आइतबार, मंसिर ११ २०७९

मौन अवधिमा के गर्न पाइन्छ र के गर्न पाइँदैन? तपाईलाई थाहा छ?



  • नेपालदीप
  • शुक्रबार, मंसिर २ २०७९
589
SHARES

मतदान हुनुअघिको अन्तिम ४८ घण्टामा मतदातालाई लोभ्याउन भोज भतेर गर्ने र पैसाको प्रलोभन दिने अभ्यास विगतका चुनावमा देखिएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग र राजनीतिक दल दुवैले भूमिका खेल्नुपर्ने पूर्व निर्वाचन आयुक्तहरूले बताएका छन्।

चुनावी आचारसंहिताले त्यस्ता गतिविधिमाथि बन्देज लगाएको छ। तर पूर्व निर्वाचन आयुक्त उषा नेपालका अनुसार चुनावको अन्तिम घडीमा मदिरा सहितको भोज खुवाउने र मतदातालाई रकम बाँड्ने अभ्यास नेपालको सन्दर्भमा नौलो होइन।

तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कसुर तथा सजाय ऐन आकर्षित हुने कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्न विशेष निर्देशन दिइएको बताएका छन्। उनले मतदानको ४८ घण्टा अघिबाट निषेधित गरिएका गतिविधिलाई नियन्त्रण गर्न कानुनले तोके विपरीतका कार्य गर्नेहरूलाई २५ हजार रुपियाँ जरिवाना गर्न निर्देशन दिइएको बताए।

मौन अवधिलाई किन संवेदनशील समय मानिन्छ?
चुनाव हुनुभन्दा ४८ घण्टा अघिको समयमा सबै खालका चुनावी प्रचार प्रसारलाई निषेधित गरिएको हुनाले यसलाई मौन अवधि भन्ने गरिएको छ।

मतदाताहरूलाई सोचेर आफ्नो मत जाहेर गर्ने अवसर दिनका लागि त्यस्तो अवधि दिइएको पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्मा बताउँछिन्।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को धारा २४(५)ले कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिबाट मतगणनाको काम पूरा नभएसम्म कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्ने वा गराउनेलाई २५ हजार रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

पूर्व निर्वाचन आयुक्त उषा नेपालले कानुन र आचारसंहिताको उल्लङ्घन नहुने कुरा सुनिश्चित गर्न मौन अवधिमा अनुगमन बढाउनुपर्ने बताइन्।

उनले भनिन्, “घर घर नै गएर पैसा बाँड्नेलाई पनि रोक्नुपर्‍यो। अन्तिम घडी महत्त्वपूर्ण हुन्छ। पैसाको छेलोखेलो, रक्सी यी सबै चल्छ। तर थाहा हुँदैन। त्यसका लागि निर्वाचन आयोगले निगरानी गर्ने हो।”

यस्ता गतिविधिले निर्वाचनको स्वच्छतालाई प्रभावित पार्ने भन्दै उनले राजनीतिक दलहरूले गलत गतिविधिलाई बढवा दिन नहुने बताइन्।

निर्वाचन आयोग वा प्रहरी लगाएर मात्रै यस्ता गतिविधि नियन्त्रण नहुने धारणा राख्ने पूर्व आयुक्त नेपालले दल र उम्मेदवारहरूले आफ्नो दायित्व पालना नगरे निर्वाचन आयोगले कारबाही गर्नुपर्ने बताइन्।

मौन अवधिमा के के गर्न पाइँदैन !

  • निर्वाचन आयोगले गए राति बाह्र बजेबाट निम्न गतिविधि प्रतिबन्धित भएको उल्लेख गरेको छ।
  • निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने
  • मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने
  • कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने
  • सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न, गराउन नहुने
  • प्रचार प्रसार वा मत माग्न साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गर्न नहुने
  • मतदान सुरु हुनु तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा कर्मचारीलाई बाधा पुर्‍याउने काम गर्न नहुने
  • बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, समारोह वा सभा गर्न र होहल्ला वा हुल हुज्जत गर्न नमिल्ने
  • मतदान केन्द्र आसपासको भवन र निजी क्षेत्रमा शान्ति भङ्ग गर्ने वा भय त्रासको वातावरण बनाउने वा चुनाव बिथोल्ने कुनै पनि गतिविधि गर्न नमिल्ने
  • दल, उम्मेदवार र भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन र प्रचार प्रसारका सामग्री हटाउनुपर्ने

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट