मंगलबार, माघ २४ २०७९

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, मन्त्रिपरिषद् विस्तारको सम्भावना



  • नेपालदीप
  • शुक्रबार, पुष २९ २०७९
912
SHARES

२९ पौष , काठामाडौं |

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसाे १ बजे बस्ने प्रदेशसभाको बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

आजको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव  पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई  एमालेका  ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन छ ।

आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुनेछन् ।

माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो । नेताहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्यको मन्त्री पद निश्चित छ । उनीसँगै आज दुर्गा चापागाईं पनि मन्त्री बन्ने स्रोतले बतायो ।

विश्वासको मत लिएपछि कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार