आइतबार, मंसिर ११ २०७९

बर्दी लगाएर राष्ट्र भाव झल्कने गीतमा टिकटक बनाउँदै म्यादी प्रहरी



  • नेपालदीप
  • बुधबार, कार्तिक ३० २०७९
703
SHARES

म्यादी प्रहरीको बर्दी लगाएर बनाएको एउटा भिडिओ स्थानीय तहको निर्वाचनको सेरोफेरोमा भाइरल भयो।

“सागर बसन्ते किस्ने सबहरू हन नडरा के तिमीहरू। किन डराको छस्। तेरो दाइ मिदी भइसक्यो।”

उक्त भिडिओमा सुनिएको आवाजमाथि कसैले मिम बनाए त कसैले टिकटक। कतिले भने त्यसरी भिडिओ बनाउनुलाई म्यादी प्रहरी पोसाकको दुरुपयोगको संज्ञा दिए।

सामाजिक सञ्जालहरूमा हाँसो र प्रश्नको विषय बनेपछि उक्त भिडिओ बनाउने व्यक्तिबारे छानबिन भयो। अन्ततः उनले म्यादी प्रहरी रहेका आफन्तको पोसाक दुरुपयोग गरेको पुष्टि भयो।
सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको जानकारी प्रहरीले सार्वजनिक गर्‍यो।

यद्यपि, उक्त आवाजमा भिडिओ बनाउने क्रम रोकिएको भने छैन। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादीहरूले समेत बर्दीमै ठाँटिएर भनिरहेका छन्- तेरो दाइ मिदी भइसक्यो।

मिस पूजा नामक टिकटक प्रयोगकर्ताले उक्त आवाज प्रयोग गरेर भिडिओ बनाएकी छन्। जसमा उनीसहित तीन जना म्यादी प्रहरी बर्दीमा देखिन्छन्। उनीहरू घाँटीमा परिचयपत्रसहित नाचेको भिडिओ करिब १५ हजार पटक हेरिएको छ।
उसो त म्यादी प्रहरीको भूमिका निर्वाह गरिरहेका केहीले राष्ट्र भाव झल्कने वा देशको लागि खटिरहेको सन्देश दिने गीतमा समेत भिडिओ बनाएका छन्।

यद्यपि, आचारसंहिता र मापदण्ड पालना सम्बन्धी सर्तले म्यादी प्रहरीहरूलाई पोसाकमा कुनै पनि किसिमको भिडिओ बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गर्न निषेध गरेको बताउँछन् केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राई।

“सीमित समयको लागि भए पनि उहाँहरू प्रहरी नै हो। उहाँहरूलाई पनि नेपाल प्रहरी सरह आचारसंहिता लागू हुन्छ। त्यसरी टिकटक बनाउनु वा जथाभाबी सामग्री सम्प्रेषण गर्नु नियम विपरीत कार्य हो,” राईले बीबीसीसँग भने।

‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले काममा खट्दा मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री साझा गर्न नपाउने उल्लेख गरिएको उनले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट