मंगलबार, माघ २४ २०७९

गुरूलाई सम्मान गर्न सिकाउँ



  • नेपालदीप
  • शुक्रबार, मंसिर ९ २०७९
2.4K
SHARES

जन्मदिने आमावुवा गुरू  हुन् । शिक्षा दिने  शिक्षकहरू गुरू हुन् । दीक्षा (मन्त्र सिने) आध्यात्मिक गुरू हुन् भने भोजन दिने गुरू प्राण रक्षक र आफुले जन्माएका छोरा वा छोरी दिएर गृहस्थ नागरिक बनाउने (सासुससुरा)  गुरू हुन् । यी सबै गुरूहरूलाई आदरसम्मान गर्नुपर्छ । वैदिक संस्कृतिमा गुरूहरूको त सम्मान गर्नुपर्छ नै अन्य प्राणिहरूप्रति पनि सद्भाव राख्नुपर्छ । आफुले आफ्ना गुरूहरूको आदरसम्मान गरौँ, बालबालिकाले स्वत: तपाईंबाट त्यो सिक्छन् । यदि मैले गुरूहरूप्रति आदरसम्मान व्यक्त गरिन भने मेरा बालबालिकाले मेरो लागि आदरसम्मान कसरी गर्छन् ?

गुरूलाई सम्मान गर्ने वैदिक तरिका भनेको उहाँका चरणमा प्रणाम गर्नु हो । आफ्ना उपरोक्त गुरुहरूको चरणमा प्रणाम गर्दा आयु, यश विद्या र बल बढ्छ भन्ने शास्त्रको मान्यता छ । दोश्रो आदर गर्ने तरिका भनेको कुशलक्षेम सोध्नु हो । तपाईं कस्तो हुनुहुन्छ ? मैले केही सहयोग गर्न सक्छु कि भन्दै विनम्रतापूर्वक बोलचाल गर्नुपर्छ । तेस्रो, गुरूहरूलाई देख्दा वा उहाँहरूसँग भेट हुँदा आफ्नो वसेको ठाउँ छोडेर उठ्ने, हात जोडेर नमस्कार गर्ने र उहाँको लागि आसन दिनु हो । घरमा जे-जस्तो ठाउँ, भोजन-पानी उपलब्ध छ, त्यो उहाँका लागि दिनुपर्छ । स्वीकार गर्ने नगर्ने उहाँहरूको इच्छा र आवश्यकतामा भर पर्छ ।

आजभोली गुरूजनहरूलाई वेवास्ता गर्ने प्रचलन बढेको छ । आमावुवा, शिक्षक, गुरू, सासुससुरा, अन्नदातालाई पैसाले पाउन सकिन्न । तपाईंसंग जतिसुकै पैसा र योग्यता भए पनि त्यो सबैले एउटा मकैको गेडा पनि उत्पादन गर्न सक्दैन । त्यसैले प्रत्येक अभिभावकले आफ्ना बालबालिकाहरूलाई नमस्कार गर्न, चरणमा प्रणाम गर्न, आदरपूर्वक बोल्न र उठेर सम्मान व्यक्त गर्न आफै सिकाउनु पर्छ । आमावुवा, छोरी, मान्यजन, दिदीबहिनी, फुपू, भान्जाभान्जी, भिनाजुआदिको चरणमा शिर राखेर ढोग्ने वैदिक परम्परा हो । यी कर्तव्यहरू पालन गर्दा गौरव गर्नुपर्छ । यी हाम्रा परम्पराहरू हुन् । (नेपाली समाजमा छोरीले बाबुआमाको चरणमा ढोग्दैनन् । यसको अर्थ छोरीहरूले पनि आमावुवाको हातमा ढोगेर सम्मान व्यक्त गर्नुपर्छ ।

आजभोलीको पुस्तालाई “गुरूहरूको सम्मान गर्नु दासताको अवशेष हो” भनेर सिकाइन्छ । यसो विचार गरौँ त हाम्रा आमाबुवा तथा आफन्तहरूले ठीकठीक तवरले मेरो संरक्षण र लालनपालन नगरिदिएको भए के म जीवित रहन सक्थे ? के शिक्षक/शिक्षिकाहरूले जीवन सम्वन्धि शिप नसिकाएको भए म आज प्राध्यापक बन्न सक्थें होला ? मेरा दीक्षागुरूले मलाई धर्म, संस्कृतिको शिक्षा दीक्षा नदिएको भए म के आनन्दमय जीवन विताउन सक्थें होला र अन्त्यमा, कृषकरूप गुरूहरूले अन्नपानी उत्पादन नगरीदिएको भए म जीवित रहन सक्थें होला ? पाश्चात्यहरूले यी सबै कामहरू कानुनअनुसार हुनैपर्छ भन्ने सोच्छन् तर तपाईं वा मेरो जीवन समाप्त भैसकेको पछि कानुनी व्यबस्थाको मेरोलागि कुनै औचित्य हुँदैन ।

विश्वका संस्कृतिअनुसार अभिनन्दन गर्ने शैली फरकफरक हुनु स्वभाविक हो । यहुदी, इसाई, मुस्लिमहरूले आ-आफ्नो शैलीमा अभिनन्दन गर्छन् । उनीहरू सधैं आफ्नो अभिनन्दन शैलीमा गौरव गर्छन् । हामी सनातनीहरूले पनि आफ्नो अभिनन्दन शैलीमा गौरव गर्नुपर्छ । उदाहरणका लागि केही इसाई तथा मुस्लिम समुदायमा अभिनन्दन गर्दा म्याई खाने चलन छ तर हाम्रो समाजमा छैन । हाम्रो समाजमा नमस्कार गरेर, झुकेर वा सुतेर हातमा टाउकोले छुने, झुकेर नमस्कार गर्ने तथा पूरै झुकेर गोडानै छुने चलन छ । यी शैलीहरू हाम्रा गौरव हुन् । केटा मान्छेले आफ्ना गुरू (आमावुवा,शिक्षक, दीक्षा गुरू, अन्नदाता तथा सासुससुरा) को आफ्नो सामाजिक तथा सांस्कृतिक मान्यताअनुसार अभिनन्दन गर्नैपर्छ । गोडा छुने अधिकार प्राप्त गरेकाले गोडा छोएर नै ढोग्नुपर्छ । ढोग्ने चलन नभएमा सोहीअनुसारको अभिनन्दन गर्नुपर्छ ।

गुरू, देवीदेवता तथा तीर्थस्थलहरूमा झुक्ने, तिनलाई सम्मान गर्ने शिक्षा हामीले आफ्ना सन्तानलाई दिनैपर्छ । शिक्षित व्यक्तिको गहनानै उसको नम्रता, विनय तथा सम्मान हो । विनयशीलता, नम्रता तथा आदरभाव नै वैदिक संस्कृतिको पहिचान र अंग हो । सबै असल कुरा सिकाउँ तर विनय, नम्रता तथा आदरसत्कार गर्ने सदाचार अवश्य सिकाउँ । राजाले अज्ञानमा आफ्ना गुरुको अपमान गर्दा समेत गोही हुनु पर्यो भने जानाजान कसको पनि अपमान गर्ने वानी सिकाईमा नपरोस् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार