मंगलबार, माघ २४ २०७९

१९ किलो सुनबारे सिआइबिको अनुसन्धान



  • नेपालदीप
  • शुक्रबार, पुष २२ २०७९
1.2K
SHARES

२२ पुस, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा ८ पुसमा भन्सार जाँचका क्रममा सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद भएको थियो | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा प्रहरीको टोलीले कम्मरमा बाँधेर ल्याएको सुन बरामद गरेको थियो। २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्डिन १९ केजी सुनसहित प्रक्राउ परेका थिए।

२०७५ सालमा चुडामणि उप्रेती ‘गोरे’को व्यवस्थापनमा चलेको सुन तस्करीको ठूला र्‍याकेट ध्वस्त भएपछि नेपालमा ठूलो परिणाममा सुन बरामद भएको थिएन ।

विमानस्थलबाट बरामद भएको १९ किलो सुनका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ ।फ्लाई दुबईको फ्लाइट नम्बर एफ२५३९ बाट सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दन १९ किलो अर्धठोस सुनसहित पक्राउ परेका थिए । उनले त्यो सुन डेलिभर गर्न लागेका व्यक्तिलाई सीआईबीले समातेको छ ।

विमानस्थलभित्रै भन्सारले समातेको हालसम्मकै सबैभन्दा बढी परिणामको सुन भएकाले त्यसमा विस्तृत अनुसन्धान थालेको सीआईबी स्रोतले  बतायो ।

हालसम्म पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन । तर, सीआईबीका एक अधिकृत भन्छन्, ‘उनले ल्याएको सुन भारततिर लगिँदै गरेको देखिएको छ ।’ ती अधिकृतका अनुसार प्रकरणमा संगठित गिरोहको संलग्नतामा हुनसक्ने भन्दै सीआईबीले पनि अनुसन्धानमा चासो देखाएको हो । भन्सारका एक अधिकृत पनि भन्छन्, ‘सीआईबीसँग मिलेर विस्तृत अनुसन्धान भइरहेको छ ।’

डाफल्लाले लगाएको कालो रंगको ज्याकेटभित्र फल्स बटम बनाएर राखिएको अवस्थामा १० वटा सुन जस्तो देखिने अर्धठोस पदार्थ बरामद भएको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार डाफल्लालाई सुडानी साढे ३ लाख रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर नेपाल पठाइएको थियो । उनलाई दुई दिन नेपाल घुमाइदिने पनि भनिएको थियो ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार