मंगलबार, माघ २४ २०७९

तत्काल सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने : गृह मन्त्रालय



  • नेपालदीप
  • मंगलबार, पुष २६ २०७९
1.3K
SHARES

२६ पौष , काठमाडौं |

१३ पौष मा महानगरले थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन सहयोगको माग गर्दै पत्र लेखेको थियो |

त्यस पत्रको  जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो ।  संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन नसघाउने भएको छ ।

१९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ । ९ भदौ २०७९मा भूमिका आयोगका अध्यक्ष केशव निरौला र मेयर बालेन्द्र साह (बालेन) बीच भएको समझदारीअनुसार भूमिहीन दलित, भूमिहीन सुकम्वासी र अव्यवस्थित बोसोवासीको पहिचान र प्रमाणीकरणका लागि आयोगले महानगरलाई आवश्यक कार्यविधि उपलब्ध गराउनेछ । यसका लागि कार्यायोजना बनाएर काम गर्ने समझदारी आयोग र महानगरबीच भएको छ ।

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तोकिएको विधि, कानुन र प्रक्रियाअनुसार महानगरले चालेको कदममा गृह मन्त्रालयले सघाउने बताउँछन् । ‘सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढेको खण्डमा महानगरलाई सधैं सहयोग हुन्छ’ उनले भने ।

गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो |

भूमि आयोगले लगत संकलन र प्रमाणीकरणको नसकिएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सबै स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न आग्रह गर्दै आएको छ ।

तसर्थ हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने गृहको जवाफ रहेको छ |

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार