउँले विश्वास गर्ने परिचित व्यक्तिसंग आफ्नो आवश्यकता बतायो । सम्बन्धित गाउँलेले एउटा परिवारसंग भेट गरायो । परिवार निकै गरिव थियो तर छोरीहरूले पढून् भन्ने चाहन्थ्यो । उसले १६ वर्ष की किशोरीलाई रोज्यो र कुरा मिल्यो । साहु अलि रुखो लाग्थ्यो । परिवारका सदस्यले बालिकालाई दु:ख दिने हो कि भनेर डर लागि रहेको थियो । तर साहुले भने “यसले राम्रो गरी भने मैले यिनले चाहेसम्म पढाईदिन्छु, परिवारको सदस्यझैं राख्छु । बदमासी गरी भने भोलिपल्ट घर पठाईदिन्छु ।”

दूवै बालिका र किशोरी सहर आए । पहिलो साहु बालिकाउपर यौनदुर्व्यवहार गरेको प्रमाणित भएपछि जेलमा छ भने दोश्रो साहुको घरमा रहेर ती किशोरी नर्स बनेकी छन् । साहुजी अलिअलि रुखो हुनुहुन्छ तर गरिव बालबालिकालाई आफ्नो घरमा ल्याएपछि उसलाई घरको काम लगाए पनि उसलाई शिक्षा दिनैपर्छ भन्नुहुन्छ ।

नेपालीको नियत शब्दले अंग्रेजीको (Intention) प्रतिनिधित्व गर्छ । समस्या के हो भने तपाईं/मेरो व्यबहार देख्न र बुझ्न सकिन्छ तर नियति वा नियत बुझ्न सकिन्न । सुकिलोमुकिलो तथा सभ्यजस्तो र राम्रो व्यबहार देखाउने व्यक्तिको नियत कमसल हुनसक्छ र अलिअलि रुखो, अलि असामान्य व्यबहार र खरो बोल्ने व्यक्तिको नियत असल हुन सक्छ । मान्छेको शारीरिक भाषा, आँखाको हेराई, उत्सुकता तथा सामाजिक व्यबहारबाट नियति पढ्न सकिन्छ । नियति खराव भएको व्यक्तिको व्यबहार, बोली, सामाजिक सम्बन्धमा सहजता नहुन सक्छ । किनभने मान्छेको “नियत” देख्न सकिन्न तेसैले तपाईंले वा मैले विश्वास गरेको व्यक्तिको “नियत”वारे कुनै पनि भविष्यवाणी गर्न सकिन्न ।

श्रीमद्भागवत जीवन सफल गर्ने पुराण हो । यसका हरेक कथा जीवनसंग गहिरो सरोकार राख्छन् । वृत्रासुरको जन्म नै इन्द्रलाई मार्ने प्रयोजनका लागि भएको थियो । विश्वरूपका पिता आफ्नो छोराको हत्याले निकै रिसाएका थिए । उनको रीसले मारिएको छोरा फर्कन सक्ने थिएन । तपस्वी भएर कसैको हत्या गर्ने/गराउने प्रयोजनका लागि उद्योग गर्नु उचित थिएन तर वृत्तासुरको जन्म र काम पहिलेनै तोकिएकाले इन्द्रसंग लड्नु पर्ने नै थियो । उनीसंग विकल्प थिएन तर वृत्तासुर स्वयंलाई “युद्धको भयानक परिणाम” वारे जानकारी थियो । उनले आफ्नो मृत्युपनि बुझेका थिए । उनले त्यो लडाई लडे र मारिए तर वृत्रासुरको नियत देखेर/सुनेर इन्द शत्रु इन्द्र पनि प्रसंशा गर्न बाध्य भए ।

वृत्रासुरको युद्ध कर्तव्यले बाँधिएको थियो । उनले युद्धको अवस्थामा आफ्नो कर्तव्य पालन गरे । यसो गरिरहंदा उनको मनमा मृत्युको डर थिएन किनभने उनले संसारको नश्वरता चिनेका थिए । उनले आफ्नो जीवन कर्तव्य पालन गर्दै भगवान्मा समर्पित गरे । गीतामा भगवानले प्रष्टसंग “अर्जुन ! तिमीले जे गर, त्यो मेरो नाम लिएर, मलाई समर्पण गरेर तथा आफुले प्राप्त गरेको कर्तव्यका रूपमा बूझ” भन्दै स्वधर्मको पालन गर्न प्रेरित गर्नुभएको छ । कहिलेकाहीं असल नियत भए पनि कर्तव्य पालनका क्रममा कमसल काम हुन्छ । तर त्यस्तो कर्मको दोष कर्तालाई हुँदैन । गृहमन्त्रीको आदेशले गोली प्रहार गर्ने प्रहरीको नियत र नियति दूवै खराव हुँदैन

नियतका विषयमा सबैभन्दा बढी प्रश्न उठ्ने व्यक्तिहरूको सूचिमा राजनैतिज्ञहरू अगाडी छन् । सत्ता र नियतको सम्बन्ध निकै विवादित छ । सबै राजनीतिज्ञहरूको नियत खराव हुँदैन तर धेरै राजनीतिज्ञहरू खराव नियतका हुन्छन् भन्दा पत्याउनु पर्ने अवस्था छ । हामी नेपालीले आफ्ना राजनीतिज्ञहरूलाई चिनेका छौँ । भारतीय वा अमेरिकी राजनीतिज्ञका विषयमा तेहाका जनताले बुझुन् । नेपालमा किन राजनीति गरिन्छ ? यो प्रश्नको उत्तरमा राजनीति गर्नेले फरक र सामान्य जनताले फरक जवाफ दिने छन् । हामीलाई अनुमान छ : राजनीतिज्ञहरूको नियत सफा हुँदैन । राजनीति गर्दा जनतासंग उनीहरू सजिलै र गर्ने नसक्ने कामका लागि झूट बोल्छन् । उनीहरूको नियति प्रष्ट छ : सत्ता प्राप्त गर्ने । सत्ता सुख नियत हो भने सत्ता प्राप्त गरेपछि सेवाचाहिं काकताली !

मैले नियति अर्थात् भाग्यको कुरा गरेको होइन । यहाँ नियतको अर्थ विशुद्ध मान्छेको मनमा रहेको भविष्यको योजना र तेसको कार्यन्वयनसंग सम्बन्धित छ । माथिका तीनपात्र, पहिलो पात्रको उद्देश्य नै सांस्कृतिक, सामाजिक, धार्मिक तथा कानुनीरूपमा खराव थियो । दोश्रो व्यक्तिले कानुनी रूपमा केही कमसल गरेको भए पनि उसको नियतमा कुनै कमसल चेतना थिएन भने असुर भएर पनि कर्तव्यलाई महत्व दिने महाभागवत वृत्तासुरको नियत असल थियो भने उनको आवरणचाहिं कमसल थियो । तेसैले श्रीमद्भागवतले सबैको लागि जीवन र मोक्षको प्रत्याभूति दिन्छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट