आइतबार, मंसिर ११ २०७९

नेपाली मतदाताको मनोविज्ञान



  • नेपालदीप
  • शनिबार, कार्तिक २६ २०७९
1.7K
SHARES

नेपालको इतिहास हेर्दा आधुनिक नेपालको निर्माणपूर्व नेपाल अनेकौ साना राज्य रजौटाहरुमा विभाजित थियो । भौगोलिक र जनसांख्यिक हिसाबले साना राज्यहरुमा तुलनात्मक रुपमा शक्तिशाली शासकहरु हुने गरेको इतिहास पाइन्छ । त्यसकारण पनि ति राज्यहरुमा शासकहरूले निरंकुशता र तानाशाही शासनको अभ्यास गरेको सजिलै अनुमान लगाउन सकिन्छ । शिक्षाको कमि, कमजोर आर्थिक अवस्था, परनिर्भरता, कठिन भौगोलिक अवस्थाका कारण जनताले आफ्ना हकहितका बारेमा बोल्नु त परै जावोस, अन्याय र अत्याचारको बिरुद् संगठित भएर बोल्ने सामर्थ्य पनि राख्थेनन होला र सधै रैती कै हैसियतमा रहे होलान । शासक प्रति कहिल्यै प्रस्न गर्ने, आफ्नो हक अधिकारको लागि आवज उठाउने र राज्यको निरंकुशता बिरुद्ध उभिने धृष्टता गरेनन होला । अथवा, कम जनसंख्या हुने भएकोले वा उदार र नैतिकवान शासक भएको कारणले राज्यले पनि जनताप्रति समभाव, समान व्यबहार, सेवा, श्रोत र साधनमा समान पहुच र दक्षता अनुसारको समान अवसर प्रदान गर्योहोला र जनताले पनि शासक प्रति र राज्य व्यबस्था प्रति प्रश्न गर्ने अवसर आएनहोला । र यसरि , शासकले गरेको हरेक निर्णय सहिनै हुन्छ, जनतामुखी हुन्छ त्यसैले शासक प्रति प्रश्न गर्नु कुनै आवश्यक छैन भन्ने मनोविज्ञान तयार भयो । न्याय नपाए गोर्खा जानु भन्ने उक्त्ति त्यसैकारण पनि प्रचलित भएको होला । उक्त्त उक्त्तिले पनि त्यतिबेलाको राज्यको, शासकको र समाजको उदारता र सामाजिक न्यायको अवस्था र जनताको राज्य र शासक प्रतिको बिश्वास र मनोविज्ञान प्रष्ट पादर्छ ।

आधुनिक नेपालको निर्माण पछि नेपालमा निरन्तर शासकहरुनै हावी भए । राज्य सत्ताको वरिपरी, सत्ताको लुचाचुडीमा, षडयन्त्रमा, धोखाधडी, हत्या हिँसा र काटमारमै शासकहरुको ध्यान केन्द्रित हुन थाल्यो । जनताका न्युनतम आवस्यकताका कुराहरु पनि शासकहरुको प्राथमिकतामा कहिल्यै परेनन ।जनता उपेक्षित र तिरस्कृत हुदै गए र कमजोर हुदै गए, शासकहरु झन् निरङ्कुश, तानाशाही र शक्तिशाली हुदै गए । यो क्रमको निरन्तरता राणा शासन हुदै पंचायती व्यबस्था सम्म आइपुग्यो । पंचायत सम्म आइपुगेको निरंकुशताले नेपाली समाजको उन्नति, प्रगति, बिकास र समृद्धिलाइ मात्रै छेकेन यो निरंकुशताले नेपालि जनताको आफ्नो हकहित, अधिकार ,समानता र न्यायको बारेमा बोल्ने, प्रश्न गर्ने , शासकलाई खबरदारी गर्ने बानीको (Behavior) विकास पनि हुन दिएन । हामीमा अहिले पनि शासकले गर्ने हरेक निर्णयलाइ  सजिलै स्वीकार्ने, प्रश्न गर्नु बेकार ठान्ने बरु दुखकष्ट सहेरै बस्ने मनोविज्ञान अनुबंशिक व्यबहार (Genetic behavior ) को रुपमा पुस्तौ पुस्ता देखि रहिआएको छ ।

त्यसैले त आजसम्म पनि हामीले राज्यप्रति, सरकार प्रति र आफ्नो शासक प्रति कहिल्यै प्रश्न गरेनौ । हाम्रा छोरिचेलीहरु बलत्कृत भए हत्या गरिए, हामीले न्याय पाएनौ हामीले सह्यौ । सिमा मिचियो, हामीले मौन धारण गरयौ । अरबौ भ्रस्टाचारको समाचार आयो, राष्ट्रहित बिपरित सन्धि सम्झौता गरीए, हामीले यी मुद्धालाइ चियागफमै सिमित गरिदियौ । महामारी आयो, जीबन कस्टकर भयो, हजारौले ज्यान गुमाए, हाहाकार मच्चियो, त्रास फैलियो हामीले उडन्ते र बकम्फुसे गफमा रमायौ र तालि बजायौ ।     अठार घण्टा पेट्रोलको लाइनमा हामि चुपचाप बस्यौ, अठारै घण्टा कालो अध्यारोमा रुमलिदा पनि हामीलाइ कहिल्यै अत्यास लागेन । बर्सौ सम्म धुलाम्य र हिलाम्य सडकमा मास्क लगाएरै भएपनि व्यापार गरिरहयौ, यात्रा गरिरहयौ हामि बोलेनौ । बेरोजगारी र तमाम बेथिति हुदापनि मौनता साधिरहयौ, चुपचाप सहिरहयौ, मुकदर्शक बनिरहयौ ।  पुस्तौ देखि हामीमा आएको अनुबंशिक व्यबहार (Genetic Behavior) ले हामीलाई पटक पटक असफल भैसकेका शासकलाइ नै शासन सुम्पिन अभिसप्त बनाइरह्यो ।

नेपालको संबिधानले आफ्नो मत प्रयोग गरेर आफ्नो नेता छान्न पाउने अधिकार जनतालाइ सुनिश्चित  गरेको छ । आजसम्मको निर्वाचनको इतिहास हेर्ने हो भने नेपालि जनताले निर्वाचनलाई उत्सवको रुपमा लिने गरेको पाइन्छ। सहभागिताको दृष्टिकोण बाट हेर्दा हरेक निर्वाचन सफल मानिएपनि उमेद्द्वार छनौट र एजेन्डा छनौट को दृष्टिकोणले भने नेपाली जनता आफ्नो अनुबंशिक व्यबहारले (Genetic Behavior ) गर्दा चुकेको अवस्था छ ।

नेपाली समाज व्यबस्था, सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनको पक्षमा भने सधै अग्रगामी र उदार देखिन्छ । हामीले व्यवस्था परिवर्तन गर्यौ, संबिधान परिवर्तन गर्यौ, देशलाई धर्म निरपेक्ष पनि गर्यौ । यी त देखिने गरि भएका राजनैतिक परिवर्तन भए । समय संगसंगै हामीले अरुपनि धेरै कुरा बदलिसक्यौ । हाम्रो धार्मिक आस्थाका शास्त्रहरु बदल्यौ, चाडपर्व मनाउने तौर तरिका बदल्यौ, मृत्यु पछी गरिने काजक्रियाको प्रक्रिया बदल्यौ, पितृहरुको स्मृतिमा गरिने श्रादको बिधि बदल्यौ, कतिले धर्म बदल्यौ, संस्कृति बदल्यौ, सभ्यता बदल्यौ, कतीले देश बदल्यौ, कतिले नागरिकता बदल्यौ, जीवनशैली बदल्यौ, कतिले जीवनसाथी बदल्यौ, प्रेम बदल्यौ, जन्मथलो छोड्यौ, कर्म बदल्यौ हामीले कति बदल्नु पर्ने कुरा बदल्यौ कति बदल्न नहुने कुरा पनि बदल्यौ । हामीले केवल बदलेनौ त आफ्नो मत ( Vote
) बदलेनौ र आज यो दिन भोगिरहेछौ । यदि हामीले सहि समयमा मत बदल्न सकेको भए न हामीले नागरिकता बदल्नुपर्थ्यो न देश बदल्नुपर्थ्यो, न कर्म बदल्नुपर्थ्यो न धर्म बदल्नुपर्थ्यो ।

अब निर्वाचन पनि हाम्रो संघारमा छ । परम्परागतबादी दलहरु गठबन्धन र अन्य स्वरुपमा उही पुरानै रुग्ण, पुरातनबादी सोच भएका, पटक पटक असफल भएका, राजनीतिलाइ आफ्नो पेवा सम्झिने पिलन्धरे नेताहरुलाई उमेद्द्वार बनाएर प्रतिस्पर्धामा उत्रिएका छन ।  खुसीको कुरा यसपटक दक्ष, पढेलेखेका, बौदिक, बिज्ञ, जुझारु, नया सोच र जागर बोकेका युवा पनि उमेद्द्वार छन । यसपटक यदी नेपालि मतदाताले आफ्नो अनुबंशिक व्यबहार परिबर्तन गरेर आफ्नो मत (Vote) परिबर्तन  गर्ने हो भने नेपालको राजनीतिक अवस्था परिबर्तन हुने देखिन्छ । स्थानीय निर्वाचंनमा देखिएको  मत परिवर्तनले पनि यहि संकेत गर्छ । त्यसैले अब हरेक नेपाली सचेत बनेर आफ्नो मतको सहि सदुपयोग गरौ, देश, जनता, आफ्नो सन्ततिको भविष्य सम्झेर मत परिवर्तन गरौ, सक्षम र इमान्दार प्रतिनिधि चुनौ ।

मत परिवर्तन गरौ, अवस्था परिवर्तन गरौ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट