मंगलबार, माघ २४ २०७९

तीन सय वर्ष पछिको संसद !!



  • नेपालदीप
  • मंगलबार, पुष २६ २०७९
1.1K
SHARES

हिजो दोश्रोकार्यकाल आरम्भ गरेको नेपाली संसदले राजा पृथ्वीनारायणले तीन सय वर्ष अगाडी राखेको लक्ष्य पूरा गर्ने बाचा लिएझैं लाग्थ्यो – भष्ट्राचार हुन दिंदैनौ, अन्तराष्ट्रीयस्तरमा सम्मान जनक स्थान प्राप्त गर्न क्रियाशील हुने छौँ, व्यक्तिगत रूपमा देशभक्त नागरिक बन्ने छौँ -आदि !  आज गोर्खामा जन्मेका नेपालका राजा पृथ्वीनारायणको आज सम्झना गरिंदै छ । कसैले उहाँको राजनैतिक लाभका लागि, कसैले तत्थ्यगत प्रमाणलाई स्थापित गर्नका लागि, कसैले राजनैतिक हैसियत स्थापित गर्नका लागि तथा केहीले उहाँको आलोचना गरेर आफ्नो उत्थानका लागि सम्झिरहेका छन् । सबै पृथ्वीनारायण शाहको नामबाट “लाभ” प्राप्त गर्ने प्रयत्नशील छन् किनभने आधुनिक नेपालको जग उहाँले बसाल्नु भएको थियो ।

यो तीनसय वर्षमा नेपालमात्र होइन विश्व धेरै वदलिएको छ । “वीरभोग्या वसुन्धरा” भन्ने पुरानो उखान अर्थहीन बन्न पुगेको छ । अंग्रेजहरूले तत्कालीन अवस्थामा आफ्नो सत्ता जोगाउन तयार पारिएका अनेकौं दस्ताबेजहरू अमान्य भएका छन् । मान्छे समूहभन्दा व्यक्तिगत लाभहानीको हिसाव गर्ने मेसिनमा रुपान्तरित हुँदैछ । पुरानो इतिहासको आदर्श र वर्तमानको आवश्यकता बिच अभूतपूर्व द्वन्द चर्किएको छ । तर एस्तो द्वन्दमा पनि राजा पृथ्वीनारायण शाहका भनाईका केही अंशहरू जस्ताको तस्तै सान्दर्भिक छन् । वर्तमानको नेपाली नेतृत्व ३०० वर्ष पहिलाको “घूस दिन्या र लिन्या देशका शत्रु हुन्, यिनको सर्वश्व हरण गर्नु” भन्ने अवस्थाबाट वाहिर निस्कन सकेको छैन ।

आजको प्रधानमन्त्रीमा पृथ्वीनारायण शाह निर्वाचित भएको भए के गर्थे होला ? अनुमान लगाउन सजिलो छैन । हिजो दोश्रो कार्यकाल आरम्भ गरेको संसदमा पार्टीका नेताहरूले जुनकुरा तीन सय वर्ष अगाडी श्रीशाहले बोलेका थिए, तीनै कुराहरू फरकशैलीमा दोहोर्याएका मात्र छन् । तीन सयवर्षपछिको संसारमा पनि पृथ्वीनारायण शाहको बलियो हस्तक्षेप देखिएको छ । अर्को शब्दमा, आजको संसद पनि राजा पृथ्वीनारायण शाहको बुझाई कार्यन्वयन गर्न सङ्घर्षरत छ तर सकिरहेको छैन ।

साँचो तत्थ्य के हो भने राजा पृथ्वीनारायण शाहको नाममा छुट्टीदिएर, अनेकौं कार्यक्रमका माध्यमबाट उहाँलाई सम्झिएर उहाँको प्रतिबद्धताप्रति नेपालीको श्रद्धा बढ्ला तर उहाँको जपेर देशको उन्नति हुँदैन । पृथ्वीनारायण शाहलाई जसरी सम्झे पनि देशले तवमात्र काँचुली फेर्न सक्छ जव वर्तमान नेतृत्वले “शून्य-सहनशीलता”लाई नारामा होइन व्यबहारमा कार्यान्वयन गर्नेछ । गुरू गोरखनाथका शिष्य नेपालका राजा पृथ्वीनारायण शाह एउटा शक्तिशाली पात्र हो जसले नेपालको पहिचान स्थापित गरेको थियो, जहाँ हामी सबै नेपाली हुने गौरवशाली अवसर प्राप्त गरेका छौँ ।

हार्दिक शुभकामना

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार